aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कृषिमै भविष्य खाेज्दै युवा

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • मंगलबार, ०२ भदौ २०७७
कृषिमै भविष्य खाेज्दै युवा

काठमाडाैं । नेपाल कृषि प्रधान देश हो । तर बैदेशिक रोजगारीका कारण धेरै युवाहरु विदेशिन पुग्दा यहाँको कृषि पेशामा निकै कम व्यक्तिहरुले चासो दिएको पाइन्छ । एक त लगानी गर्न पैसा हुँदैन यदि पैसाको जोहो भइ हाल्यो भने पनि युवाहरुको चाहना भनेको बैदेशिक रोजगार नै भएको पाइन्छ । 

तर कतिपय युवाहरु विदेशबाट फर्केपछि आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोच राख्ने गरेका पनि छन् । यसैको उदाहरणीय कार्य गरेका छन् कपिलवस्तुमा दुई जना युवाले । रुपन्देहीको सिद्धार्थनगर ८ का दानबहादुर जि.सी. र वाणगंगा ९ का मनबहादुर खड्काले वाणगंगा ९ पडेरियामा जि.सी पशुपन्छी तथा कृषि फर्म सञ्चालनमा ल्याएका हुन् ।

अहिले कडकनाथ, गिरीराज, अस्ट्रेलियन, फाईटर लगायत ८ जातका कुखुरा, चाईनिज र लोकल हाँस, टर्की तथा २ जातका बट्टाई खोरमा रहेको उनीहरु बताउँछन् । कडकनाथ कुखुराको मासुको माग बढेको तर माग अनुरुपको मासु बजारमा उपलब्ध नभएको हुँदा आफुहरुले बजारको मागलाई सकेसम्म पुरा गर्ने तर्फ लागिपर्ने जि.सी.बताउँछन् । 

कडकनाथ कुखुराको मासु कालो हुने र अन्य कुखुराको मासु भन्दा महँगो हुने उनले बताए । अरु जातका कुखुराका चल्ला १ सय देखी २ सय रुपैयाँ सम्ममा खरीद गर्न सकिन्छ भने कडकनाथ जातको चल्ला ५ सय रुपैयाँ पर्ने जि.सी.ले जानकारी दिए ।

खोर बनाउने कार्य सुरुगरेको करीब ४ महिना भई सकेको र हाल पन्छीको लागि प्रयाप्त ठाउँ भएकोले करीब २ महिना पछि कुखुरा बजारमा लैजान सकिने खड्काले बताए । माछा पोखरी हाललाइ सानो भएकोले माछा पोखरी पनि बढाउने उनीहरुको सोँच छ । बँगुर र बाख्राको लागि खोरको निर्माण भई रहेको र भदौको पहिलो हप्तामा बाख्रा र बँगुर पनि खोरमा राखिने उनीहरुको योजना रहेको छ ।

करीब १० कठ्ठा क्षेत्रफलबाट कार्य सुरुगरेका उनीहरुले हाल सम्म ३० लाख खर्च गरि सकेका छन् । बाख्रा र बँगुरको खोर निर्माणको काम सम्पन्न भएर बाख्रा र बँगुर र माछा पोखरी पूर्णरुपमा तयार हुदा सम्म ५० लाख  लगानी हुने उनीहरु बताउँछन् ।

वैदेशिक रोजगारीका क्रममा करीब ६ बर्ष खाडी मुलुकमा पसिना बगाएका मन बहादुर खड्काले  अब बगाउने पसिना आफ्नै मुलुकमा बगाउनु पर्छ भन्ने सोचेर यो काममा हात हालेको बताउँछन । त्यस्तै दानबहादुर जि.सी.ले आफ्नो ईलेक्ट्रोनिक (मोवाईल) विक्रिको कामलाई पनि निरन्तरता दिदै कृषि नै अवको आवश्यकता हो भन्ने लागेर कृषि पेशामा अग्रसर भएको बताउँछन् । सरकारी सहयोग पाएमा यो पेशालाई अझै बढाउदै लैजाने यी युवाहरुको योजना रहेको छ ।

अहिले उनीहरुले लोकल कुखुरा १ हजार, हाँस ५ सय, कडकनाथ कुखुरा २ सय, बट्टाई ५ सय, टर्की १ सय, सानो माछापोखरीमा २ हजार माछा बाट व्यवसाय सुरु गरेका छन भने छिट्टै नै १ सय बाख्रा र २० ओटा बंगुर राख्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस