
नेपाल इन्भेष्टमेन्ट बैंकले जेठ २४ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । यसमध्ये ७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस्तै, ४० हजार इकाई सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १० दशमलव ५ ब्याजदर तोकिएको छ । बैंकले ‘१० दशमलव ५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नक्साल र नेपाल इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ । साथै, सी–आस्वाको माध्यमबाट पनि भर्न सकिनेछ ।
यो ऋणपत्रमा छिटोमा जेठ २८ र ढिलामा असार २२ गतेसम्म भर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस