aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
टिप्पणी

सनराइज बैंकका सञ्चालक दवावमा, बिहीबार के होला निर्णय ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
सनराइज बैंकका सञ्चालक दवावमा, बिहीबार के होला निर्णय ?

काठमाडौं । सनराइज बैंकको विवादले एउटा प्रश्न जन्माएको छ– टाउकोले पुच्छर हल्लाउने हो कि पुच्छरले टाउको हल्लाउने हो ? यो प्रकरणमा टाउकोभन्दा पुच्छर बलियो बन्दै गएको घटना क्रमले देखाएको छ । 

बैंक सञ्चालकहरूले प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलमा कार्य क्षमताको अभाव रहेको लिखित रुपमै दावी गरे । अनि उनीहरूले अध्यक्षसँग निजलाई पदमुक्त गर्नुपर्ने माग समेत राखे । तर, पौडेलको कार्य क्षमता भने उनीहरूले सोचेभन्दा निकै बेजोडको रहेछ भन्ने त्यस बेलामात्र सञ्चालकले थाहा पाए, जब एक जना सञ्चालकलाई सञ्चाल समितिबाट तुरुन्त दिन उपल्लो तहबाट बारम्बार दवाव आउन थाल्यो ।

हुन पनि एउटा सामान्य वाणिज्य बैंकको आन्तरिक कलहमा अर्थमन्त्रीले नै सीईओको रक्षा गर्न पहल कदमी लिएको भन्ने समाचारहरू धेरै सञ्चार माध्यममा आए । समाचार पत्यार लाग्दा छैनन् किनकी बैंकिङ क्षेत्र राम्ररी बुझेका र राष्ट्र बैंक कुशलतापूवक हाकेका अर्थमन्त्रीले सीईओ जोगाउन सञ्चालक थर्काउलान् भन्ने कल्पना नै गर्न सकिदैन । 

तर, अन्योलता यसकारण सिर्जना भएको छ कि स्वतन्त्र सञ्चालक ओमकृष्ण जोशीलाई राजिनामा दिन दवाव आएको विश्वस्त स्रोतले जनाएको छ । दवाव दिनेहरूमा राष्ट्र बैंकसँग लहरो जोडिएका र अर्थ मन्त्रालयमा कब्जा जमाएकाहरू नै हुन् भन्ने स्रोतले किटान गरेको  छ । 

अहिलेको गम्भिर प्रश्न यो हो कि कुनै पनि बैंक चलाउने जिम्मा अर्थ मन्त्रालय वा राष्ट्र बैंकको नाम बेच्ने दलालको हो या सञ्चालक समितिको ? यो प्रश्न यसकारण महत्वपूर्ण छ कि यदि सीईओ नियुक्त गर्ने बैंकका सञ्चालकहरूले आफूले नियुक्त गरेको व्यक्तिलाई तिमी अक्षम रहेछौं, काम गर्न सकेनौ, जनताको लगानी भएको बैंक डुब्ने भो विकल्प देऊ भन्दा आफैतिर झटारो आउने हो भने आम बैंकहरू प्रतिको जनविश्वास कसरी कायम गर्ने ?

सनराइज विवादले के चिन्ता उब्जाएको छ भने यदि ठिक नेतृत्व भएन भने निष्कर्षमा बैंक सञ्चालकहरू पुग्न नपाउने हो भने सीईओ पदधारी व्यक्ति बेलगाम घोडा बन्दैन भनी कसरी भन्न सकिन्छ ? अनि कोही कसैप्रति जवाफदेही बन्न नपर्ने र कुनै एक अमूक व्यक्तिले सर्वसाधारणको समेत लगानी भएको बैंकमा  आफ्नै विर्ता झै मनोमानी गर्न पाउने हो भने हाम्रा बैंकहरूको हालत के हो ? 

यावत प्रश्नहरूको एकमुष्ठ जवाफ यो हो कि बैंक सञ्चालकहरूले सञ्चालक समितिमा मनोनयन हुँदा खाएको शपथलाई स्मरण गर्नुपर्छ । यदि बैंक जोगाउने मेरो एकमात्र जिम्मेवार हो भन्ने मात्र पनि बैंक सञ्चालकले बुझे भने उनीहरूले सही निर्णय गर्न सक्नेछन् । कसैको फोनको दवावका भरमा कुनै सञ्चालक लगलग काम्नुपर्ने कुनै कारण छैन । 

बैंक सञ्चालकमध्ये पनि सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने व्यक्तिमाथि केन्द्रीत भएर दवाव दिनु आम लगानी कर्ताहरूको समेत अपमान र उनीहरूको  सम्पत्तिमाथि बोलिएको धावा हो । यसरी स्वतन्त्र सञ्चालकलाई विभिन्न कोण, तह र पहुँचको आधारमा निरुत्साहित गर्नुले यो बैंकका आम लगानीकर्तालाई जोखिमतर्फ धकेल्दै गरेको निष्कर्ष निकाल्नु गलत हुँदैन ।

त्यसैले सनराइज बैंकको विवाद अब बैंक सञ्चालक र सीईओबीचको विषयमात्र रहेन । यो आम लगानीकर्ताको सरोकारको विषय हो । यसकारण बिहीबार दिनको ३.०० बजेका लागि तय भएको सनराइज बैंक सञ्चालक समितिको बैठकले बैंक जोगाउने निर्णय गर्न सक्नुपर्छ । बैंकका अध्यक्षदेखि सबै सञ्चालकहरूले मेरो कर्तव्य अर्थमन्त्री रिझाउने होइन कि बैंक जोगाएर आम लगानीकर्ताको सम्पत्ति सुरक्षण गर्नु हो भन्ने एक पल पनि बिर्सन हुँदैन । 

आवश्यक परे आम लगानीकर्ताले सञ्चालक समितिलाई ढाडस दिनुपर्छ र दवाव आयो भनेर आवेगमा आउने होइन कि विवेकशील बनेर सही निर्णय गर्न प्रोत्साहित गर्नुपर्छ ।

आशा गरौं, सनराइज बैंकको भोलिको बैठक ऐतिहासिक, शाहसिक र सही निर्णय गर्न सफल हुनेछ । अनावश्यक दवाव र करकापमा परेर त्यसले निर्णय गर्ने छैन । आम लगानीकर्ताको सुरक्षित राख्ने छ । सनराइज बैंक सञ्चालकको जिम्मा पाएका सञ्चालकहरूले आफूलाई सक्षम, योग्य र सही सावित गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस