
काठमाडौं । भदौ ४ गतेदेखि विक्री खुला भएको समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा १६ दशमलव ५२ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले बिहीवार बेलुका साझ ५ बजेसम्म ५३ हजार १०९ जना आवेदकबाट १३ लाख ३३ हजार ३९० कित्ताको खरिद आवेदन परेको हो । समाज लघुवित्तले ८० हजार ७०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको कुल ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।
यस आईपीओ खरिदका लागि आवेदन दिने अवधि छिटोमा भदौ ८ र ढिलोमा भदौ १८ गतेसम्म तोकिएको छ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्बा सेवा अनिवार्य गरिएकाले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तिय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ ।
समाज लघुवित्तको जारी पूँजी २ करोड रुपैया रहेको छ । हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी १ करोड १४ लाख रुपैया रहेको छ । सर्वसाधारणका लागि यो आईपीओ जारी पश्चात समाज लघुवित्तको जारी पूँजी अनुसारको रकम कायम हुनेछ । आईपीओ पश्चात संस्थापकतर्फ ५७ प्रतिशत र सर्वसाधारण तर्फ ४३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस