
काठमाडौं । कोरोना महामारी कारण आर्थिक गतिविधि खुम्चिए पनि ग्लोबल आइएमई बैंकले नाफा बढाएर ३ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ । बैंकले आर्जन गरेको नाफा अघिल्लो आवकोभन्दा ३२ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७५/७६ मा दुई अर्ब ७६ करोड नाफा कमाएको बैंकले आव २०७६/७७ मा ११.५९ प्रतिशतले नाफा बढाएर तीन अर्ब ८ करोड रुपैयाँ पुर्याएको हो । बैंकको वितरण योग्य नाफा नै एक अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।
जनता बैंकलाई मर्ज गरेको ग्लोबल आईएमई बैंकले गत आवमा २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले निक्षेप संकलन ९२ अर्ब अर्थात ७६.६६ प्रतिशतले बढाउन सफल भएको देखिन्छ ।
बैंकले कर्जा लगानी पनि ८१ अर्बले बढाउन सफल भएको छ । अघिल्लो आवमा एक खर्ब ८ अर्ब कर्जा लगानी गरेको बैंकले गत आवमा भने एक खर्ब ८९ अर्ब पुर्याएको हो । बैंकले गत आवमा २० अर्ब ४५ करोड ब्याज आम्दानी गरेर १२ अर्ब २६ करोड ब्याज खर्च गर्दा ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
१८ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.२७ रुपैयाँ छ । बैंकको स्प्रेड दर ४.४३ प्रतिशत छ भने आधार ब्याजदर ८.४२ प्रतिशत छ । सीडी रेसियो ७३.१८ प्रतिशत रहँदा कस्ट अफ फण्ड भने ६.२१ प्रतिशत कायम छ । खराब कर्जा भने १.८० प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस