
काठमाडौं । जेठ महिनामा ५८ अर्ब ४७ करोडले शोधनान्तर बचत बढेको छ । वैशाख महिनामा एक खर्ब २० अर्ब ९० करोड रहेको शोधनान्तर बचत जेठमा आइपुग्दा बढेर एक खर्ब ७९ अर्ब ३७ करोड पुगेको हो । अघिल्लो वर्षको सो अवधिमा शोधनान्तर अवस्था ९० अर्ब ८३ करोडले घाटामा थियो ।
अमेरिकी डलरमा साउनदेखि जेठसम्मको ११ महिनासम्ममा ८० करोड ३१ लाखले खाटामा रहेको शोधनान्तर गत जेठसम्म १ अर्ब ५० करोड बचतमा रहेको हो । मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर शोधनान्तर स्थिति हो । बचत बढ्नुको अर्थ मुलुक भित्रिने रकम बढी हुनु हो । अघिल्लो आवको जेठ महिनामा शोधनान्तर घाटा थियो । त्यसपछि बचत वृद्धि हुने क्रम थियो । आयात भएको कमी र निर्यात झिनो मात्रामा बढेपछि पनि यस्तो अवस्था आएको हो ।
गत आवमा आयात घट्दै गएपनि लकडाउनयता अझ बढी आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेकोलगायत कारण शोधनान्तरमा सुधार देखिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
लकडाउन अवधिमा निर्यातमा केही सुधार हुनु, विदेशमा अध्ययन तथा पर्यटन खर्च घट्नु, बिजुलीको आयात घटनुलगायत कारण शोधनान्तर स्थिति सुधारमा सहयोग पुगेको राष्ट्र बैंकले औंल्याएको छ । अघिल्लो आर्थिक वर्षका प्रायः सबै महिना ऋणात्मक रहेको शोधनान्तर चालु आवदेखि नै बचतमा थियो । लकडाउनअघि सामान्य बचतमा रहेको शोधनान्तर वैशाख र जेठमा धेरै बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमा आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस