
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २२.६३ प्रतिशतले घट्यो घटेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्नुका साथै इन्पेरिमेन्ट चार्ज बढ्दा खुद नाफा घटेको हो। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा बैंकले ६५ करोड २३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५३।०९ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३९ करोड रूपैयाँ वितरण योग्य नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४१ करोड ३३ लाख रुपैयाँ घटेर ५ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
त्यसैगरी, सञ्चालन मुनाफा ४९ करोड ७२ लाख रुपैयाँ घटेर ३ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
असार मसान्तसम्म बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।
हाल १४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४१ करोड रुपैयाँ छ। बैंकको पूँजी कोष अनुपात १३.२३ प्रतिशत रहेको छ भने कोषको लागत ६.३१ प्रतिशतबाट घटेर ५.८५ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको आधार दर ७.५१ प्रतिशत रहेको छ भने स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ।
प्रतिक्रिया दिनुहोस