aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
लाभांश क्षमता

४ बैंकको लाभांश क्षमता अब्बल, कसले कति दिन सक्छन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
४ बैंकको लाभांश क्षमता अब्बल, कसले कति दिन सक्छन् ?

काठमाडौं । कोभिडका कारण थलिएको अर्थतन्त्रको गतिमा धक्का लागेपनि सन्तोषजनक खुद नाफा गर्न सफल भएका वाणिज्य बैंकहरूको वितरण योग्य नाफामा भने ठूलो धक्का लागेको छ । २७ वटा वाणिज्य बैंकको गत आर्थिक वर्षमा ३० अर्ब ८८ करोड रुपैयाँ वितरण योग्य नाफा गरेका छन् । बैंकहरूले गत आवमा गरेको नाफा अघिल्लो आवको भन्दा ३७.१८ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा सबैभन्दा बढी वितरण योग्य नाफा नबिल बैंकको रहेको छ । 

कोभिडको महामारीमा पनि ४ बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने भएका हुन् । बैंकले गत आवमा तीन अर्ब चार करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । यद्यपि बैंकको वितरण योग्य नाफा भने अघिल्लो आवको भन्दा घटेको हो । बैंकले अघिल्लो आवमा तीन अर्ब ७३ करोड वितरण योग्य मुनाफा रहेको थियो । 

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुलाई ३० प्रतिशत भन्दा बढी लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ । यो सीमाभन्दा धेरै लाभांश दिने क्षमता यो वर्ष नबिल बैंकसँग मात्रै छ । नबिलले यो वर्ष ३०.१३ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको जनाएको छ । १० अर्ब ९ करोड चुक्ता पुँजी भएको नबिलले ३ अर्ब ४ करोड रुपैयाँ लाभांश वितरण क्षमता रहेको  छ। नबिल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रहेको छ । अन्य बैंकहरूको भने यस्तो क्षमता २० प्रतिशत भन्दा पनि कम छ । एभरेष्ट, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १८ प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता रहेको छ । 

एभरेष्ट, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १८ प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता रहेको छ ।  ८ अर्ब ५१ करोडे चुक्ता पुँजी रहेको एभरेष्ट बैंकको वितरण योग्य मुनाफा एक अर्ब ६७ करोड रुपैयाँ रहेको छ । त्यस्तै नेपाल बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड छ भने २ अर्ब २१ करोड वितरण योग्य मुनाफा रहेको छ । आठ अर्ब एक करोड चुक्ता पुँजी रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरण योग्य नाफा एक अर्ब ५१ करोड रहेको छ । 
 

एनआईसी एशिया बैंकले पनि १४.८९ प्रतिशत लाभांश आफ्ना सेयर धनीलाई दिन सक्ने भएको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने वितरण योग्य मुनाफा एक अर्ब ४४ करोड रहेकोले सेयर धनीलाई करिब १५ प्रतिशतभन्दा केही कम लाभांश दिने क्षमता बैंकले राखेको हो । 

कृषि विकास बैंकले पनि १४.५२ प्रतिशत लाभांश दिने भएको छ । कृषि विकास बैंकसँगमा १४ अर्बको चुक्ता पुँजीमध्ये ६ अर्ब रुपैयाँ अग्राधिकार सेयर हो । जसको लाभांश ६ प्रतिशतमात्र हुने निश्चित गरिएको छ । सो लाभांश वापत हुने ३६ करोड रुपैयाँ छुट्याउँदा बाँकी एक अर्ब ३० करोड रुपैयाँमात्र लाभांश बाड्न पाउँछ । 

नबिलपछि नेपाल बैंकको वितरण योग्य मुनाफा बढी रहेको छ । नेपाल बैंकको वितरण योग्य मुनाफा एक अर्ब २४ करोडले घटेपनि गत आवको कारोबारबाट वितरण योग्य मुनाफा बाड्ने दोस्रो बैंक बनेको छ । बैंकको गत आवमा वितरण योग्य नाफा दुई अर्ब २१ करोड रहेको छ । अघिल्लो आवमा बैंकको वितरण योग्य मुनाफा तीन अर्ब ४५ करोड रुपैयाँ थियो ।

कोभिड प्रभावित उद्यमी व्यवसायीलाई छुट दिएका कारण बैंकहरूको वितरण योग्य मुनाफा घटेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । ‘यदि बैंकहरूले पछिल्लो त्रैमासको २ प्रतिशत विन्दु र चैतको ब्याजमा १० प्रतिशत छुट दिन नपरेको भए नाफा त्यति धेरै तल ओर्लिने थिएन,’ उनले भने ‘नेपाल बैंकले गत आवमा ३ अर्ब खुद नाफा गर्ने लक्ष्य तय गरेको थियो ।

कोभिड प्रभावितलाई ५५ अर्ब छुट दिँदा नाफा घट्न गएको हो ।’ नाफा नै घटेपछि वितरण योग्य मुनाफा त घट्ने नै भयो,’ उनले थपे ‘हाम्रो गत आवको कमाइ भनेको उद्यमी व्यवसायीलाई छुट दिएर कमाएको कमाइ हो ।’ खुद नाफामा वृद्धि गरेको ग्लोबल आईएमई बैंकको गत आवमा वितरण योग्य नाफा  एक अर्ब ७३ करोड रुपैयाँमात्र रहेको छ । अधिकांश बैंकको नाफा अघिल्लो आवको तुलनामा गत आवमा घटेपनि ग्लोबल आईएमई बैंकले भने नाफामा वृद्धि गरेको थियो । 

२७ वाणिज्य बैंकमध्ये १४ वटा बैंकको वितरण योग्य मुनाफा अर्बभन्दा माथि रहेको छ भने १० बैंकको वितरणयोग्य नाफा ५० करोडभन्दा बढी र ३ वटा बैंकको यस्तो नाफा सोभन्दा कम रहेको छ । नेपाल बंगलादेश बैंक, सिभिल बैंक र र सेन्चुरी बैंकको मुनाफा ५० करोडभन्दा तल रहेको छ ।
 

लाभांश क्षमता औसत ११ प्रतिशत

कोभिड–१९ का कारण थलिएको अर्थतन्त्रमा पनि सन्तोषजनक नाफा गरेका बैंकहरुको सेयरधनीलाई बाँड्न पाउने लाभांश रकम भने ज्यादै न्यून छ । ५३ अर्ब ९९ करोड रुपैंयाको खुद नाफामध्ये २७ वटा बैंकहरूले ३० अर्ब ८८ करोड रुपैयाँ मात्रै सेयरधनीहरुलाई बाँड्न पाउँछन् । २ खर्ब ८० अर्ब रुपैयाँ चुक्ता पुँजी भएका यी बैंकहरूको यो लाभांश करिब ११ प्रतिशतको हाराहारी मात्रै हो ।  राष्ट्र बैंकले वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पूँजी ८ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । दुई बैंकको चुक्ता पूँजी ८ अर्बकै हाराहारीमा छ भने अन्यको ९ अर्बभन्दा बढी छ । सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको रहेको छ । 

यस्तो छ  लाभांश बाड्न पाउने व्यवस्था

नाफा भएर पनि सेयरधनीलाई बाँड्न नपाएको पैसा बैंकहरूले नियामकीय (राष्ट्र बैंक) रिजर्भको रुपमा राख्नुपर्नेछ । यस्तो रकम बैंकमा एक वर्षसम्म हुनसक्ने सम्भावित नोक्सान वा जोखिमका लागि राखिएको हुन्छ । त्यस्तो जोखिम नदेखिएको अवस्थामा अर्को वर्ष सेयरधनीहरुले यस्तो रकम फिर्ता पाउँछन् ।

यसले गर्दा आगामी वर्षको लाभांश निर्धारणमा यो रकम सहयोगी हुन्छ । तर यो वर्षको लाभांशको लागि भने वितरणयोग्य नाफा नै प्रमुख आधार हो । सबै बैंकहरुले यो वर्ष थप रकम यस्तो कोषमा जगेडा राख्नुपर्ने भएका कारण लाभांश क्षमता कमजोर बनेको हो ।

त्यस्तो जोखिम नदेखिएको अवस्थामा अर्को वर्ष सेयरधनीहरुले यस्तो रकम फिर्ता पाउँछन् । यसले गर्दा आगामी वर्षको लाभांश निर्धारणमा यो रकम सहयोगी हुन्छ । तर यो वर्षको लाभांशको लागि भने वितरणयोग्य नाफा नै प्रमुख आधार हो । सबै बैंकहरुले यो वर्ष थप रकम यस्तो कोषमा जगेडा राख्नुपर्ने भएका कारण लाभांश क्षमता कमजोर बनेको हो । 


 

प्रतिक्रिया दिनुहोस