
काठमाडौं । जेठमा मूल्य वृद्धि घटेको छ । गत आर्थिक वर्षको जेठ महिनामा मूल्य वृद्धि घटेर ४.५४ प्रतिशतमा सीमित भएको हो । गत वैशाखमा यस्तो मूल्य वृद्धि ५.८३ प्रतिशत थियो भने अघिल्लो वर्षको जेठमा ६.१६ प्रतिशत मूल्य वृद्धि रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमा आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थसमूह अन्तर्गतको दाल तथा गेडागुडी, सुर्तिजन्य वस्तु तथा मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । क्षेत्रगत रुपमा हेर्दा जेठ महिनामा सबैभन्दा महँगो तराई रहेको छ भने पहाड सबैभन्दा सस्तो रहेको छ । जेठ महिनामा तराईमा ४.८६ प्रतिशत मूल्य वृद्धि भयो भने पहाडमा ४.१३ प्रतिशत मूल्य वृद्धि भएको छ । सो अवधिमा काठमाडौं उपत्यकामा ४.४३ र हिमालमा ४.३४ प्रतिशत मूल्य वृद्धि रहेको छ ।
राष्ट्र बैंकले तथ्यांक अनुसार जेठ महिनासम्म कुल ७ खर्ब ७४ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो रेमिट्यान्स अघिल्लो आवको सोही अवधिको तलुनामा ३ प्रतिशतले कम हो । कोभिडका कारणले वैदेशिक रोजगारीमा गएकाले समेत काम गर्न नपाएपछि रेमिट्यान्स घटेको हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ । श्रम स्वीकृति लिनेको संख्या घटेपनि अघिल्लो आवको भन्दा केही सुधार भएको तथ्यांकले देखाएको छ । अघिल्लो आवमा यस्तो संस्थागत तथा व्यक्तिगत नयाँ वैधानिक श्रम स्वीकृती लिनेको संख्या ३५.७ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस