aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
आधार दर

कुन कुन बैंकले सस्तो ब्याजमा ऋण दिन सक्छन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
कुन कुन बैंकले सस्तो ब्याजमा ऋण दिन सक्छन ?

काठमाडौं । गत आर्थिक वर्ष सकिएसँगै बैंकहरूले आ–आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छन् । २७ वटै वाणिज्य बैंकको वित्तीय विवरण आइसकेको छ । बैंकहरूले वित्तीय विवरण सार्वजनिक गरेसँगै आम ग्राहकको चासो भने प्रतिसेयर आम्दानी र बैंकको ब्याजमा केन्द्रीत भएको देखिन्छ । बैंकहरूको ब्याजदर भने आधार दरका आधारमा निर्धारण हुने गर्छ । जति बढी आधार दर भयो त्यो बैंकको कर्जा त्यति नै मह्गो पर्छ भने जति कम आधार दर भयो उक्त बैंकले कम ब्याजमा ऋणीलाई कर्जा उपलब्ध गराउन सक्छ । 

आधार दर घट्दै जाँदा आम ग्राहकले सस्तोमा कर्जा पाउने नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘बैंकहरूले चाहेमा आधार दरमै पनि कर्जा उपलब्ध गराउन सक्छन्,’ उनले भने ‘ सामान्यतय आधार दरमा २ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्ने अभ्यास वाणिज्य बैंकहरूले गरेका छन् ।’ यद्यपि बैंकहरूले प्रकाशित गरेर ५ प्रतिशतसम्म पनि ब्याजदर थपेर लिने गरेको पाइन्छ । 

हालको बैंकहरूको कारोबारको भोलुम अनुसार ०.५ प्रतिशत प्रिमियमले बैंक सञ्चालन हुन सक्छ भने एक प्रतिशत लोन लस प्रोभिजिनमा राख्नुपर्ने हुन्छ । आधार दरमा २ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गरियो भने ०.५ प्रतिशत बैंकहरूलाई नाफा हुन्छ । हाल बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणलाई आधार मान्दा बैंकहरूले ग्राहकलाई एकल अंकमै अर्थात सोभन्दा केहि प्रतिशत माथिमा कर्जा उपलब्ध गराउन सक्ने अवस्था देखिएको छ । यसले मह्गो ब्याज तिर्दै आएका ऋणीलाई राहत मिल्ने देखिएको छ । 

राष्ट्रिय वाणिज्यमा सबैभन्दा सस्तो कर्जा

गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकले सरकारलाई बढी लाभांश बुझाउन नसकेपनि आम ग्राहकलाई भने सस्तो दरमा कर्जा उपलब्ध गराउन सक्ने भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ग्राहकहरू ग्राहकहरूलाई बढीमा ९.०५ र घटीमा ७.२५ प्रतिशतसम्म कर्जा दिन सक्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा कम आधार दर कायम गरेको छ । सो कारण आम ऋणीले कर्जा लिनकोे लागि सबैभन्दा सस्तो बैंक राष्ट्रिय वाणिज्य बैंक पर्छ । 

वाणिज्य बैंकले अब बेसरेट देखि बढीमा ९.०५ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउने राष्ट्रिय वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए । कर्जाको प्रकृति र भोलुभ हेरेर बैंकहरूले बेसरेटमा प्रिमियम थप गर्ने भएपनि राष्ट्रिय वाणिज्य बैंकहरूबाट भने आम ग्राहकले बढीमा ९.०५ प्रतिशतमै कर्जा पाउने छन् । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराइ राखेको छ ।

बैंकले ७.२५ प्रतिशतमा घर कर्जा उपलब्ध गराएको संस्थागत तथा साना मझौला कर्जा विभाग प्रमुख विनयरमण पौडेलले बताए । ‘आरबीबीको सबैभन्दा बढी प्रिमियम भनेको ३.२५ प्रतिशतसम्ममात्रै हो,’ उनले भने ‘अन्य लोनभन्दा टीआर लोन भने केही मह्गो पर्छ ।’ आरबीबीले ओभर ड्राफमा पनि १.२५ देखि ३.२५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्ध गराइ राखेको छ । 

नेपाल बैंकमा कतिमा पाइन्छ कर्जा ? 

गत आवदेखि बेसरेटमा एक प्रतिशतमात्र प्रिमियम थपेर घर कर्जा उपलब्ध गराइ रहेको नेपाल बैंकको वेस रेट (आधार दर) अझ घटेको छ । असारमसान्तमा बैंकको आधार दर ६.९९ प्रतिशत कायम रहेको छ । गत आवमा ७.९८ प्रतिशत रहेको बैंकको आधारदर करिब एक प्रतिशतले घटेपछि आम ग्राहकले अझ सस्तोमा कर्जा पाउने भएका हुन् । बैंकबाट बेसरेटमा ०.१० प्रतिशतदेखि ५.०४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्ध गराइ राखेको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए । 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि आधार दर ७ प्रतिशतमात्रै रहेको छ । उक्त बैंकले पनि ग्राहकलाई ५ प्रतिशत प्रिमियम लिएपनि बढीमा १२ प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सक्छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकपछि सस्तो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक पर्न सक्छ । बैंकको आधार दर ७.५१ प्रतिशत भएकाले सोही आधार दरदेखि बढीमा १२ देखि साढे १२ प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सक्ने देखिएको छ । 

२७ वटा वाणिज्य बैंकमध्ये २६ वटा वाणिज्यको बैंकको ५ देखि १० प्रतिशतभन्दा तल आधार दर रहेको छ भने कुमारी बैंकको आधार दर सबैभन्दा बढी रहेको छ । कुमारी बैंकको आधार दर १०.०८ प्रतिशत रहेको हुनाले ऋणीलाई कर्जा मह्गो पर्ने देखिएको छ । तर, बैंकले प्रतिस्पर्धी बजारमा टिक्नको लागि थोरैमात्र प्रिमियम लिएर आफ्ना ग्राहकलाई आकर्षण गर्न सक्ने अवस्था पनि छ । उसले यदि दुई प्रतिशतमात्र प्रिमियम लगायो भने १२. ०८ प्रतिशतमा आफ्ना ग्राहकलाई कर्जा उपलब्ध गराउन सक्छ । 
 

प्रतिक्रिया दिनुहोस