aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मौद्रिक नीति ३ बजे सार्वजनिक गर्ने, ऋणीहरुलाई २ वर्षसम्म समयावधि थपिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
मौद्रिक नीति ३ बजे सार्वजनिक गर्ने, ऋणीहरुलाई २ वर्षसम्म समयावधि थपिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउनने मौद्रिक नीति मध्यान्ह ३ बजे सार्वजनिक गर्ने भएकाे छ । राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट  उक्त माैद्रिक नीति पारित भइसकेकाे छ । 

नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई पारित गरेसँगै एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएकाे छ ।

गभर्नर अधिकारीको यो पहिलो मौद्रिक नीति हो । कोरोना भाइरस का कारण मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएको शिथिल बन्दै गएको अवस्था मा देशको अर्थतन्त्रलाई मार्ग निर्देशित गर्नका निम्ति यसपटकको मौद्रिक नीति लाई थप महत्वकासाथ हेरिएको छ ।

लकडाउनका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्ने र धराशायी बन्दै गएको व्यवसाय पुनर्जीवित गर्नका निम्ति नेपाल राष्ट्र बैंकले सहुलियत योजना ल्याउनुपर्ने निजी क्षेत्रको भनाइ छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौदि्रक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड श्रोतले जानकारी दिएको छ । 

बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ-गाउँसम्म पुर्‍याउने समेत नीतिमा उल्लेख गरिएको श्रोतले बताएको छ ।

मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ । मौद्रिक नीतिले पुनरकर्जा कोषलाई भने तत्कालै बढाउने विषयमा निर्णय लिएको छैन ।

प्रतिक्रिया दिनुहोस