
काठमाडौं । कोभिड महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भएको छ । आर्थिक गतिविधि कम भइरहेको यो बेलामा नेपालमा भने डिजिटल बैंकिङ कारोबारमा आम ग्राहकको अभ्यास बढ्दै गएको छ । कोभिडको कारण बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा जोड दिन भनेको र स्वयम् राष्ट्र बैंकले समेत यस्तो कारोबारलाई प्रोत्साहन गरेकाले यसको कारोबार बढेको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लकडाउनको अवधिमा डिजिटल उपकरणको प्रयोग उल्लेख्य रुपमा बढेको बताए । यो अवधिमा सबैभन्दा बढी आरटीजीएसको कारोबार भएको छ । कुल कारोबारमा आरटीजीएसको हिस्सा ८२.८९ प्रतिशत अर्थात २५६ खर्ब २ अर्ब रहेको छ ।
गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा ३०८ खर्ब ८५ अर्ब ४१ करोड रुपैयाँको डिजिटल कारोबार भएको छ । वैशाख महिनामा मात्रै ७३ खर्ब २२ अर्ब ९७ करोड रुपैयाँको विभिन्न कार्ड तथा आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, मोबाइल÷इन्टरनेटलगायतका बैकिङ कारोबार भएको छ । जेठमा सो कारोबार अझ बढेको छ । जेठ महिनामात्र १०९ खर्ब २ अर्ब ८३ करोड रुपैयाँको डिजिटल कारोबार भएको छ । असारमा अझ त्यो कारोबार बढेर १२६ खर्ब ५९ अर्ब ६० करोड पुगेको छ ।
यो अवधिमा सबैभन्दा बढी डिजिटल कारोबार आरटीजीएसमार्फत भएको छ । आरटीजीएसमार्फत वैशाखमा ६८ खर्ब ८८ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ भने जेठमा १०२ खर्ब ५१ अर्ब र असारमा ११४ खर्ब ६३ अर्ब रुपैयाँको कारोबार भएको छ । आरटीजीएसमार्फत असारमा ३७ हजार २ सय ९७, जेठमा २० हजार ८ सय १७ र वैशाखमाअ १४ हजार ९ सय ६८ पटक कारोबार भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
कारोबारका हिसावले भने सबैभन्दा बढी वालेटको प्रयोग भएको छ । बजारमा चलनचल्तीमा रहेका विभिन्न वालेटको माध्यमबाट रकमको कारोबार कम भएपनि कारोबार संख्या भने बढी भएको छ । यो अवधिमा वालेटबाट वैशाखमा ९६ लाख ३९ हजार २२८ पटक कारोबार भएको छ भने जेठमा एक करोड २ लाख ७५ हजार २९० पटक र असारमा एक करोड १ लाख ७९ हजार ५५७ पटक कारोबार भएको छ ।
यो अवधिमा इन्टरनेट र मोबाइल प्रयोगकर्ता पनि बढेका छन् । डेबिड कार्डको प्रयोग र कारोबार अन्य कार्डको तुलनामा केही बढेको देखिएको छ भने क्रेडिट कार्ड र प्रिपेड कार्डको कारोबार भने खासै धेरै भएको देखिदैन ।
प्रतिक्रिया दिनुहोस