aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नेपाल बैंक र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
नेपाल बैंक र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य

काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य शुरू गरेको छ । अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको माबाईल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सकिने छ । ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै बस्तु तथा सेवाको भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।  

दुबै संस्थाबीच सहकार्य सम्बन्धी सम्झौता पत्रमा नेपाल बैंकको केन्द्रीय कार्यालयमा आयोजतिक कार्यक्रममा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख ब्यवसाय विकास अधिकृत सदित घिमिरे तथा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक  प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए ।  

नेपाल बैंकसँगको सहकार्यपछि ‘खल्ती’ डिजिटल वालेटलाई जोडेर सिधै बस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको कम्पनीको दावी छ । यसअघि एनआइसी एशिया, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटलाई खातासँग जोडेर सिधै भुक्तानी गर्दै आएका थिए । 

‘खल्ती’का निर्देशक अमित अग्रवाल मुलुककै जेठो बैंकले कान्छो डिजिटल वालेटलाई विश्वास गरेकामा आफूहरू गौरवान्वित भएको बताए । ‘नेपाल बैंकसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो,’ उनले भने, ‘ठूलो नेटवर्क र लाखौं ग्राहक भएको बैंक ‘खल्ती’सँग जोडिएपछि धेरै ग्राहकले ‘खल्ती’को सेवा उपयोग गर्ने हाम्रो विश्वास छ ।’ खल्तीसँग बैंक खातालाई जोडेपछि सिधै वालेटमार्फत भुक्तानी गर्न सकिने भएकाले वालेटमा नगद लोड गर्ने झण्झट पनि ग्राहकलाई नपर्ने उनले बताए ।    

‘खल्ती’ डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।
 

प्रतिक्रिया दिनुहोस