aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

एकल अंकमा घर र सवारी साधन कर्जा उपलब्ध गराउने बैंकबीच प्रतिस्पर्धा, यस्ता छन् स्किम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
एकल अंकमा घर र सवारी साधन कर्जा उपलब्ध गराउने बैंकबीच प्रतिस्पर्धा, यस्ता छन् स्किम

काठमाडौं । यति बेला बैंकहरूमा सस्तो ब्याजमा घर तथा सवारी साधान कर्जा उपलब्ध गराउने प्रतिस्पर्धा  चलेको छ । लकडाउनका कारण बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता जम्मा भएपछि बैंकहरूले घर गाडी कर्जाका आकर्षक स्किमहरू सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले चलनचल्तीको ब्याजदरमा पनि अझ घटाएर नयाँ स्किम सहितको कर्जा ल्याएका हुन् । 

असार तेस्रो साता एनआईसी एशिया बैंकले ९.९९ प्रतिशत सस्तो ब्याजदरमा घर तथा सवारी साधन कर्जाको नयाँ स्किम ल्यायो । त्यसपछि  सस्तो ब्याजदर र सरल प्रक्रियागत योजनासहित बैंकहरूले नयाँ स्किम सार्वजनिक गर्न थालेका हुन् । लकडाउन खुकुलो भएपनि ठूला परियोजनाबाट कर्जाको माग आएको छैन । ठूला परियोजनाबाट कर्जाको माग नभएको र बैंकमा अत्यधिक निक्षेप रहेकोले बैंकहरूले खुद्रा कर्जामा लगानी बढाउन यस्तो योजना बनाएका हुन् । 

असार मसान्तसम्म वाणिज्य बैंकहरूमा ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । तर यो अवधिमा बैंकहरुको कर्जा लगानीभने २९ खर्ब ३ अर्ब रुपैयाँ मात्र छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार अहिले संकलन भएको निक्षेप र कर्जाबीचको अन्तर ५ खर्ब ८४ अर्ब रहेको छ । अहिले राष्ट्र बैंकले गरेको व्यवस्था ८५ प्रतिशत सीसीडी रेसियो अनुसार पनि ६० अर्ब लगानी योग्य पुँजी वाणिज्य बैंकमा थुप्रिएर छ ।  

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसक्दा बैंकहरूको खर्च अझ बढ्न जाने भएकोले बैंकहरूले सरल कर्जामा लगानी गर्ने योजना ल्याएका हुन् । बैंक तथा वित्तीय संस्थाहरू अहिले खर्च घटाउने दवावमा छन् । यसरी सरल कर्जाका स्कीम सार्वजनिक गर्ने बैंकहरूमा सानिमा बैंक, नबिल, एनआईसी एशिया, सनराईज, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ट चार्टर्ड,  एभरेष्ट बैंक र महालक्ष्मी विकास बैंकलगायतका बैंक रहेका छन् ।

यसरीसस्तो ब्याजदर र सरल प्रक्रियाका कर्जामा योजना सार्वजनिक गर्ने बैंकहरूमा हालसम्म सानिमा बैंक, एनआइसी एशीया, ग्लोबल आइएमई बैंक, नबिल, सनराईज, स्ट्याण्डर्ट चार्टर्ड र एभरेष्ट बैंक हुन् ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले असारको दोस्रो सातामा ८.२५ प्रतिशत ब्याजदरमा घर र गाडी कर्जाको योजना ल्याएको छ । जेठ महिनामा बेसरेट घटाएर बेसरेटभन्दा केही बढी मार्जिन लिएर सवारी तथा घर जग्गा कर्जा योजना ल्याएको छ । 

बैंकले ल्याएको सुपर चमत्कारी कर्जा योजनामा एक वर्षसम्म कर्जाको ब्याज नबढ्ने गरी बेसरेटभन्दा ०.०३ प्रतिशत बढी र सेवा शूल्क ०.२५ प्रतिशतमात्र लिएर नयाँ योजना ल्याएको हो । घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिदआदिका लागि कर्जा योजना ल्याएको छ । बैंकले यो योजना न्यूनतम ५ वर्षदेखि १० वर्षसम्म रहने अवधि तोकेको छ । 

ग्लोबल आईएमई बैंक

ग्लोबल आइएमइ बैंकले ३ दिनमै सस्तो ब्याजरमा कर्जा योजना ल्याएको छ । बैंकले सो योजनामा रहेको ९.९९ प्रतिशत ब्याजदरमा १५ वर्षसम्मको लागि १ करोड ५० लाख रुपैयाँसम्म घर कर्जा ल्याएको हो ।कर्जाको प्रक्रिया पुरा भएका ऋणीलाई बैंकले यस्तो कर्जा ३ दिनभित्र प्राप्त गर्न सक्ने छन् । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आम ग्राहकलाई लक्षित गरी बैंकले योजना ल्याएको हो । 

नविल बैंक

नबिल बैंकले घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा विशेष छुट अफर ल्याएको छ । बैंकले ३६औं वार्षिकोत्सवको अवसरमा कर्जा विषेश छुट योजना सार्वजनिक गरेको हो । सो योजनाअन्तर्गत बैंकले घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

बैंकले घर जग्गा तथा सवारी खरिद गर्न चाहने ग्राहकको लागि सस्तो कर्जा योजना ल्याएको छ । बार्षिक ७.५९ प्रतिशत ब्याजदरमा १ वर्षको लागि घररजग्गा तथा सवारी कर्जा योजना ल्याएको हो । जसमा बैंकले ०.७५ प्रतिशत सेवा शूल्क लिने योजना अघि सारेको छ । बैंकले एक वर्षपछि भने बेसरेटमा २.२ प्रतिशत प्रिमियम जोड्ने जनाएको छ ।

सानिमा बैंक

केही समयअघि सानिमा बैंकले ९.९९ प्रतिशतमा नयाँ सवारी साधन कर्जा योजना ल्याएको छ । बैंकले  १० वर्षको लागि १ वर्षसम्म एकल अंक ब्याजदरमा नबढ्ने गरी सवारी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले बेसरेटभन्दा १.४७ प्रतिशत बढीमा ९.९९ प्रतिशतमा १ प्रतिशत सेवा शूल्क लिएर सवारी कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।

बैंककाअनुसार सवारी कर्जालाई प्रोत्साहन गर्नका लागि १ वर्षसम्म ब्याजदर नबढ्ने गरी कर्जा योजना ल्याएको हो । हाल सवारी कर्जा योजनामात्र ल्याएको र केही समयमा नै घर कर्जा योजना पनि न्यून ब्याजदरमा ल्याउने तयारी गरेको बैंकले जानकारी दिएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले सस्तो कर्जा योजना ल्याएको छ । ‘चाडपर्व विशेष कर्जा योजना’ नामक सो योजना बैंकले ३ महिनाको लागि ल्याएको छ । बैंकले सस्तो घर कर्जा, साना तथा मझौला उद्योग कर्जा, सावारी कर्जा तथा व्यक्तिगत कर्जा योजना ल्याएको हो ।

साउन १५ गतेदेखि कात्तिक १४ गतेसम्म लागु हुने सो कर्जा योजनामा घर कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत तथा व्यक्तिगत कर्जा ९.५५ प्रतिशत र साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी यो योजना  सार्वजनिक गरेको हो । साथै चाडपर्व विशेष कर्जा योजनामा सेवा शूल्क समेत ०.५० प्रतिशत मात्र लाग्ने बैंकले बताएको छ । 

हिमालयन बैंक

हिमालयन बैंकले घर र गाडी किन्न चाहनेलाई ८.४९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । बैंकले विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ ।

सनराइज बैंक

यसअघि घर कर्जालाई मुख्य प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आएको सनराइज बैंकले यस पटक सस्तो ब्याजदरमा २४ घण्टामै १ करोड रुपैयाँ एसएमई कर्जा दिने घोषणा गरेको छ । बैंकले ‘साइज सरल एसएमई कर्जा’ नामक कर्जा ९.९५५ वार्षिक ब्याज दरमा दिने भएको हो ।

उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ । जसअन्र्तगत ग्राहकले १ करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याजदरमा ग्राहकले प्राप्त गर्न सक्नेछन् । त्यो भन्दा पनि अघि बढेर सनराइजले ८.९५ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ ।

योजनामा सहभागी हुनेले घर बनाउने तथा घर किन्न सक्नेछन् । यो योजना अन्तर्गत ४० वर्षमा ऋण तिर्दा हुने सुविधा पाइने छ । यस्तै सनराइज बैंकले सेयरधितोमा ९.९५ प्रतिशत ब्याजदरमा ऋण दिने योजनाा ल्याएको छ । सनराइज बैंकको सबै शाखा कार्यालयबाट ऋण लिन सकिने बैंकले जनाएको छ ।

विकास बैंकमा महालक्ष्मी र सांग्रिलाको नयाँ योजना

संग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशतमै शेयर धितो कर्जा उपलब्ध गराउने गरी नयाँ योजना ल्याएको छ भने महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै आवास कर्जा दिने गरी नयाँ योजना सार्वजानिक गरेको छ ।

विकास बैंकतर्फ महालक्ष्मी विकास बैंकले पनि वाणिज्य बैंकको जस्तै घर खरिद तथा निर्माण गर्ने ग्राहकलाई लक्षित गरी आवास कर्जा र उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले दुबै कर्जा योजनामा ऋणीका लागि ९.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ ।

आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म ब्याजमात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस