aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
एकीकृत निर्देशिका

यस्तो छ कोभिड प्रभावितले ऋण तिर्ने तालिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ साउन २०७७
यस्तो छ कोभिड प्रभावितले ऋण तिर्ने तालिका


काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रलाई वर्गीकरण गरी ऋणको सावा ब्याज तिर्ने समय निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गरेर राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म भुक्तानी हुन बाँकी सावाको किस्ता र ब्याज तिर्ने समय निर्धारण गरेको हो । राष्ट्र बैंकले पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायलाई अति प्रवाभितक्षेत्रमा राखेर कर्जाको किस्ता र ब्याज तिर्न पाउने अवधिलाई २०७८ असार मसान्तसम्म समय थप गरेको छ ।

यद्यपि ऋण उपलब्ध गराउने बैंकहरूले आफ्ना ऋणीको अवस्था र अप्ठ्यारा परिस्थिति हेरेर २ वर्ष समय थप गरेपनि राष्ट्र बैंकले कुनै बाधा नपुर्याउने एकीकृत निर्देशिकामा उल्लेख गरिएको छ ।  

२०७७ असार मसान्तसम्मको भुक्तानी हुन बाँकी साँवा र ब्याज रकमलाई भुक्तानी अवधि थप भएको ग्रेस अवधि भित्र एकमुष्ठ लिनुभन्दा पनि समानुपातिक रुपमा ३ किस्ता लिने व्यवस्था मिलाउनु पर्नेछ ।

अतिप्रभावित उद्योग व्यवसायहरुमा पर्यटन क्षेत्र परेको छ । ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदिलाई सरकारले अतिप्रभावित व्यवसायभित्र राखेको छ ।  त्यस्तै होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्षणलगायत साहसिक पर्यटन, गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार व्यवसाय यसभित्र  समावेशग गरिएको छ ।  

हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस,  चलचित्र उत्पादन, वितरण, सिनेमा हल तथा रोजगारी गुमेका श्रमिक, कामदार वा कर्मचारी पनि यो क्षेत्रमा समावेश गरिएको छ । 

सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण, कुखुरापालन व्यवसाय तथा पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसायलाई पनि अतिप्रभावित व्यवसायभित्र राखेको छ ।  तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय,  वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायकले पनि अतिप्रभावितको सेवा पाउने छन् । 

मध्यम प्रभावितमा खप्ने सामान जस्तै प्लास्टिक, फलाम÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय राखिएको छ ।  निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर तथा  यात्रुवाहक स्थल यातायात, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप रहेका छन् । 

अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर,  हेल्थ सेन्टर वा फिट्नेस सेन्टर,  भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण व्यवसायले यस्तो सेवा पाउने छन् । 

वन तथा खनिजजन्य उद्योग, निर्माण व्यवसाय र औषधि उत्पादन छपाइ, प्रकाशन तथा संचार गृह निर्माणाधीन जलविद्युत तथा नवीकरणीय ऊर्जा, पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसायीले सो सेवा पाउने छन् । 

कोभिड–१९ बाट न्यून प्रभावित क्षेत्रमा उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना, अनलाईन (इकमर्स) मा संलग्न व्यवसाय, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय तथा दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरणलगायतका व्यवसायले कम प्रभावित व्यवसायीले पाउने सुविधा पाउने छन् । 


 

प्रतिक्रिया दिनुहोस