aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

१४२ ऋणीले पाए साढे २४ अर्ब पुनरकर्जा, कर्जा पाउनेमा हाइड्रोपावरदेखि होटलसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
१४२ ऋणीले पाए साढे २४ अर्ब पुनरकर्जा, कर्जा पाउनेमा हाइड्रोपावरदेखि होटलसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले गएको आवमा २४ अर्ब  ५९ करोड पुनरकर्जा प्रवाह गरेको छ । बैंकले गत आवमा साधारण पुनरकर्जातर्फ २३ अर्ब १५ करोड र निर्यात पुनरकर्जामा एक अर्ब ४४ करोड पुनरकर्जा प्रवाह गरेको छ । राष्ट्र बैंकले १३२ ऋणीलाई साधारण पुनरकर्जा र १० ऋणीलाई निर्यात पुनरकर्जा उपलब्ध गराएको हो । राष्ट्र बैंकले अघिल्लो आव २०७५/७६ मा कुल २२ अर्ब ४१ करोड पुनरकर्जा प्रवाह गरेको थियो । सो कर्जामध्य १९ अर्ब ३१ करोड साधारण पुनरकर्जा हो भने ८६ करोड ६१ लाख निर्यात पुनरकर्जा हो । 

विभिन्न बैंकमार्फत प्रवाह गरिने यस्तो कर्जा पाउनेमा हाइड्रोपावर कम्पनीदेखि होटल, ठूला घरानाका स्टिल, ग्यास उद्योग, विभिन्न एग्रोभेट, केबलकार, साबुन, आयल इण्डस्ट्रिजलगायतका रहेका छन् । यसरी पुरकर्जा सुविधा लिनेमा दर्जनौ नाम चलेका सिमेन्टदेखि बिस्कुट कारखाना, दाना उद्योगसम्म रहेका छन् । 

राष्ट्र बैंकले प्रकाशित गरेको पुनरकर्जा लिनेको सूचीमा एउटै हाइड्रोपावरले फरक मितिमा फरक बैंकबाट पुनरकर्जा सुविधा लिएको पाइएको छ । गत आवमा सुपरमाई हाइड्रोपावर लिमिटेडले २०७६ साउन २६ गते सानिमा बैंकबाट र २०७६ मंसिर १८ गते सिद्धार्थ बैंकबाट पुनरकर्जाले लिएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै मोदी इनर्जी लिमिटेडले सन्राइज बैंकबाट २०७६ पुस १४ गते र मेगा बैंकबाट २०७६ माघ ३ गते पुनरकर्जा लिएको छ । 

गत आवमा कालिका पावर कम्पनी, सुपरमाई हाइड्रोपावर, मोलुङ, शिवश्री, सामलिङ पावर, सानिमामाई, युनियन, विन्ध्वासिनी, शुभम पावर, मन्दाकिनी, राधी विद्युत, ङादी, रगुंन खोला हाइड्रोपावर, मोदी इनर्जी, अप्पर सोलु हाइड्रोइलेक्ट्रिक, कालंगा हाइड्रोलगायतका दर्जनौ हाइड्रोपावरले पुनरकर्जा सुविधा लिएका छन् । 

त्यस्तै होटलतर्फ अकामा होटल, भ्यू होटलले प्रभू बैंकबाट पुनरकर्जा लिएको छ भने होटल मिस्टिक माउन्टेनले एनएमबीबाट पुनरकर्जा लिएका छन् । एभरेष्ट हस्पिटालिटी, द व्हाइट लोटस भ्यू होटल, होटल श्रीनगर, श्रीजी होटल्स प्रा.लि, होटल पप लाइफ, होटल इच्छा, सिटि होटल, होटल ले किहमलय प्रा.लिलगायतले पुनरकर्जा सुविधा लिएका छन् । यसरी पुरकर्जा सुविधा लिनेमा दर्जनौ नाम चलेका स्टिल उद्योगदेखि सिमेन्ट, विस्कुट कारखाना, ग्याँस उद्योग, दाना उद्योगसम्म रहेका छन् । 

राष्ट्र बैंकले ल्यायो ५ खर्बको पुनरकर्जा प्याकेज

नेपाल राष्ट्र बैंकले अप्ठ्यारो तथा संकटमा परेका उद्यमी व्यवसायीलाई राहत दिन ५ खर्बको पुनरकर्जा प्याकेज ल्याएको छ । पुनरकर्जा कार्यविधिमाले राष्ट्र बैंकमा रहेको पुनरकर्जा कोषको ५ गुणासम्म कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।

कोभिड–१९ का कारण बन्द भएका तथा उठ्नै नसक्ने गरी थला परेका उद्यमीलाई राहत दिन स्टिमुलेस प्याकेज सहित राष्ट्र बैंकले १ प्रतिशत ब्याजमा निर्यातजन्य उद्योग र रुग्ण उद्योगलाई विशेष पुनरकर्जा उपलब्ध गराउनु पर्ने छ भने २  ब्याजमा लघु, घरेलु तथा साना उद्यम कर्जा र ३ प्रतिशत ब्याजमा साधारण पुनरकर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।  बैंक तथा वित्तीय संस्थाले ऋणलाई  भने क्रमशः ३, ५ र ५ प्रतिशतमा पुनरकर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।  

कुल पुरनकर्जामध्य २० प्रतिशतसम्म ग्राहक अूल्यांकनको आधारमा र बाँकी ७० प्रतिशत वाणिज्य  तथा विकास बैंकबाट र १० प्रतिशत लघुवित्त वित्तीय संस्थाबाट एकमुष्ठ रुपमा प्रदान गरिने भएको छ । पुर्नकर्जा को अधिकतम सीमा २० करोडसम्म  तोकिएको छ । लघु  घरेलु तथा सना उद्यमका लागि १५ लाख, विशेष तथा साधारण पुनरकर्जाको सीमा ५ करोड र साधारण पुनरकर्जाको सीमा २० करोडसम्म दिने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । 

प्रतिक्रिया दिनुहोस