
काठमाडौं, जेठ १७ । हिमालयन बैंकले प्रवाह गरेको ऋणको गुणस्तर (क्वालिटी) मा नेपाल राष्ट्र बैंकले शंका व्यक्त गरेको छ । राष्ट्र बैंकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षण गर्दा हिमालयन बैंकले प्रवाह गर्ने ऋणको गुणस्तरमा समस्या देखिएको हो ।
हिमालयन बैंकले आक्रामक रुपले कर्जा विस्तार गर्नतिर लाग्दा कमजोर ऋण प्रवाह गरेको खुलासा भएको छ । बैंकले गत चैत महिनामा प्रकाशित वित्तीय विवरणमा निक्षेप संकलन १२ प्रतिशतले बढाएको छ भने ऋण लगानी १३ प्रतिशतले बढाएको छ । राष्ट्रले हिमालयन बैंकलाई संयमित भएर ऋण लगानी गर्न सुझाव दिएको छ ।
घरजग्गामा लगानी गरेको ऋण कमसल खालको भएको राष्ट्र बैंकको ठहर छ । राष्ट्र बैंकले अन्य बैंकहरुको पनि राष्ट्र बैंकले नियमन गरिरहेको छ । तर, हिमालयन बैंकको मात्र राष्ट्र बैंकले यस्तो प्रश्न उठाएको हो । बैंक तथा वित्तीय संस्थाले आक्रमक रुपमा कर्जा बिस्तार गरेपछि राष्ट्र बैंकले सुक्ष्म रुपमा लगानीको गुणस्तरक अध्ययन गरिरहेको छ ।
हिमालयन बैंकलाई नाम अनुसारको काम गर्न पनि राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण टोलीले दिएको छ । ‘नाम उच्च राख्ने काम चाहिँ न्यून स्तरको’ भन्दै राष्ट्र बैंकको उक्त टोलीले गुणस्तरको प्रश्न उठाएको हो ।
‘निक्षेप बढेको छैन, ऋण प्रवाह उच्च छ, यस्तो अवस्थामा आक्रमक रुपमा ऋण प्रवाह गर्नु जायज हुँदैन’ भन्दै राष्ट्र बैंकको उक्त टोलीले हिमालयन बैंक व्यवस्थापनसमक्ष प्रश्न उठाएको थियो । घरजग्गा क्षेत्रमा कमसल खालको कर्जा प्रवाह गरेकाले पनि बैंकहरुको खराब कर्जा बढेको राष्ट्र बैंकको ठहर छ । अघिल्लो चैतमा बैंकको खराब कर्जा ०.१२ प्रतिशत विन्दु रहेकोमा यस वर्षको चैतमा बढेर १.३१ प्रतिशत पुगेको छ ।
बैंकको गत चैतसम्मको विवरणमा कोषको लागत (कस्ट अफ फन्ड) र खराब कर्जा वृद्धि भएको छ । यसले गर्दा बैंकको नाफा खासै बढ्न सकेको छैन । वित्तीय विवरण प्रकाशित गरेका अधिकांश बैंकको नाफा औसतमा ३० प्रतिशतले बढेको देखिन्छ । तर, हिमालयन बैंकको १० प्रतिशतको मात्रै सुधार देखिएको छ ।
बैंकले चैतसम्म दुई अर्ब एक करोड रुपैयाँ नाफा गरेको छ । पोहोर यतिबेलाको नाफा एक अर्ब ८२ करोड रुपैयाँ थियो । कस्ट अफ फन्ड ०.३३ प्रतिशत विन्दुले बढेर ६.६८ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले केही बैंक तथा वित्तीय संस्थाकोे लगानीलाई निगरानीमा राखेको छ । राष्ट्र बैंक स्रोतले भन्यो, ‘केही बैंकलाई कानुनबमोजिम कारबाही अघि तयारी गरेका छौं ।’
राष्ट्र बैंककै तथ्यांकअनुसार हाल बैंकहरुको औसत खराब कर्जा बढेको छ । अझ गत वर्षको तेस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा बढेको छ । एक वर्षको अवधिमा ऋण प्रवाह उच्च दरले बढेको तर ऋण असुलीका लागि विशेष व्यवस्था गरिएको छैन् । खराब कर्जा घट्नुको साटो बढ्नु अस्वभाविक भएको विज्ञहरु बताउँछन् ।
बैंकबीच व्यवसाय विस्तारमा भएको प्रतिस्पर्धा हेर्दा ऋणको गुणस्तरमा राष्ट्रको प्रश्न जायज भएको बिज्ञहरुको भनाइ छ । हिमालयन बैंक ऋणको गुणस्तरमा प्रश्न उठाएको राष्ट्र बैंकको उच्च स्रोतको भनाइ छ । ऋणको माग उच्च भएको समयमा जोखिमको सम्भावना बढी हुने गर्दछ ।
राष्ट्र बैंकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थालाई नियमन तथा सुपरिवेक्षण गरिरहेको छ । त्यही क्रमम यस्तो देखिएको हो । राष्ट्र बैंकको आशंका सही नभएको हिमालयन बैंकका एक उच्च अधिकारीले बताए । हिमालयन बैंकले प्रवाह गरेको ऋण सुरक्षित रहेको उनको दाबी छ । ती अधिकारीले भने, ‘अपवादबाहेक सबै ऋण सुरक्षित छ ।’ हिमायलन बैंकले धितोको मूल्यभन्दा बढी ऋण प्रवाह गरेकाले पनि समस्या थपिएको राष्ट्र बैंकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस