
काठमाडौं । एनएमबि बैंक र कञ्चन डेभलपमेण्ट बैंकले भदौ ७ गते आइतवारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । एनएमबि बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी एकिकृत कारोबार सुरु गरेको हो । गत माघ २६ गते प्राप्ती सम्बन्धी पहिलो सम्झौता गरेका यी बैंकहरुले बैंकले गत जेठ २५ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गर्न असार २१ गते विशेष साधारण सभा मार्फत प्रस्ताव पारित गरेको बैंकले नेपाल राष्ट्र बैंकको साउन २५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २८ गते स्वीकृति प्राप्त भएसँगै भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो । यस अघि एनएमबि बैंकले गत असोज ११ गतेदेखि ओम डेभलपमेण्ट बैंकसँग मर्जर प्रकृया पुरा गरी एकिकृत कारोबार सुरु गरेको थियो ।
ओम डेभलपमेण्ट बैैंकको १०० कित्ता शेयर बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर आदानप्रदान गरि एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक मर्जरमा गएका हुन ।
ओमसँगको मर्जरपश्चात वाणिज्य बैंकहरुमध्य सबैभन्दा बढी लाभांश दिन सफल यस बैंकले कञ्चनको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ती प्रकृया सम्पन्न गरेको छ ।
रू. १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार चुक्तापूँजी भएको एनएमबि बैंकले रू. ५८ करोड ४४ लाख ३० हजार चुक्तापूँजी रहेको कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेको हो । दुबै बैंक एक भएपश्चात चुक्तापूँजी रू. १४ अर्ब ५३ करोड ५३ लाख ३० हजार पुगेको छ ।
एकिकृत कारोबार सँगै एनएमबि बैंकको शाखा सञ्जाल प्रादेशिक संरचनामा विस्तार भएको छ । कञ्चनलाई प्राप्त पश्चात बैंकको शाखा कार्यालय १८६ पुगेको छ भने १३५ एटिएममार्फत सेवा प्रदान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस