aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
बैंकभित्र विवाद

बैंक सञ्चालक र सीईओबीच विवाद बढ्दै, नबिल बैंकमा पनि लफडा पर्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
बैंक सञ्चालक र सीईओबीच विवाद बढ्दै, नबिल बैंकमा पनि लफडा पर्न सक्ने

काठमाडौं । पछिल्लो समय बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत(सीईओ) बीचको विवाद बाहिरिन थालेको छ । कोभिडका कारण बैंक सञ्चालकले दिएको टार्गेट मिट गर्न नसकेपछि, बैंक सञ्चालकले भने अनुसार सीईओहरूले काम नगरेका कारण अर्थात अटेर गरेपछि सञ्चालक र व्यवस्थापकबीचको विवाद बढेको हो । 

अहिले नबिल बैंकमा चकलेटी सीईओ अनिलकेशरी शाह छन् । नबिलमा अनिलकेशरी शाहको यो दोस्रो कार्यकाल हो । उनले २०७४ पुस १३ गतेबाट नबिलमा दोस्रो पटक सीईओको कार्यभार सम्हालेका हुन् । नबिल बैंक सीईओ पदको दोस्रो कार्यकाल सम्हालिरहेका शाहले अघिल्लो कार्यकालमा जस्तो अहिले काममा चाम देखाउन नसकेको भन्दै सञ्चालक समिति उनीप्रति असन्तुष्ट बन्दै गएको छ । ब्राण्डेड र सबैभन्दा महँगो सीईओलाई बैंक व्यवस्थापनको कार्यभार सुम्पिएको बैंक सञ्चालक समितिमा ‘उनीमा म मनै हुँ भन्ने दम्भ बढ्दै गएको र रिजल्ट ओरिन्टेड कामभन्दा अन्यमा बढी चासो दिएको भन्ने बुझाइ रहेको छ । 

शाहको नाम र जस्तो सेवा सुविधा छ त्यो अनुसारको रिजल्ट नआएको भन्दै सञ्चालक समितिले उनलाई औल्याइ रहेको छ । शाहलाई बैंक सञ्चालकले अन्य ५ वटा बैंकको वित्तीय विवरणसँग नबिल बैंकको वित्तीय विवरण ट्याली गर्न समेत भनेको छ । 

सञ्चालक समितिको विवादको कारण असार गत असार २५ गते ग्लोबल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बैंकबाट राजीनामा दिए । सालिन सीईओको रुपमा स्थापित क्षेत्रीले पनि सञ्चालक समितिसँगको विवादकै कारण कार्यकाल अगावै राजिनामा दिएका हुन् । त्यसअघि विवाद कै कारण अनिल ज्ञवालीले पनि कार्यकाल नसकिदै ग्लोबल आईएमई बैंकबाट राजिनामा दिएका थिए । अहिले उनी नेपाल कै ठूलो बैंक इन्फ्रास्ट्रक्चर बैंकका सीईओ छन् । 

त्यस्तै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठले पनि आफ्नो कार्यकाल नसकिदै बैंकबाट राजिनामा दिए । उनले २०७४ साल फागुन ७ गते बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका हुन् । उनीे २०७३ असोज १७ गते चार वर्षका लागि माछापुच्छ्रे बैंकमा सीईओ पदमा नियुक्त भएका थिए । उनले पनि सञ्चालक समितिसँग टोन  नमिलेका कारण बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए । 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले पनि कार्यकाल अगावै बैंकबाट बाहिरिएका थिए । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्ययलाई पनि विभिन्न लन्छना लगाएर बैंकबाट निलम्बन गरिएको थियो  । हाल ग्लोबल आईएमई बैंकमा मर्जर भएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साललाई पनि कार्यकाल अगावै सञ्चालक समितिलेले राजीनामा दिन लगाएको थियो  । 

यहि साउन १ गते महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले पनि कार्यकाल अगावै राजिनामा दिएका छन् । उनले पनि यहि दुई पक्षको विवादका कारण राजीनामा दिएका हुन् । 

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बैंकबाट राजीनामा दिएको १५ दिन पनि नबित्दै सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले पनि राजिनामा दिएका हन् । बैंक सञ्चालक समितिसँग टोन नमिलेपछि तथा लक्षित टार्गेट पुर्याउन नसकेपछि बैंकका सीईओहरूले सञ्चालक समितिको दवावमा धमाधम राजिनामा दिन थालेका हुन् । 

प्रतिक्रिया दिनुहोस