aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
प्रतिवद्धता सहित

सीईओलाई सचेत गराउँदै सनराइजको संकटमा अल्पविराम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
सीईओलाई सचेत गराउँदै सनराइजको संकटमा अल्पविराम

काठमाडौं । प्रमुख कार्यकारी अधिकृत र सञ्चालकबीचको संर्घषबाट सनराइज बैंकले केही समय मुक्ति पाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकमा सीईओ जनकराज शर्मा पौडेलले सञ्चालकका गुनासा प्रति सकारात्मक प्रस्तुती गरेकाले हाललाई द्वन्द्व समाधान भएको हो । 

बैंक सञ्चालकका अनुसार सीईओ पौडेललाई ६ वटा बुँदामा सचेत गराइ हाललाई निरन्तरता दिने बोर्ड बैठकले निर्णय गरेको हो । पौडेललाई सचेत गराइएको ६ वटा बुँदा तीनै बुँदाहरू हुन् जुन उनको अयोग्यताका रुपमा सञ्चालकहरूले बैंकका अध्यक्ष मोतिलाल दुगड समक्ष पेश गरेका थिए । 

उनको निरन्तरताको निर्णय वारे थप स्पष्ट पार्दै नाम उल्लेख नगर्ने शर्तमा ती सञ्चालकले भने ‘हामीले उनको योग्यता, क्षमता र दक्षतामा औंलो ठहराउँदै जे जे भनेका थियौ, ती कुरालाई उनले स्वीकारे र सञ्चालक समितिले आइन्दा ती ६ वटा महत्वपूर्ण विषयमा सचेत रहन निर्देशन दियो ।’ उनले अगाडी थपे ‘बैंकभित्र कर्मचारीहरूलाई काखा र पाखा गर्ने सीईओ पौडेलको प्रवृत्ति प्रति हाम्रो ठाडो आपत्ति रह्यो । अब आइन्दा त्यसो नगर्ने प्रतिवद्धता उनले गरे, हामीले गम्भिर रुपमा सचेत गरायौं ।’ 

बैठकमा सहभागि एक बैंक सञ्चालककाअनुसार ५ जना असन्तुष्ट सञ्चालकहरूले लगाएको आरोपलाई स्वीकार गर्दै सबै आरोप र कमी कमजोरीलाई पूर्ण रुपमा सच्याउने प्रतिवद्धता पौडेलले गरेका छन् । सञ्चालक समितिले पौडेललाई अवकास नदिए आफू सञ्चालकबाट नै राजीनामा दिने अडान राखेकामा सोबाट समेत सञ्चालकहरू पछाडी फर्किएका छन् । 

५ जना बैंक सञ्चालकहरूले साउन १  गते सीईओ पौडेलका कमजोरीहरू औल्याउँदै निजलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा राखिरहनु जोखिमपूर्ण हुने भन्दै तुरुन्तै निर्णय लिन अध्यक्षलाई लिखित रुपमा ६ बुँदे पत्र बुझाएका थिए । सोपत्रलाई आधार मान्दै साउन ८ गते ३ दिनको अल्टिमेटम सहितको पत्र सीईओ पौडेललाई बैंकले थम्याएको थियो । 

आर्थिकन्युज डटकमले अल्टिमेटम अनुसारको स्पष्टिकरण दिनुको साटो अध्यक्षलाई राजीनामा पत्र बुझाएको समाचार सार्वजनिक गरेपछि सनराइज बैंकको विवाद सतहमा आएको थियो । त्यसपछि लगातार रुपमा सञ्चालकले लेखेको पत्र र बैंकले पौडेललाई थम्याएको पत्र समेत सार्वजनिक भएपछि यो विषयमा नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत गम्भिरतापूवक चासो राखेको थियो । 

तत्काललाई संकट टार्न यसबीच राष्ट्र बैंकले सञ्चालकहरूलाई बोलाएर चेतावनीपूर्ण निर्देशन दिनेदेखि अर्थ मन्त्रालयबाट सीईओलाई काँधमा बोक्नेसम्मको काम भएका थिए । बैंक सञ्चालक समितिको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाका पुत्र तथा सनराइज बैंकका सूचना प्रविधि विभाग प्रमुख तिलक खतिवडा हावी भएको समेत बैंक सञ्चालकहरूले गुनासो गर्दै आएका छन् । 

स्मरण रहोस् अर्थमन्त्रीका छोरा तिलकलाई एकै पटक दुई तह बढुवा गरी सनराइजमा ल्याएको गुन उनले पौडेललाई तिरेका हुन् । यसअघि अहिले ग्लोबल आईएमईमा गाभिएको जनता बैंकमा उनी सूचना प्रविधि विभागमा तेस्रो वरियतामा कार्यरत थिए ।

जेसोस् बैंक सञ्चालकका सामू आफ्नो गल्ती र कमजोरीलाई स्वीकादै अब सध्रिन्छु भन्दै सीईओ पौडेलले याचना गरेपछि सनराइज बैंकका लगानीकर्ता तथा निक्षेपकर्ताहरूले सन्तोषको श्वास फेर्न पाएका छन् । बैंक सञ्चालक र सीईओबीचको द्वन्द्वमा परेर बैंक जोखिमतर्फ उन्मुख भएको भन्दै आम लगानीकर्ताहरू गत साताभरी चिन्तित बनेका थिए । 

यी हुन् सचेत गराइएका विषयहरू

सीईओ पौडेलको कार्य शैलीप्रति असन्तुष्टी व्यक्त गर्दै बैंक सञ्चालक समितिका अध्यक्षलाई पत्र लेख्ने सञ्चालकहरूमा ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, बच्छराज तातेड, शैलेन्द्र गुरागाइँ र मालचन्द दुगडलगायतका थिए ।

उल्लेखित ५ जना सञ्चालकहरूले साउन १ गते पाँचै जनाको हस्ताक्षर सहित अध्यक्षलाई बुझाएको पत्रमा उल्लेखित बुँदाहरूमा उल्लेख भएका विषयहरूमा नै सीईओ पौडेललाई  सचेत गराइएको हो । 

सो पत्रको पहिलो बुँदा मै उनले सीईओ पद सम्हालेको १ वर्ष पुगिसक्दा पनि नियुक्ति लिँदा गरेको प्रतिवद्धता पुरा गर्न नसकेको भनिएको छ । बिहीबार उनलाई सचेत गराउँदा सञ्चालकहरूले  सो बेलाको प्रतिवद्धता स्मरण गरेर काम गर्न भनेका थिए । 

त्यसैगरी दोस्रो बुँदामा पौडेलले बैंक सञ्चालक समितिले गरेका निर्णयहरूलाई व्यवास्था गरेको, कार्यान्वय नगरेको र जे जति कार्यान्वयन भए ती पनि समयमा नगरेको पनि उल्लेख गरिएको छ ।अब उप्रान्त सञ्चालक समितिको निर्णयलाई तदारुक्ताका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको बैंक सञ्चालकले बताएका छन् । 

तेस्रो बुँदामा लगाइएको आरोपले उनको व्यवस्थापकीय क्षमतामा समेत प्रश्न उठाएको थियो । कतिपय सम्वेदनशील विभागहरूमा समेत अदक्ष कर्मचारीहरूलाई जिम्मेवारी दिँदा अन्य कर्मचारीहरूको मनोबलमा आघात पुगेको र बैंक सञ्चालनमा नै दख्खल पुगेकोमा अबदेखि कर्मचारीहरूको कार्यभार निर्धारण गर्दा उनीहरूमा रहेको योग्यता, दक्षता र अनुभवलाई ध्यान दिन सीईओलाई सचेत गराइएको छ । 

सीईओले बैंकको कामलाई थोरै समय दिने तर मिडियामा भने अनावश्यक एक्स्पोजर गर्ने गरेकाले अब उप्रान्त सेलिब्रेटी बन्नेभन्दा सीईओको जिम्मेवारी पुरा गर्नेतर्फ केन्द्रीत रहन पौडेललाई सम्झाइएको छ । त्यसैगरी सीमित घेरामा रमाउनुको सट्टा सामुहिक ढंगले काम गर्ने वातावरण बनाउन पौडललाई बैंक बोर्डले निर्देश गरेको छ  । 
 

प्रतिक्रिया दिनुहोस