aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आज बजारबाट २० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७

काठमाडौं । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले रिभर्स रिपो जारी गरी बजारबाट आज साउन ८ गते बिहीबार २० अर्ब रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा तान्न लागेको हो । कोभिडका कारण नियमित हुने कर्जा समेत प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले बजारमा अधिकमात्रामा देखिएको तरलता खिच्न लागेको हो ।

कर्जा प्रवाह न्यून हुँदा लगानी योग्य रकम लगातार बढ्दै गएपछि वित्तीय बजारमा तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको हो । हाल बैकिङ प्रणालीमा १ खर्ब ९१ अर्ब रुपैयाँ तरलता रहेको छ । 

राष्ट्र बैंकले जारी गरेको ७ दिनका अवधिको उक्त रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ । राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंकहरुले बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

लकडाउनको कारणले बैंकहरुको कर्जा लगानी बढ्न नसकेपनि निक्षेप संकलन बढ्दै जाँदा तरलता ह्वातै बढेको हो। तरलता उच्च भएपछि पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर पनि घटाएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस