
काठमाडौं । कृषि विकास बैंकले ‘किसान क्रेडिट कार्ड’ निर्माणका लागि आन्तरिक तयारी शुरु गरेको छ । चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार बैंकले क्रेडिट कार्ड निर्माण प्रक्रिया शुरु गरेको बैंकमा प्रवक्ता हिमलाल पौडेलले बताए । ‘किसान कार्डमार्फत किसानहरुलाई निश्चित रकम भुक्तानीका साथै विभिन्न सूचना उपलब्ध गराउन सकिन्छ,’ उनले भने ‘हामी पहिलो चरणमा डेढ लाख किसानलाई सो कार्ड उपलब्ध गराउने कार्ययोजना बनाएर अघि बढेका छौं ।’
उक्त कार्डमार्फत किसानले कर्जा र अनुदानको सम्बन्ध, भुक्तानी प्रणालीमा मल, बिउ विजन र उपकरण खरिदका लागि निश्चित रकमसम्म सोही कार्डबाट भुक्तानी गर्न मिल्ने व्यवस्था सहितको किसान क्रेडिट कार्ड ल्याउन लागेको हो ।
त्यसका लागि केहि मर्चेन्टहरु तयार पारिनेछन्, तिनले एजेन्टका रुपमा भुक्तानी लिनेछन् र त्यस्तो भुक्तानी किसानले घरबाटै गर्न सक्नेछन् । कार्डमा किसानले आफ्ना उत्पादन बेच्ने, खरिद गर्नेहरूको सम्बन्ध पनि जोडिएको हुनेछ । कार्डमा एपको माध्यमबाट किसानलाई आवश्यक सूचना तथा जानकारी पनि दिइने छ भने कुनै किसानलाई तत्कालै रकम चाहिएमा नजिकैको बैंक वा एटीएमबाट सोही कार्डका आधारमा नगद भुक्तानीको सुविधा हुनेछ ।
कार्ड निर्माणको आन्तरिक प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जतिसक्लदो छिटो हामी यसलाई कार्यान्वयनमा ल्याउँछौं,’ उनले भने ‘किसानको आवश्यकतालाई ध्यानमा राखेर कार्ड निर्माण प्रक्रिया अघि बढेको छ। । किसानका लागि मल बिउ, उपकरण किन्ने, आफ्ना उत्पादन बेच्ने, कामदारलाई भुक्तानी दिने, कृषि सम्बन्धी जानकारी लिने लगायतका आधारभूत सूचना एपबाटै समाधान हुनेछ ।
कार्डमा कर्जा लिएका ग्राहकहरुका लागि भुक्तानीको सीमा तोकिएको हुन्छ । त्यस्तो खाता पनि कार्डसँग जोडिने छ । बिक्रेताहरु कहाँ पनि खातामा रकम जम्मा भएको सूचना पुग्नेछ ।
किसानहरुका लागि बैंकले नै तयार पारेको छुट्टै कार्ड हो । किसानको नाम, ठेगाना लगायतका विवरण समेटिएको स्वाप प्रणालीबाट भुक्तानी हुने कार्ड नै हो । कार्डमा किसानहरुले आफ्नो कमाइ राख्न सक्छन्, ऋण लिएको पैसा राख्न सक्छन् । धितो राखेर लिएको ऋण पनि कार्डमा राख्न सकिन्छ ।
कृषि विकास मन्त्रालयले स्थानीय तहहरूसँग समन्वय गरेर कस्ता किसानलाई कार्ड दिने भन्ने विषय टुंगो लगाउने बैंकले बताएको छ । कृषि विकास बैंकले लामो समयदेखि यस्तै क्षेत्रमा कर्जा लगानी गर्दै आएकोले पनि उसलाई किसान छनोट गर्न कठिन पर्दैन । र यो कार्ड बोक्ने किसानहरुलाई अतिरिक्त आर्थिक भार पनि पर्दैन । यो कार्डमार्फत पाँच प्रतिशतको सहुलियतपूर्ण कर्जा, ठूला कर्जा, साना कर्जा सबैलाई समावेश गर्छाै । सेवा शुल्क पनि राष्ट्र बैंकले तोके बमोजिम मात्रै हुनेछ ।
कार्ड वितरणको लागि बैंकले एउटा गाइड लाइन नै तयार पार्नेछ । किसानले बैंकमा खाता खोल्दा वा ऋणका लागि आवेदन दिँदा नै क्रेडिट कार्डका लागि पनि आवेदन दिनुपर्छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको सुविधा लिएको जसरी नै क्रेडिट कार्ड पनि लिन सकिन्छ । जनताको बैंक र प्रतिफल कृषि विकास बैंकको निक्षेपमा ८५ प्रतिशत हिस्सा साना निक्षेपकर्ताहरुको छ ।
कसरी हुन्छ बण्ड जारी
त्यसरी नै बैंकले ‘कृषि बण्ड’ जारी गर्नको लागि पनि आन्तरिक प्रक्रिया शुरु गरेको छ। । कृषिमा क्षेत्रमा अपेक्षि लगानी वृद्धि हुन नसकेको हालको अवस्थामा कृषि बण्डको व्यवस्था मौद्रिक नीतिले गरेको हो । यसले कृषि विकास बैंकलाई स्रोेत र अन्य बैंकलाई कृषिमा लगानी कम गरे वापत जरिवाना तिर्नु नपर्ने सुविधा दिएको छ ।
बैंकले बण्ड जारी गरेर विभिन्न बैंक तथा वित्तीय संस्थालाई खरिद गर्न लगाउँछ र सोही रकमबाट कृषिमा लगानी गर्छ । अब हामी बण्ड जारी गर्छाै, अरु बैंकले खरिद गर्छन् । यस्तो अभ्यास विदेशमा पनि छ । अन्य बैंक तथा वित्तीय संस्थाहरू बैंकले जारी गरेको बण्ड किनेर जरिवानाबाट जोगिने छन् । यसका लागि बैंकले सम्पूर्ण कृषि क्षेत्रमा लगानी गर्ने मास्टर प्लान बनाउँदै छ ।
प्रतिक्रिया दिनुहोस