
काठमाडौं । नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बैंकहरुको नाफा घट्दैमा केहि नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बैंकिग विभागले आयोजना गरेको मौद्रिक नीति र कार्यान्वय विषयक भर्चुअल छलफल कार्यक्रममा बोल्दै डिपुटी गभर्नर शिवाकोटीले यस्तो बताएका हुन ।
बैंकहरूको अहिले सार्वजनिक गरिरहेका वित्तीय विवरणमा केहि नाफा घटेको भएपनि कुनै पनि बैंक नकारात्मक भने हुन नहुने उनले बताए । ‘नाफा घट्दैमा आत्तिनु पर्दैन,’ उनले भने ‘नकारात्मक अवस्थामा भने जान हुँदैन ।’बैंकहरुले धेरै कमाए भन्न गुनासो आइरहेको बेलामा राष्ट्र बैंकका डिपुटी गर्भनर शिवाकोटीले बैंकहरूको पार्टफोलियो बढ्दै गएको र अब बैंकहरूको लगानीमा पनि वृद्धि भइरहेकाले बैंकले धेरै कमाएभन्ने गुनासो नगर्न आग्रह गरे ।
उनले व्यवसायीका व्यवसायको क्रेडिट रेटिंगका लागि नयाँ कार्यविधि बनारहेको जानकारी समेत सो अवसरका गराए । सबै व्यावसायीहरूले बैंक रहेमामात्र व्यवसाय रहन्छ भन्ने तर्फ ध्यानदिन समेत आग्रह गरे । व्यवसायीहरुका गुनासा र बैंकले व्यवसायीलाई राष्ट्र बैंकले दिएका निर्देशनहरु पालना नगरेको पाइएमा उजुरी हाल्न अनुरोध गरेका थिए । राष्ट्र बैंकले सहूलियत दिएर मर्जरमा जान मौद्रिक नीतिमा नै व्यवस्था गरेको र अब यो हुँदा पनि मर्जर नगएमा अर्को वर्ष बाध्यकारी मर्जको नीति पनि राष्ट्र बैंकले लिनुपर्ने हुन सक्ने शिवाकोटीले बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंक रहेन भने उद्योग पनि रहँदैन भन्दै बैंक बचे व्यवसाय बच्छ भन्ने अवधारणाबाट सबैले सबैलाई माथि उकास्ने कामगर्ने बेला भएको बताए । उनले भने, ‘उद्योगीहरू भनेको बैंक सञ्चालक हुन्, उद्योगी नभए बैंक पनि चल्दैन, त्यसैले बैंक र उद्योग सञ्चालक मिलेर जानु पर्छ, व्यवसायीहरूलाई बैंकले दिनु पर्ने सुविधाहरू दिएन भने नेपाल बैंकर्स संघ मार्फत उजुरी गर्न सक्नुहुन्छ ।’
बैंकहरुले धेरै नाफा गरे भन्ने गुनासोमा उनले भने, राष्ट्रिय वाणिज्य बैंकले आफ्नो पुँजीको २३ प्रतिशत कमाएको छ भने सिभिल बैंकले ४ प्रतिशत यो कसरी गैरकानुनी भयो, उनले प्रश्न गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रको मागहरू मौद्रिक नीतिमा परेको भएपनि कार्यान्यवनपक्ष सधै फितलो हुने गरेकाले कार्यान्वयमा नियामक निकायले ध्यानदिन आग्रह गरेकी थिइन ।
त्यस्तै कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले नीतिमा भने पनि बैंकहरूको कार्यान्वयन पक्षलाई लिएर धेरै व्यवसायीहरूको गुनासो आइरहेको बताएका छन् । पुनकर्जाका विषयमा धेरै उद्योगीहरूको गुनासो महासंघमा पनिआइरहेकाले यसमा बैंकहरू र राष्ट्र बैंकले समेत विशेष ध्यानदिन पर्ने बताए ।
कार्यक्रमा बोल्दै महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिडका कारण सबै क्षेत्रमा असर परेको हुनाले यसलाई माथि उकास्न बैंकर्स र उद्योगीसँगसँगै लाग्नु पर्ने धारणा राखेका थिए । उनले भने, ‘विश्वभरी फैलिएको यो महामारीले साना ठूला सबै व्यवसायीलाई असर गरेको छ यसबाट पार पाउन सबैले हालेमालो गरियो भने मात्र निस्कन सकिन्छ नत्र यहाँ बैंक डुब्नु भनेको उद्योग पनि डुब्नु हो ।’
महासंघका उपाध्यक्ष किशोर प्रधानले ७७ जिल्लाका उद्योगीहरू लकडाउनका कारणले मारमा परेको र देशमा रोजगारीलाई यथावात राख्न र बैंक तथा वित्तीय संस्थाहरूलाई पनि बचाउनका लागि सरकारले ल्याएको मौद्रिक नीतिको अक्षरस पालना गराउन सबैले पहल गर्नुपर्ने बताए ।
महासंघका बागमति प्रदेश संयोजक दिनेश श्रेष्ठले धेरै बैंकहरूले अहिले पनि उद्योगी व्यवसायीहरूलाई दुःख दिइरहेको गुनासो गरेका थिए ।
धेरै बैंकहरूले उद्योगीको ऋण नवीकरण गर्नका लागि ५ प्रतिशतसम्म सेवा शुल्क लिइरहेको बताए । उनले भने, केही बैंकहरूले उद्योगीहरुको ऋणको नविकरण गर्न २ प्रतिशतदेखि ५ प्रतिशतसम्म शुल्क लिइरहनु भएको छ भने अर्कोतिर बैंकमा तरलता धेरै भन्ने सुनिन्छ, तर उद्योगीहरूले सहज रुपमा ऋण पाउने अवस्था भने अहिले पनि छैन । कार्यक्रम महासंघका बैंकिंग विभागका सभापति सौरव ज्योतिले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस