aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोभिडका कारण बैंकहरूको नाफा घट्यो, लाभांश वितरण गर्न नसक्ने अवस्थामा बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
कोभिडका कारण बैंकहरूको नाफा घट्यो, लाभांश वितरण गर्न नसक्ने अवस्थामा बैंक

काठमाडौं । साउनको अन्तिम साता बैंक तथा वित्तीय संस्थाहरूले धमाधम आफ्नो अपरिस्कृत वित्तीय वितरण सार्वजनिक गर्न थालेका छन् । गत वर्षभन्दा केही ढिलो गरी सार्वजनिक गरेका बैंकहरूको वित्तीय विवरणले बैंकहरूको नाफा खुम्चिएको देखाएको छ । कोभिड–१९ का कारण भएको लकडाउनका कारण आर्थिक गतिविधि हुन नसक्दा यसको प्रत्यक्ष असर बैंकहरूले आर्जन गर्ने नाफामा देखिएको हो ।

 बैंकहरूको नाफा घटेसँगै सेयर धनीले पाउने लाभांश खुम्चने तथा कतिपयले बैंकहरूले यस वर्ष लाभांश दिनै नसक्ने अवस्था समेत आउने देखिएको छ । 
आजै वित्तीय विवरण सार्वजनिक गरेको नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक र सबैभन्दा पहिला वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बैंकको नाफामा समेत गिरावट आएको छ । सिद्धार्थ बैंक, बैंक अफ काठमााण्डूले पनि अघिल्लो आवको जति पनि नाफा आर्जन गर्न सकेका छैनन् । वाणिज्य बैंकहरूको मात्र होइन वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकको अवस्था पनि उस्तै देखिएको छ ।

नबिल बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरणमा गत वर्षकोभन्दा १५.८३ प्रतिशत (६७ करोड रुपैयाँ)  नाफा घटेको हो । बैंकले गएको आवमा ३ अर्ब ५६ करोड रुपैयाँमा कमाएको छ । अघिल्लो आवमा बैंकको नाफा ४ अर्ब २३ करोड रुपैयाँ थियो ।

सिटिजन्स बैंक इन्टरनेशनले पनि अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा २३.७३ प्रतिशत कम नाफा आर्जन गरेको छ । बैंकले गएको आर्थिक वर्षमा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । सो नाफा अघिल्लो आर्थिक वर्षभन्दा २२.२१ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ४९ लाख रुपैयाँ अर्थात ७.३० प्रतिशत कम हो ।
नेपाल बैंकले आर्थिक वर्ष २०७६÷७७ मा दुई अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा भने बैंकले दुई अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कोभिड १९ का कारण चार महिना व्यवसाय प्रभावित भएपछि बैंकहरूले नाफा घटेको हो । बैंकहरूको खुद नाफा घटेपछि अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिने भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरूले आर्थिक गतिविधिको पाटोमा कारोबार गर्न नपाएपछि खुम्चिएको नाफाका कारण यो आर्थिक वर्षमा लगानीकर्ताले लाभांश नपाउने निश्चित भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकलाई यस वर्ष लाभांश बाड्न गाह्रो हुने बताए । 

कोभिड १९ का कारण सिर्जित अवस्थाले गर्दा बैंकहरूले पछिल्लो चार महिना निक्षेप स्वीकार गर्ने बाहेकका काम गर्न नसक्दा बैंकहरूको नाफामा घटेको हो । नियमित बैंकहरूले गर्ने कार्य गर्न नपाउँदा अधिकांश बैंकहरू लगानीकर्तालाई लाभांश बाड्न नसक्ने वा कममात्र प्रतिफल दिने अवस्थामा पुगेको नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए 

‘सेयरधनीहरूलाई दिइने प्रतिफल पक्कै पनि यो वर्षमात्र नभइ आगामी एक वर्ष पनि कम हुने देखिएको छ,’ उनले भने ‘अब लगानीकर्तालाई प्रतिफल दिन कस्ट व्यवस्थापनदेखि नयाँ व्यापार व्यवसाय विस्तार गर्नेे रणनीति लिनुपर्ने हुन्छ ।’ 

कोभिडको कारण पुराना कर्जा उठ्न नसक्दा बैंकहरुको प्रतिसेयर आम्दानी घटेको छ भने खराब कर्जा बढेको छ । गत चैत ११ देखि लकडाउन भएर साउन ७ गतेदेखि हटेको लकडाउन आज २९ गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जान समेत रोक लगाएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा अहिले सरकारले  पुनः कडाइ गर्न थालेको छ । यसको असर अझै पनि बैंकिङ क्षेत्रमा रहन्छ । बैंकका कर्मचारीमा समेत कोरोना भाइरस देखिएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले त ‘वर्क फ्रम होम’ लाई जोड दिएको छ । बैंकहरूले सोही अनुरुप कार्य सम्पादन शुरु गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस