aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बैंकहरूले धमाधम घटाउन थाले ब्याजदर, कुन बैंकको कति ब्याज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
बैंकहरूले धमाधम घटाउन थाले ब्याजदर, कुन बैंकको कति ब्याज ?

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरू भएसँगै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेको र कर्जा लगानी हुन नसकेका कारण कर्जाको ब्याजदर कटौती गर्नुपर्ने बाध्यातामा बैंकहरू छन् । राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन दबाब दिइरहेको छ । 

अहिलेसम्म दर्जन वाणिज्य बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य, सनराइज बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, माच्छापुच्छ्रे बैंकले नयाँ आर्थिक वर्षसँगै कोभिड प्रभावित व्यवसायीलाई विभिन्न सहुलियतमा कर्जा उपलब्ध गराउने योजना सहित ब्याजदर सार्वजनिक गरेका हुन् । लक्ष्मी बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)लगायत एक दर्जन वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 

ग्लोबल आइएमई बैंकले १ साउनबाटै लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । लक्ष्मी बैंक र सनराइज बैंकले भने ५ साउनबाटै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यसैगरी, एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी), साउन ६ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले साउन ७ गतेबाट लागू हुनेगरी नयाँ ब्याजदर लागू गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट बढीमा ९.३२ प्रतिशतमा कर्जा पाइने

हिजो बुधबार राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बुधबारदेखि नै लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत र कर्जा दुबैमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदरमा मुद्दती निक्षेप तर्फ व्यक्तिगत ७.२५ र संस्थागत ६.५० प्रतिशत रहेको छ । यता बचतमा ०.७५ देखि ५ प्रतिशतसम्म ब्याज रहेको छ ।

बैंकले बचतको मात्रै नभएर कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ६.०७ प्रतिशत रहेको छ । आधार दर परिवर्तन भएसँगै कर्जाको ब्याजदर पनि परिवर्तन हुनेछ । अब बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी ९.३२ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट ओभरड्राफ्ट, धितो कर्जा, औद्योगिक, व्यापारीक, हाउजिङ, रियल स्टेट, सुन, थोक, प्रत्यक्ष, कृषि, करार कर्जा, गाडी, शैक्षिक, सेयर धितो, मोटरेज कर्जा लिँदा ९.३२ प्रतिशत ब्याज लाग्ने छ ।

नबिल बैंकको कर्जामा चार योजना यस्ता  

नबिल बैंकले घर, धितो, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना ल्याएको छ । बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर यस्तो योजना ल्याएको हो ।  योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष ब्याज छुट दिने भएको छ । 

बैंकले ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा  र ८.४९ प्रतिशतमा  धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिने बैंकले जानकारी दिएको छ । बैंकले यो योजना सीमित समयका लागि ल्याएको हो । बैंकले यी योजना सबै शाखाबाट अगाडि बढाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।  

सिभिल बैंक 

सिभिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपको ब्याज व्यक्तिगत रुपमा ७.२५ र संस्थागत रुपमा ६.५० प्रतिशत रहेको छ ।

सिभिल बैंकको बचतमा सबै खातामा ५.५० प्रतिशत ब्याज रहेको छ । सिभिल बैंकको असार मसान्तको बेसरेट ९.८४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अभिकतम १५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

जसमा ओभरड्राफ्ट कार्ड, माइक्रो ग्रुप ग्यारेन्टी बेस लोन लिँदा १५ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज, रियल स्टेट, अटो, शैक्षिक धितोकर्जा लिदाँ १४.८४ प्रतिशत ब्याज लाग्ने छ ।

 सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागु हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकको बचत खातामा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । असार मसान्तसम्म बैंकको आधार दर ९ दशमलव ३ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिँदा १४ दशमलव ३ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट आद्योगिक लोन, अटो लोन, शैक्षिक धितोकर्जा, टर्म लोन, सेयर धितोबर्जा लगायतका शिर्षकमा कर्जा लिँदा १४ दशमलव ३ प्रतिशत ब्याज लाग्ने छ ।

सनराइजको २४ घण्टामा एसएमई कर्जा

साउन ५ मा नयाँ ब्याजदर सार्वजनिक गरेको सनराइज बैंकले ९.९५ प्रतिशतमै सरल एसएमई कर्जा दिने भएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढंगले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंक लिमिटेडले ‘सन्राइज सरल एसएमई कर्जा’ ९।९५५ वार्षिक ब्याज दरमा दिने भएको बैंकले जनाएको छ । बैंकले उक्त कर्जा २४ घण्टामैदिने जनाएको छ । 

उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गर्ने व्यवस्था बैंकले मिलाएको छ । यस व्यवस्था अन्र्तगत ग्राहकले एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निःशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

ग्लोबलको सस्तो घर र गाडी कर्जामा

ग्लोबल आईएमई बैंकले आकर्षक ब्याजदरमा घरजग्गा तथा गाडी किन्न कर्जा प्रवाह गर्ने भएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घरजग्गा तथा गाडी किन्न विभिन्न योजना सहित कर्जा उपलब्ध गराउने भएको छ । ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा लिन पाउने छन् भने यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहने छ । 

यस्तै ८ दशमलव ९९ प्रतिशतमा गाडी खरीद कर्जा र ९ दशमलव ४९ प्रतिशतमा सेयर धितोमा कर्जा प्रवाह गर्ने बैंकले बताएको छ । यो योजनामा सहभागी हुने सेवाग्राहीलाई बैंकले डेबिट र क्रेडिट कार्ड जारी शुल्क र लकर सुविधामा ५० प्रतिशत छूट दिने भएको छ । कर्जा लिन चाहानेले आवश्यक कागजात बैंकमा पेश गरेको ३ कार्य दिनभित्र बिनाझन्झट कर्जा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । 

लक्ष्मी र एसबिआईको ब्याजदर महँगो

नेपाल एसबिआई बैंकको मुद्दती खातामा संस्थागत रुपमा ६.५० र व्यक्तिगत तर्फ ७.२५ प्रतिशत ब्याज रहेको छ । यस्तै बचतमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको असार मसान्तसम्मको आधार दर ९.२५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.२५ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट व्यक्तिगत, एसएमई, होम लोन, अटो लोन, हायर पर्चेज लोन, शैक्षिक धितोकर्जा, सेयर धितोकर्जा लिँदा १४.२५ प्रतिशत ब्याज लाग्ने छ ।

माच्छापुच्छ्रे मुद्दती तथा बचतको नभएर ऋणको लागि मात्रै ब्याजदर सार्वजनिक गरेको छ । बैंकको असार मसान्तसम्मको आधारदर ९.२१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.२१ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट होम, अटो, मोटरेज, शैक्षिक धितोकर्जा, सेयर धितोकर्जा लगायतका शिर्षकमा ऋण लिँदा १४.२१ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकहरूमा निक्षेपको ब्याजदर

एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा ३.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै बैंकले साधारण मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० देखि ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५० देखि ६.५० प्रतिशतसम्म ब्याज उल्लेख गरेको छ ।

एभरेष्ट बैंकले संस्थागत बल्क फिक्स्ड डिपोजिट र स्पेशल फिक्स्ड डिपोजिटमा ६.५० प्रतिशत ब्याज दिने भएको छ । यस्तै डलर खातामा १ देखि २ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यस्तै ईबीएल प्लानमा ७.२५ प्रतिशत ब्याज एभरेष्ट बैंकले बताएको छ । त्यसैगरी, बैंक अफ काठमाडौंले पनि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ देखि ७.२५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । 

बैंकले ३ महिने निक्षेपमा ५.२५ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मका लागि ६.२५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले बताएको छ । बैंक अफ काठमाडौंले संस्थागत मुद्दती निक्षेपतर्फ ४.५० देखि ६.५० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । बैंकले ३ महिनादेखि ६ महीनासम्मको मुद्दती निक्षेपमा ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मका लागि ५.५० प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

प्राइम कमर्सियल बैंकले पनि साउन ६ बाटै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार सात प्रकारका बचत खातामा ५ प्रतिशतका दरले ब्याज दिने भएको छ । यसबाहेक अरू सबै बचत खातामा तीन प्रतिशतका दरले ब्याज दिने भएको छ । एनसीसी बैंकले पनि मुद्दती खाताको खाताको ब्याजदर परिवर्तन गरेको छ । बैंकका अनुसार मुद्दती निक्षेप गर्नेले अधिकतम ८.२५ प्रतिशत ब्याजदरसम्म ब्याज पाउनेछन् ।

लक्ष्मी बैंकले ५ साउनबाट लागू हुने गरी साधारण बचत खातामा चारदेखि पाँच प्रतिशत ब्याज दिने बताएको छ । संस्थागत ओभरड्राफ्टमा आधार ब्याजदरमा ५ प्रतिशतसम्म प्रिमियम थप हुने बताएको छ। साना तथा मझौला व्यवसायलाई दिइने ऋणमा आधारदरमा दुई देखि पाँच प्रतिशतसम्म थप गरेर तय हुने ब्याजदरमा ऋण दिने बताएको छ । असार मसान्तमा लक्ष्मी बैंकको आधार ब्याजदर ९.२३ प्रतिशत छ । लक्ष्मी बैंकले दिने सबैजसो ऋणमा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप भएर ब्याजदर तय हुने उल्लेख गरेको छ । 

विकास बैंकमा मुक्तिनाथ बैंक अगाडी

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जामा मुक्तिनाथ ‘ग्राहक विशेष लाभ योजना’ नामक कर्जा योजना सञ्चालनमा ल्याएको छ । योजना अन्तर्गत अधिकांश कर्जा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधा प्रदान गर्नेछ ।

बैंकका अनुसार कर्जा न्यूनतम ब्याजमा उपलब्ध हुनेछ भने ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृति गरिनेछ । त्यसैगरी एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन भने कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशतमात्र र विना सुरक्षण शुल्कमा लकरको सुविधा समेत छ ।
यसका साथै बैंकले बैंकबाट कर्जा लिने ग्राहकले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज साउन मसान्तसम्म चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशतसम्मको छुट दिने जानकारी दिएको छ ।


 

प्रतिक्रिया दिनुहोस