
काठमाडौं । देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकसँग कति पैसा होला ? सुन समेत ढुकुटीमा भण्डारण गरेर राख्ने यो बैंकले कति सुन राखेको होला ? यो आम सर्बसाधरणलाई चासो लाग्ने विषय हो ।
अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्त हुने बित्तिकै श्वेतपत्र नै जारी गरेर भनेका थिए–ढुकुटी त रित्तो पो रहेछ । उनले भनेको ढुकुटी पक्कै पनि राष्ट्र बैंकको ढुकुटी होइन । त्यसैले, त्यो रित्तो बनिहाल्ने कुरा पनि आउँदैन ।
त्यसो त राष्ट्र बैंकले बजारमा अत्यन्तै धेरै नगद (तरलता) देखियो भने बजारबाट पैसा खिच्ने (प्रशोचन गर्ने) र तरलता अभाव देखिए विभिन्न उपकरण मार्फत नगद प्रवाह गर्ने काम समेत गर्छ । हालै मात्र पनि बैंकहरुमा अधिक तरलता देखा परेपछि २० अर्ब प्रशोचन गर्ने राष्ट्र बैंकले निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७७ असार ३१ गतेको केन्द्रीय बैंकको मासिक वासलात अनुसार बैंकको बैंकिङ्ग अफिसमा ८ अर्ब ३५ करोड १२ लाख २३ हजार ८६९ रुपैयाँ नोट मौज्दात रहेको छ । दायित्व अन्तर्गत अहिले चलनचल्तीमा ५ खर्ब ७९ अर्ब ७० करोड ८७ लाख ७६ हजार १३१ रुपैयाँका नोट बजारमा छन् ।
राष्ट्र बैंकले जम्मा निष्कासित गरेको ५ खर्ब ८८ अर्ब ६ करोड मूल्य बराबरीका नोट हुन् । जसलाई भुक्तानी गर्न पुग्ने गरी विदेशी मुद्रा र सेक्युरिटी राष्ट्र बैंकको सम्पतीकोरुपमा रहेको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार अहिले राष्ट्र बैंकसँग २० अर्ब ३२ करोड ९९ लाख १ हजार १४३ रुपैयाँ मूल्य पर्ने सुन मौज्दात छ ।
प्रतिक्रिया दिनुहोस