
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले तय गरेको सञ्चालक निर्वाचन प्रकृया स्थगित गरेको छ ।
कम्पनीको भदौ १३ गते हुने सातौं वार्षिक साधारण सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी दुई सञ्चालक निर्वाचन गर्ने कार्यक्रम रहेको थियो ।
कोरोना संक्रमणका विच सदस्यहरु आवत जावत गर्न सम्भव नभएको भन्दै कम्पनीको भदौ ४ गतेको बैठकले निर्वाचन प्रकृया स्थगित गर्ने निर्णय गरेको हो ।
निर्वाचन प्रकृया बाहेकका अन्य प्रस्ताव सहित सभा भने आयोजना हुने कम्पनीको भनाई छ । उक्त सभाबाट आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट ७ दशमलव ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित हुनेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १२ करोड २० लाखको आधारमा उक्त लाभांश दिन लागेको हो । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले गत चैत ४ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ३ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस