aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
मौद्रिक नीति

थलिएको अर्थतन्त्रलाई उकास्ने मौद्रिक नीति (पूर्णपाठ सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
थलिएको अर्थतन्त्रलाई उकास्ने मौद्रिक नीति (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेर कोभिडका कारण थलिएको अर्थतन्त्रलाई जोगाउने प्रयास गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल टेलिभिजनबाट सार्वजनिक गरेको मौद्रिक नीतिले बैंकहरूलाई रिझाउनुका साथै आम कोभिड प्रभावित ऋणीलाई पनि राहत प्याकेज ल्याएको छ । मौद्रिक नीतिले कोभिड प्रभावित ऋणको पुनरतालिकीकरण गर्ने राहत प्याकेज ल्याएको छ । कोरोनाको असर रहेसम्म बैंकहरूले ऋणीसँग कुनै जरिवाना लिन नपाउने भएको छ ।  बैंकहरूले लघु, साना तथा मझौला उद्यममा १ करोडभन्दा सानो ऋण कुल कर्जाको १५ प्रतिशत पुर्याउनु पर्ने छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको तलब तथा सुविधा पूनरावलोक गर्ने व्यवस्था मौद्रिक नीतिले गरको छ । 
 

बैंकहरूलाई सहुलियत कर्जा संख्या नै तोकियो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरूले ५ सय र विकास बैंकहरूले ३ सय कर्जा उपलब्ध गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ । यस अघि संख्या नतोक्दा बैंकहरूले आफ्नो अनुकुलता अनुसार कर्जा प्रवाह गर्ने गरेकाले राष्ट्र बैंकले लक्षित वर्गसम्म कर्जा पुगोस् भन्नका लागि संख्या नै तोकेको । 

साथै मौद्रिक नीतिले कृषि कर्जाका सीमा बढाएर १५ प्रतिशत पुर्याएको छ । यस अघि कृषि र ऊर्जामा गरेर कुल कर्जाको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था थियो । अहिले सो व्यवस्थालाई परिमार्जन गर्दै कृषि क्षेत्रमा मात्रै १५ प्रतिशत लगानी गर्नुपर्ने भएको हो । सरकारले कृषि क्षेत्रको माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै रोजगार सिर्जना गर्न मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । 

ऊर्जामा अनिवार्य १० प्रतिशत लगानी गर्नैपर्ने

बैंक तथा वित्तीय संस्थाले विसं २०८१ असार मसान्तसम्म कूल कर्जा लगानीको १० प्रतिशत अनिवार्य रुपमा ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । सरकारको लक्ष्यअनुसार ऊर्जा उत्पादनलाई अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले आज जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले थप प्रोत्साहन दिएको छ । सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्ने गरी वित्तीय व्यवस्था गर्न नीतिले थप सहजीकरणसहितको व्यवस्था गरेको छ ।

सीसीडी रेसियोको सीमा बढ्यो

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) को अनुपात बढाएर ८५ प्रतिशत पुर्याएको छ । अब बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ निक्षेप लिएर ८५ रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । यस अघि यस्तो व्यवस्था ८० प्रतिशतसम्म मात्र थियो ।

सीसीडीको सीमा बढाउन बैंकहरूले लविङ गर्दै आएका थिए । राष्ट्र बैंकले बजारमा तरलता अभाव नभएपनि अबका दिनमा पर्न सक्ने लगानी योग्य पुँजीको व्यवस्थापन मिलाउन पुरानो व्यवस्थालाई संशोधन गरेर नयाँ सीमा निर्धारण गरेको हो । 

घर कर्जामा ६० प्रतिशतसम्म लोन पाइने

राष्ट्र बैंकले घर कर्जाको सिमालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था गरेको छ ।  बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल सरकारबाट स्वीकृति प्राप्त निर्माणाधीन आवास आयोजनाको लागि र व्यक्तिलाई पहिलो घर निर्माणका लागि प्रवाह गरिने निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षणमूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिनेछ ।
 
त्यस्तै, घर जग्गा तथा रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षणमूल्य अनुपात काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत कायम गर्नुपर्ने विद्यमान व्यवस्थालाई यथावत राखेको छ ।  

सेयर धिताको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको सीमा ६५ प्रतिशतबाट ५ प्रतिशत बढाएका ७० प्रतिशत हुन् । त्यसै सेयर कर्जा धितोको मूल्यांकन गर्ने यसअघिको १८० दिन रहेको व्यवस्थालाई परिमार्जन गरेर १२० दिनमा सीमित गरेको छ ।

लघुवित्त दर्ता रोकियो, ब्याजमा क्याप

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तको दर्ता रोकेको छ । लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदरमा नेपाल राष्ट्र बैंकले अधिकतम सीमा तोकिदिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जामा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिने नपाउने व्यवस्था गरिएको बताए ।

मूल्यवृद्धि ७ प्रतिशत कायम राख्ने 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस वर्ष ७ प्रतिशत मूल्यवृद्धि राख्ने तय गरेको छ । १५ औं पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेटको आधारमा रहेर मौद्रिक नीति तय गरिएको राष्ट्र बैंकका गभर्नरन महाप्रसाद अधिकारीले बताएका छन् । 

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस