
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७२ करोड ३५ लाख रुपैयाँ अर्थात १७.२६ प्रतिशत कम हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा भने सो अवधिसम्ममा १ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानीमा ह्रास आएसँगै खुद नाफा पनि घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३७ करोड रुपैयाँ घटेको छ । अघिल्लो आवमा ७ अर्ब ६१ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले गत आवमा ६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ । बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८८ करोड १७ लाख रुपैयाँ घटेर ४ अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ ।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आवमा ४० रुपैयाँ ४५ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आवमा ३२ रुपैयाँ ८८ पैसामा झरेको छ । प्रतिशसेयर नेटवर्थ २३७ रुपैयाँ ५४ पैसा कायम भएको छ भने बैंकको मूल्य आम्दानी अनुपात ११.७१ गुणा कायम रहेको छ ।
१४ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र सेयरधनी कोषमा २ अर्ब १० करोड ४ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा बैंकको जगेडा कोषमा १० अर्ब ४८ करोड र सेयरधनी कोषमा ३ अर्ब ४२ करोड रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस