aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सनराइज बैंकको विवाद आर्बिट्रेशनमा ! राष्ट्र बैंक भन्छ- हामीले बोलाएकै छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
सनराइज बैंकको विवाद आर्बिट्रेशनमा ! राष्ट्र बैंक भन्छ- हामीले बोलाएकै छैन

काठमाडौं । सनराइज बैंकभित्र सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीचको विवाद राष्ट्र बैंकमा पुगेको छ । बोर्डसँग मतभेदपछि राजिनामापत्र बुझाएका प्रमुख कार्यकारी अधिकृत जनकाराज शर्मा पौडेल, सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगड र सञ्चालकहरू शैलेश गुरागाईँ, मालचन्द दुगडलाई राष्ट्र बैंक नियमन विभागले छलफलका लागि बोलाएको बुझिएको छ ।

तर, राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए । उनले भने ‘मैले बोलाएको छैन, कार्यालय पुगेपछि यस विषयमा बुझ्छु ।’ ‘मैले सनराइज बैंकका सञ्चालक र सीईओलाई बोलाएको कुरा पत्रिका पढेर थाहा पाए,’ उनले भने ।

आर्थिकन्युजले सनराइज बैंकभित्रको विवाद शुक्रबार बाहिर ल्याएपछि राष्ट्र बैंकको ध्यान आकर्षण भएको हो । सनराइज बैंकका सञ्चालक समितिका एक सदस्यले दिएको जानकारी अनुसार प्रमुख कार्यकारी अधिकृतले राजीनामा गरिसकेका छन् । राजीनामा पछिको विकसित घटनाक्रमलाई मिलाउनको लागि राष्ट्र बैंकलाई गुहारिएको हो । 

अहिले सनराइज बैंकमा भएको विवाद अन्य केही नभएर जुगाको लडाइ हो । काकालाई बैंक अध्यक्षबाट हटाएर आफू अध्यक्ष बन्ने प्रपन्च रच्ने क्रममा  सीईओलाई बलीको बोको बनाइएर राजीनामा दिन लगाइएको हो । बैंक अध्यक्ष मोतिलाल दुगड र मालचन्द दुगड नाताले काका भतिज हुन् ।

पौडेल त्यस अगाडि ग्लोबल आइएमई बैंकमा सीईओ थिए । ग्लोबल आइएमई बैंकमा पनि पौडेलले पुरा कार्यकाल काम गर्न पाएका थिएनन् । सनराइजमा भने उनको नियुक्ति विवादकाबीच नै भएको थियो । 

प्रमुख कार्यकारी अधिकृत पौडेलले सञ्चालक समितिले भनेको विषयमा सधै अब्जेक्शन गर्ने गरेको र काममा समेत सहयोग नगर्ने गरेकाले बोर्ड र पौडेलबीच मतभेद बढेको हो । यस विषयलाई लिएर राष्ट्र बैंकले बोलाएपछि अहिले बोर्ड र सीईओ अप्ठ्यारोमा परेका छन् । त्यसैले राजीनामा दिएका सीईओलाई थमौती गरेर बोर्ड अगाडी बढ्ने सम्भावना देखिएको छ । 

राष्ट्र बैंकले उनीहरूबीचको विवाद समाधान गर्ने प्रयास गर्न लागेको बुझिएको छ । सनराइज बैंकमा अध्यक्ष र सीईओको एक खेमा र अन्य सञ्चालकहरूको अर्को खेमा तयार भएको छ । यी खेमाबीच कुरा नमिल्दा सीईओ पौडेलले राजिनामा दिएका हुन् । पौडेललाई कार्यकालभन्दा अगावै जागिर छाड्दा पाउने सेवा सुविधा लिएर पद छाड्न भनिएको हो । 

बहुमत सञ्चालकले राजीनामा दिन पौडेललाई दवाव दिएपछि उनले राजीनामा दिएका हुन् । पौडेलले राजिनामा दिएपछि प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैकर्स संघमार्फत सञ्चालकहरूको दवावमा सीईओले राजिनामा दिएको विषय राष्ट्र पुगेको हो ।  

सीईओ र सञ्चालकबीचको विवाद राष्ट्र बैंक पुगेपछि कार्यअवधि नसकिएका सीईओलाई राष्ट्र बैंकले थमौती गर्न मार्ग निर्देश गर्न सक्ने छ । विवादकाबीच पौडेल एकवर्ष अगाडि सनराइज बैंकको सीईओमा नियुक्त भएका थिए् । उनी नियुक्त हुनुभन्दा पहिला सनराइज बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठको नियुक्ति विवादमा परेपछि उनले सो पदमा रहेर काम गर्न चाहेनन् र त्यसपछि पौडेललाई सनराइज बैंकको सीईओमा नियुक्त गरिएको हो । 

प्रतिक्रिया दिनुहोस