
काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकराज शर्मा पौडेलसँग बैंक सञ्चालक समितिले किन बर्खास्त नगर्ने भन्ने प्रश्न गरेपछि त्यहाँ विवादले उग्र रुप लिएको खुलासा भएको छ । साउन ८ गते बैंकले शर्मालाई तीन दिनको समय सीमा तोकेर सफाइ पेशगर्न भनेपछि सो बैंकका सञ्चालक र सीईओबीचको विवाद सतहमा आएको हो ।
सनराइज बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडद्वारा हस्ताक्षरित आर्थिकन्युजलाई प्राप्त उक्त पत्रको विषय नै ’सफाइ पेश गर्ने सम्बन्धमा’ भन्ने रहेको छ । जसमा बैंकका ५ जना संचालकहरुले अध्यक्षलाई सम्बोधन गरी पत्र लेख्दै बैंकका सीईओको व्यवस्थापकीय क्षमतामा नै प्रश्न गरेका थिए । ६ बुँदे उक्त पत्र प्राप्त भएपछि अध्यक्षले सोहि कुरा उल्लेख गर्दै पौडेलसँग उनीमाथि लागेका आरोपको सम्बन्धमा सफाइ मागेका हुन् ।
अध्यक्षलाई पत्र लेख्नेहरूमा ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, बच्छराज तातेड, शैलेन्द्र गुरागाइँ र मालचन्द दुगडलगायतका सञ्चालकहरू रहेका छन् । उनीहरूले साउने सक्रान्ती कै दिन अध्यक्षलाई सीईओको व्यवस्थापकीय क्षमता माथि गम्भिर प्रश्न उठेको भन्दै संयुक्त रुपमा पत्राचार गरेका हुन् ।
साउन ८ गते बसेको बैंक सञ्चालक समितिको ३५० औं बैठकको निर्णय अनुरुप पौडेलको नाममा प्रेषित उक्त पत्रमा प्रश्न गरिएको छ, ‘बैठकमा छलफल हुँदा तहाँ र बैंकको सञ्चालक समितिबीच मिति २०७६/०३/२७ मा भएको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी सम्झौतामा भएको व्यवस्था अनुरुप तपाईलाई प्रमुख कार्यकारी अधिकृतको पदबाट किन अवकाश नदिने हो ?’ सो पत्रमा अगाडी लेखिएको छ, ’अवकाश दिनु नपर्ने कुनै आधार, कारण भए सो प्रमाण सहित कारण समेत उल्लेख गरी सो को चित्तबुझ्दो जवाफ सहित यस पत्रका मितिले ३ कार्य दिन भित्र सफाइ पेश गर्नहुन मौका दिइएको जानकारी गराउँदछु ।’
यस्तो छ सञ्चालकले अध्यक्षलाई बुझाएको पत्र
उल्लेखित ५ जना सञ्चालकहरूले साउन १ गते पाँचै जनाको हस्ताक्षर सहित अध्यक्षलाई बुझाएको पत्रमा सीईओ पौडेलले सञ्चालक समितिले अपेक्षा गरे झै बैंक सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् । सो पत्रको पहिलो बुँदा मै उनले सीईओ पद सम्हालेको १ वर्ष पुगिसक्दा पनि नियुक्ति लिँदा गरेको प्रतिवद्धता पुरा गर्न नसकेको भनिएको छ ।
त्यसैगरी दोस्रो बुँदामा पौडेलले बैंक सञ्चालक समितिले गरेका निर्णयहरूलाई व्यवास्था गरेको, कार्यान्वय नगरेको र जे जति कार्यान्वयन भए ती पनि समयमा नगरेको पनि उल्लेख गरिएको छ ।
तेस्रो बुँदामा लगाइएको आरोपले उनको व्यवस्थापकीय क्षमतामा समेत प्रश्न उठाएको छ । सो बुँदामा भनिएको छ कमिटीले गरेको निर्णयसँग नमिल्दो गरी उनले उच्च पदहरूमा सो पदलाई नसुहाउने व्यक्तिहरू पुर्याएको भन्ने आरोप छ । कतिपय सम्वेदनशील विभागहरूमा समेत अदक्ष कर्मचारीहरूलाई जिम्मेवारी दिँदा अन्य कर्मचारीहरूको मनोबलमा आघात पुगेको र बैंक सञ्चालनमा नै दख्खल पुगेको उनीहरूको दावी छ ।
बैंकभित्रको समस्या र विवाद आम सञ्चारमाध्यमहरूमा छताछुल्ल भइसकेको वर्तमान अवस्थामा सञ्चालकहरूले सीईओलाई लगाएको चौथो आरोप भने रोचक छ । जसमा भनिएको छ ‘उनले बैंकको कामलाई थोरै समय दिने तर मिडियामा भने अनावश्यक एक्स्पोजर गर्दै आएका छन् ।’
धेरैजसो संस्थाका प्रमुखहरूलाई लाग्ने गरेको ‘सीमित घेरामा रमाउने’ र ‘नजिककालाई च्याप्ने’ आरोप पौडेललाई पनि लागेको छ । पाँचौ नम्बर बुँदामा उनले टिम बिल्डिङमा ध्यान नदिएको बरु सीमित घेरामा रमाएर बैंकमा अन्य कर्मचारीहरूलाई वेवास्ता गर्दै सामुहिक ढंगले काम गर्ने वातावरण नबनाएको कुरा उल्लेख गरिएको छ ।
सबैभन्दा गम्भिर आरोप त यो छ कि उनले बैंकको वित्तीय अवस्थामा सुधार गर्न सकेनन् । त्यसैगरी सञ्चालक समितिका धेरै बैठकहरूले बैंकको प्रगतिका लागि गरेका निर्णयलाई समेत सीईओ पौडेलले कार्यान्वयन नै नगरेको आरोप छ । छैटौ बुँदमा अगाडी लेखिएको छ ‘सबै वाचा/प्रतिवद्धता झुठा ठहरिए ।’
यी सबै आरोपलाई बुँदागत रुपमा प्रस्तुत गरिसकेपछि सञ्चालकहरूले अध्यक्षसँग माग गरेका छन् –यसकारण बैंक सञ्चालक समितिले अब सोच्नु पर्छ र अविलम्ब आवश्यक कारवाहीतर्फ लाग्नु जरुरी छ । उनीहरूले यसो गरेमात्र बैंकलाई थप क्षति हुनबाट जोगाउन सकिने समेत अध्यक्षलाई लेखेको पत्रमा उल्लेख गरेका छन् ।
के हुन्छ त अब ?
बैंक सञ्चालक समितिका एक सदस्यका अनुसार सञ्चालक समितिले दिएको ३ दिनको समयावधिलाई सीईओ पौडेलले गुजारेका छन् । उनले सफाइ दिनुको सट्टा अध्यक्षको शरणमा परेर आफूलाई सुरक्षित राख्न खोजेको ती सञ्चालकले आर्थिकन्युजलाई बताए ।
समस्या समाधानको विकल्प वारे कुरा गर्दै ती सञ्चालकले भने ‘अब हामीसँग धेरै विकल्प वाँकी छैन । कि राजिनामा स्वीकृत गर्ने वा बर्खास्त गरिएको पत्र थमाउने ।’
मंगलबारसम्ममा सीईओ पौडेल कुन रुपमा कसरी प्रस्तुत हुन्छन् भन्ने कुराले नै सञ्चालक समितिका आगामी निर्णय निर्धारण गर्ने बताउँदै उनले थप जोड दिए, ‘जे भएपनि अब जनकराज शर्मा पौडेलको नेतृत्वमा सनराइज बैंक अगाडी बढ्ने सम्भावना चाहिँ छैन ।
प्रतिक्रिया दिनुहोस