aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बिग मर्जरलाई प्रोत्साहन, वाणिज्य बैंक आधा भए पुग्छः डेपुटी गभर्नर शिवाकोटी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
बिग मर्जरलाई प्रोत्साहन, वाणिज्य बैंक आधा भए पुग्छः डेपुटी गभर्नर शिवाकोटी

काठमाडौं । नेपाल  राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा बिग मर्जरलाई उच्चतम प्राथमिकता दिने भएको छ । नेपालको अर्थ व्यवस्थाको बजार अनुसार अहिले भइरहेको वाणिज्य बैंकलाई आधामा झार्ने गरी राष्ट्र बैंकले नयाँ नीति लिन लागेको हो । हाल मुलुकमा २७ वटा वाणिज्य बैंकहरू रहेका छन् । यसको आधा भए पुग्ने निष्कर्ष सहित बैंकहरूलाई मर्जर जान प्रोत्साहित गरिने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । 

‘हामी मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सहुलियत दिएर प्रोत्साहन गर्ने रणनीति लिन लागेका छौं,’ उनले भने ‘के कस्तो सहुलियत दिने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।’ अब राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहन गर्नेछ । मर्जर जाने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीलाई के कस्तो सहुलियत दिने भन्ने सम्बन्धमा भोलि मंगलबार र पर्सी बुधबार बस्ने राष्ट्र बैंक बोर्ड बैठकले निर्णय गर्नेछ । 

यो विषय सहित मौद्रिक नीतिले गर्नुपर्ने व्यवस्था तथा समेट्नु पर्ने क्षेत्रका विषयमा अहिलेसम्म राष्ट्र बैंकको विभागस्तरीय छलफल भइसकेको छ । अब बोर्ड बैठकको छलफल पछि बोर्डमा उठेका विषयलाई समावेश गरेर साउन पहिलो साता मौन्द्रिक नीति ल्याउने तयारी हाम्रो हो, डेपुटी गभर्नर शिवाकोटीले भने ।

सरकारले बजेटमार्फत तय गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने गरेर मौद्रिक नीति ल्याउन तयारी राष्ट्र बैंकले गरको हो । राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम गर्ने हिसावले मौद्रिक नीति ल्याउने डेपुटी गभर्नर शिवाकोटीले बताए ।

कोभिडका कारणले असर खेपिरहेका उद्यमी व्यवसायीहरूको आवश्यकता र असर हेरर राष्ट्र बैंकले कर्जाको ब्याज पुँजीकरण, पुर्नतालिकीकरण र पुर्नसंरचना गर्ने स्कीम सहित मौद्रिक नीति आउने भएको छ । कोभिडका कारण बढी प्रभावित भएकालाई ठूलो प्याकेजको राहत, मध्यम असर परेकालाई सोही अनुसारको राहत प्याकेज ल्याउन तयारी मौद्रिक नीतिले गर्ने भएको छ । त्यस्तै राष्ट्र बैंकले कम असर परेका उद्यमी व्यवसायीलाई कम राहत उपलब्ध गराउने नीति लिने भएको छ । 

मौद्रिक नीतिसँगै पुनरकर्जा कार्यविधि

राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि पुनरकर्जाको लागि नयाँ कार्यविधि ल्याउने भएको छ । राष्ट्र बैंकले कोभिड–१९ का कारण बन्द भएका तथा अप्ठ्यारोमा परेका उद्यमी व्यवसायीलाई राहत दिन ५ खर्बको पुनरकर्जा प्याकेज ल्याउने तयारी गरेको हो । ५ प्रतिशत ब्याजमा कर्जा प्रदान गर्ने उक्त कर्जाले साना, घरेलु तथा लघु कर्जालाई जोड दिनेछ । रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने उनले बताए ।

राष्ट्र बैंकले तयार पारेको पुनरकर्जा कार्यविधि– २०७७ ले राष्ट्र बैंकमा रहेको पुनरकर्जा कोषको ५ गुणासम्म कर्जा प्रदान गर्न सक्ने व्यवस्था गर्न लागेको छ । यद्यपि कार्यविधि लागू भइसकेको भने छैन । हाल नेपाल राष्ट्र बैंकमा ६० अर्बको पुर्नकर्जा कोष छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यहि जेठ १५ गते प्रस्तुत गरेको बजेटले एक खर्बको पुनरकर्जा कोष बनाउने उल्लेख गरेको छ । 

तरलता अभाव  हुन नदिने
राष्ट्र बैंकले विशेषत आगामी मौद्रिक नीतिमार्फत वित्तीय बजारमा तरलता अभाव हुन नदिने गरी मौद्रिक नीति ल्याउने भएको छ । यसका लागि यस अघि गरेका व्यवस्थालाई यथावत राख्दै तरलता सहजताका लागि लिनुपर्ने अन्य नीतिगत व्यवस्था पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्ने भएको छ ।

हालको विद्यमान सीआरआरको व्यवस्थालाई यथावत राखिने छ भने सीसीडी रेसियो पनि अहिले नचलाउने तयारी राष्ट्र बैंकले गरेको छ । ‘अहिलेलाई सीआरआर व्यवस्थापनमा परिवर्तन गर्नु पर्दैन,’ उनले भने ‘अहिले बजारमा प्रर्याप्त तरलता छ ।’ पछि बजारमा लगानी योग्य तरलता अभाव देखियो भने त्यहि बेला नयाँ व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी हो ।
 

प्रतिक्रिया दिनुहोस