
काठमाडौं । सनराइज बैंकमा चलेको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । समस्या समाधानको लागि राष्ट्र बैंकले औपचारिक रुपमा नै पहल कदमी लिएको छ । सञ्चालक र सीईओबीचको विवाद टुंग्याउन राष्ट्र बैंकले मध्यस्थकर्ताको भुमिका निर्वाह गर्न थालेको हो । सोही सिलसिलामा आइतबार बैंक सञ्चालकहरूसँग समस्यावारे राष्ट्र बैंकले छलफल गरेको हो ।
आइतबार विहान सनराइज बैंकको विवादबारे राष्ट्र बैंकमा सम्पर्क गर्दा आफूहरूले कसैलाई छलफलका लागि नबोलाएको बताएको थियो । तर, आकस्मिक रुपमा बैंक सञ्चालकहरूलाई बोलाएर छलफल गरेबाट विवाद निकै गम्भिर बनेको अनुमान गर्न सकिन्छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार आज आइतबार सनराइज बैंकका सातै जना सञ्चालकसँग यो विषयमा राष्ट्र बैंकले छलफलल गरेको हो । द्वन्द्वरत पक्षमध्ये प्रमुख कार्यकारी अधिकृतलाई भने आजमा छलफलमा नबोलाइएको कारण द्विपक्षीय वार्ता भने भएन । यहि कारणले गर्दा विवादको टुंगो लागेको छैन ।
सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत र बैंक सञ्चालकहरूबीच निकै अघिदेखिनै असमझदारी बढेको हो । बैंक सञ्चालकहरूले सीईओलाई राजीनामा दिन दवाव दिएका कारण प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले राजीनामा दिनु परेको कुरा आर्थिकन्युज डटकमले सार्वजनिक गरेपछि राष्ट्र बैंकले यो विषयमा चासो बढाएको हो ।
सीईओ शर्माले सनराइज सम्हाल्न शुरु गर्दा नै त्यहाँ सञ्चालकहरूबीच विवाद थियो । त्यहि विवादका कारण शर्माभन्दा अघि सीईओको नियुक्ती पाएका निरजकुमार श्रेष्ठ कार्यभार नै नसम्हाली बाहिरिए ।
यो हो विवादको जड
अहिले विवाद कुन चरणमा छ र दुबै पक्षका के कस्ता अडानहरू छन् भन्ने विषयमा बुझ्न बैंक सञ्चालक र सीईओसँग सम्पर्क गर्ने पटक पटकको प्रयास असफल भएको हुँदा समस्या कसरी समाधान गर्न खोजिदै छ भन्ने जानकारी प्राप्त हुन सकेको छैन ।
तर, बैंक सम्बद्ध स्रोतका अनुसार सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दिएको निर्देशन अवज्ञा गर्दै आएका थिए । उनलाई सञ्चालक समिति बोर्डले ९० दिनको स्पष्ट कार्ययोजना सहित प्रस्तुत हुन समेत निर्देश गरेको थियो ।
यद्यपि सीईओले आफूले त्यसो गर्न नसक्ने बताउँदै आएका थिए । बरु राजीनामा दिने भन्दै उनी आफ्नै ढंगले काम गरिरहेका थिए । सिर्जना फाइनान्ससँगको मर्जरको विषयमा असहमति जनाउँदै निर्णयमा नै नोट अफ डिसेन्ट लेखेपछि भने विवादले नयाँ मोड लिएको हो ।
बैंक स्रोतकाअनुसार सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले सीईओलाई साथ दिएपछि अन्य सञ्चालकहरूले सीईओ पौडेलको राजीनामा तत्कालै माग गरेका थिए ।
बोर्ड बैठकमा सहभागि एक सञ्चालकका अनुसार पौडेलले त्यहि राजीनामा पत्र समेत प्रस्तुत गरे । तर, अध्यक्षले आवेशमा निर्णय गर्न हुँदैन भन्दै रोकेको उनको राजीनामा स्वीकृतीको चरणमा भने प्रवेश गरेको छैन ।
नेपालको बैकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतहरूले कार्यकाल समाप्त हुनु अगावै अप्रत्यासित राजीनामा दिने घटनाहरू पछिल्लो समयमा बढेको छ । यसले बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीच सामज्यस्यता हुन नसक्नुको कारण खोज्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस