aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

२५ वाणिज्य बैंकले कमाए ४९ अर्ब ३८ करोड नाफा, ५ को नाफामा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
२५ वाणिज्य बैंकले कमाए ४९ अर्ब ३८ करोड नाफा, ५ को नाफामा वृद्धि

काठमाडौं । कोरोना महामारीले गर्दा अधिकांश बैंकहरूको नाफा घटेको छ भने ५ वटा बैंकलेमात्रै नाफा बढाएका छन् । कोरोना भाइरसका कारण थलिएका व्यवसायीलाई ब्याज छुट दिँदा बैंकको नाफा खुम्चिन हो । राष्ट्र बैंकले गत आर्थिक वर्षको ब्याज गणना गर्दा २ प्रतिशत विन्दुले घटाएर गणना गर्न निर्देशन दिएको थियो । त्यसैगरी, चैतसम्मको किस्ता तिर्नेलाई १० प्रतिशत ब्याज छुट दिन भनेको थियो । ब्याज छुट दिनु परेका कारण बैंकको नाफा खुम्चिएको हो ।  

कोभिडको असर न्यूनीकरण गर्न गरेको लकडाउनमा ६१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द भएको र सोही कारणले बैंकहरूले ५१ अर्ब ७५ करोड किस्ता तथा ब्याज उठ्न बाँकी रहेको छ । 

लकडाउनका बेला समेत अनेकौं विधि र प्रक्रियाबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्न दत्तचित्त रहेका बैंकहरुले अन्ततः नाफा बढाउन भने सकेनन् । अघिल्लो आर्थिक वर्षकोभन्दा २५ वाणिज्य बैंकमध्ये ५ वटाको मात्र नाफा बढेको छ अन्य २० वटा बैंकको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको भन्दा बढी नाफा कमाउने बैंकहरूकमा  एनआईसी एशिया बैंक, ग्लोबल आईएमई, एनसीसी, प्राइम र सेन्चुरी बैंक रहेका छन् । 
कृषि विकास बैंकले पर्सी आइतबार आफ्नो वित्तीय विवरण प्रकाशित गर्दैछ भो प्रभु बैंकले पनि सोही दिन प्रकाशित गर्ने बताइएको छ । हाल २७ वटा वाणिज्य बैंक छन् । 

कोभिड–१९ का कारण भएको लकडाउनका कारण आर्थिक गतिविधि हुन नसक्दा यसको प्रत्यक्ष असर बैंकहरूले आर्जन गर्ने नाफामा देखिएको हो ।  बैंकहरूको नाफा घटेसँगै सेयर धनीले पाउने लाभांश खुम्चने तथा कतिपयले बैंकहरूले यस वर्ष लाभांश वितरण नसक्ने अवस्था समेत आउने देखिएको छ । 

बैंकको नाफा घट्नुको अर्को कारण भनेको राष्ट्र बैंकले लिएको नीतिगत व्यवस्था पनि हो । गत आर्थिक वर्षको मौद्रिक नीतिले कर्जा तथा निक्षेपको अनुपात (स्प्रेडदर) मा अंकुश लगाएको थियो । गत आवको अन्त्यसम्म राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरूलाई ४.४ प्रतिशतमा स्प्रेड दर झार्नुपर्ने नीतिगत व्यवस्थाका कारण पनि बैंकहरूको नाफा घट्न सहयोग गरेको हो । त्यसअघि बैंकहरूले उच्च स्प्रेडदर राखेर नाफा कमाउदै आएका थिए । 

कोभिड र स्प्रेडदरका कारण अघिल्लो आवको भन्दा कम नाफा कमाएका बैंकहरूको नाफा यस आवका अझ खुम्चने देखिएको छ ।  गत आवसम्म सेवा शुल्क बापत बढी रकम उठाउँदै आएका बैंकहरूलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले वाणिज्य बैंकले अधिकत ०.७५ प्रतिशत, विकाश वैंकले १ प्रतिशत र लघु बित्तले १.५ प्रतिशतभन्दा वढी सेवा शुल्क लिन नपाउने व्यवस्था  गरेको छ । सो कारण बैंकहरूको नाफा अझ घट्ने देखिएको छ । 

अघिल्लो आवमा २५ वटा वाणिज्य बैंकहरूले ५६ अर्ब ५८ करोड नाफा कमाएका थिए । सो नाफा गत आवमा खुम्चिएर ४९ अर्ब ३८ करोडमा सीमित भएको छ । 

गत आवमा सबैभन्दा बढी नाफा सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले कमाएको नाफा सम्भवतः सबै बैंकको भन्दा बढी हुन सक्छ । राष्ट्रिय वाणिज्य बैंकले गएको आवमा ४ अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बढी नाफा कमाएपनि यो नाफा गत आवको भन्दा ५९ करोडले कम हो । त्यस्तै गत आर्थिक वर्षमा तीन वटा वाणिज्यको बैंकले ३ अर्बभन्दा बढी नाफा गरेका छन् । ६ वटा वाणिज्य बैंकले २ अर्बभन्दा बढी नाफा कमाएका छन् । अन्य बैंकको नाफा भने १ अर्ब भन्दा माथि र दुई बैंकको अर्बभन्दा तल रहेको छ ।  

प्रतिक्रिया दिनुहोस