
काठमाडौं । कोभिड संक्रमण बढ्दै गएपछि ऋणीहरू कर्जा लिनको लागि बैंक जानै छाडेका छन् । कोभिडका कारणले करिब दुई तिहाई उद्योगधन्दा पूर्ण रुपमा बन्द भएपछि सुस्ताएको कर्जा प्रवाहले साउन लागेपछि केही गति लिन थालेपनि पछिल्लो समय भने शून्य नै छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पछिल्लो समय उपत्यकामा कर्जा प्रवाह शून्य भएको बताए । ‘कोभिडको जोखिम बढ्दै गएपछि कर्जाको माग नै आएको छैन,’उनले भने ‘उपत्यका बाहिर केही फाटफूट कर्जा गएपनि काठमाडौं उपत्यकामा भने कर्जाको माग शून्य छ ।’
कोभिडका कारण अत्यावश्यक बाहेक अन्य सबै क्षेत्रमा निषेधाज्ञा गरिएको छ । अहिले उद्योगी व्यवसायीदेखि अन्य सर्वसाधारणको समेत ध्यान सुरक्षित कसरी हुने भन्नेमा छ । कर्जा लिएर व्यवसाय गर्ने अवस्थामा छैनन् । त्यसैले कर्जाको माग खासै बढ्न नसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘कोभिडको जोखिम बढ्दै गएपछि कर्जा लिने खासै नभएकोले तथ्यांक संकलनमा राष्ट्र बैंक लागेको छ ।’
राष्ट्र बैंकका अनुसार करिब एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट जम्मा ३ देखि चार अर्बमात्रै कर्जा प्रवाह भएको छ । लकडाउनदेखि नै बढ्न नसकेको कर्जा अहिले ठप्प जस्तै छ । अहिले बैंक तथा वित्तीय संस्थाबाट ३२ खर्ब ४८ अर्ब कर्जा प्रवाह भएको छ ।
पछिल्लो समय बैंकहरूले कर्जा प्रवाहमात्र होइन निक्षेप संकलन पनि त्यति गर्न सकेका छैनन् । कर्जा प्रवाह जस्तै साता÷दश दिनमा जम्मा तीन/चार अर्बमात्र निक्षेप संकलन भएका छ । अहिले बैंक तथा वित्तीय संस्थाबाट कु्ल ३९ खर्ब ३० करोड निक्षेप संकलन भएको छ ।
लगानी योग्य पुँजी थुपारेर बसेका बैंकर्सहरू लकडाउन खुले (असार–७) पछि केही खुशी भएपनि अहिले फेरि निरास बनेका छन् । साउन लागेसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको थियोे । साउन महिनामात्र वाणिज्य बैंकहले ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, भदौ लागेपछि अर्थात साउन अन्तिमदेखि फेरि कर्जाको माग शून्य जस्तै छ ।
कोभिडका कारण उद्योग व्यवसायको गतिविधि बन्द भएपछि बैंकिङ प्रणालीमा थुप्रिएको रकमको उचित सदुपयोग गर्न असार अन्तिम सातादेखि नै बैंकहरूले सस्तो ब्याजका विभिन्न स्कीम तथा योजनाहरू ल्याएका थिए ।
कोभिडले थलिएको अर्थतन्त्र उकास्न उद्यमी व्यवसायीहरूले जोखिम मोलेरै भएपनि साउनमा ११ अर्ब रुपैयाँ ऋण लिए । तर, भदौ लागेपछि फेरि निरास बनेका छन् । कोभिडको त्रास छ । कर्जा लिन बैंकसम्म जान सक्ने अवस्थामा उद्यमी व्यवसायी तथा सर्वसाधारण समेत छैनन् ।
फेरि आर्थिक गतिविधि नै ठप्प भएपनि कर्जा लिएर मात्र के गर्ने ? यस अघि लकडाउन भएका बेला भने बैंकहरूले पुँजी समायोजनका लागि भएपनि अन्तर बैंक कारोबार भएपनि गरेका थिए । होलसेलरहरूले केही कर्जा पनि लिएका थिए । अहिले यी सबै कार्य गर्न सम्भव देखिएको छैन । यद्यपि कतिपय बैंकहरूले कर्जा प्रवाहको लागि पनि अनलाइनबाटै डकुमेन्टहरू भेरिफाइ गर्ने काम भने गरिरहेका छन् ।
हाल बैकिङ प्रणालीमा २ अर्बभन्दा बढी रकम थुप्रिएको छ । साउनमा मात्रै १७ अर्ब निक्षेप संकलन भएको छ । बैंकहरूले १७ अर्ब निक्षेप संकलन गरेर ११ अर्ब कर्जा प्रवाह गरेका छन् । बैंकमा तरलता योग्य पुँजी थुप्रिएपछि साना तथा मझौला कर्जादेखि घर, गाडी, मार्जिन ल्याण्डिङलगायतका कर्जा सस्तोमा उपलब्ध लगाउन बैंकहरूको प्रतिस्पर्धा नै चलेको छ ।
प्रतिक्रिया दिनुहोस