aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
केन्द्रीय बैंकको अल्टिमेटम

सांग्रिला डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले भन्यो–‘छेउमै बसेर यस्तो काम गर्न सुहाउँदैन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
सांग्रिला डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले भन्यो–‘छेउमै बसेर यस्तो काम गर्न सुहाउँदैन्’

काठमाडौं, जेठ २० । सांग्रिला डेभलपमेन्ट बैंकमा सुशासनको कमी देखिएपछि राष्ट्र बैंकले सुशासन कायम गर्न अल्टिमेटम दिएको छ । बैंक सञ्चालक समितिमा नै रहेका व्यक्तिले आफ्ना नातेदारको नामबाट ऋण लिने र त्यस्तो ऋण आफंै चलाउन थालेपछि सुशासनको अभाव देखिएको हो ।

राष्ट्र बैंकले नियमित अनुगमन गर्दा उक्त बैंकमा यस्तो देखिएको हो ।  राष्ट्र बैंकले संग्रिला डेभलपमेन्ट बैंकलाई तत्काल सुशासन कायम गर्न निर्देशन दिएको छ  । कानुनविपरीत बैंकका सञ्चालकहरुले  घुमाउरो पारामा कम ब्याजदरमा शेयर धितोमा ऋण लिएको देखिएपछि राष्ट्र बैंकले उक्त बैंकलाई निगरानीमा राखेको हो। सञ्चालक समितिमा रहेका व्यक्तिले श्रीमती, छोरा, छोरी वा नातेदारको नामबाट कुनै पनि तरिकाले आफ्नो बैंकबाट ऋण लिन पाउँदैनन् । तर, सांग्रिला बैंकका सञ्चालकहरुले मिलेमतोमा त्यसरी ऋण लिएको पाइएको छ ।

‘राष्ट्र बैंकको छेउमै बसेर यस्तो काम गर्न सुहाउँदैन’ नियमित रुपमा नियमन गर्न सांग्रिला बैंक पुगेको राष्ट्र बैंकको टोली भनेको राष्ट्र बैंक स्रोतले बतायो  । 

सञ्चालकहरुले आफ्ना नातेदारको शेयर धितो राखी आफ्नै बैंकबाट ऋण लिएको पाइएको राष्ट्र बैंकको भनाइ छ । बैंक सञ्चालकका श्रीमती, छोरा, छोरी र नातेदारले शेयर धितोमा राखी ऋण लिँदा राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ  । सञ्चालक  घुमाइफिराइ आफ्नो नातेदारको नामबाट ऋण लिने गरेको पाइएको छ । 

सांग्रिला बैंकमा संस्थागत सुशासनको धेरै मुद्दा भेटिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । शुरुदेखि नै सञ्चालकले व्यवस्थापनमा हस्तक्षेप गरेकै कारण सुशासन बिग्रएको उनीहरूको ठहर छ  । 

बैंकका धेरैजसो उच्च व्यवस्थापनमा आफ्ना नातागोता र इष्टमित्र कर्मचारी भएकै कारणले पनि सुशासनमा समस्या देखिएको राष्ट्र बैंकले जनाएको छ  ।

‘सांग्रिला डेभलपमेन्ट बैंकमा सुशासनको समस्या छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘समस्या यथाशीध्र समाधान गर्न निर्देशन दिएका छौं  । तोकिएको मिति (तीन महिना) भित्र समस्या समाधान नभए कानुनअनुसार कारबाही गर्ने भनेका छौं ।’ 

बैंक व्यवस्थापन र सञ्चालक समितिको त्यस्तो व्यवहारप्रति खुसी देखिँदैनन् । अहिले सांग्रिला बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ छन् । 

‘सांग्रिला बैंकमा हरेक महिनाजस्तो सुशासनका नयाँ घटना देखिने गरेको छ,’ स्रोतले भन्यो–‘यो समस्या बढ्दो क्रममा छ  । ती समस्या निराकरणका लागि प्रभावकारी कदम नचालिए ठूलो समस्या नआउला भन्न सकिँदैन ।’

आफ्नै नातेदार वा परिवारजनका सदस्य र स्वार्थ बाझिने गरी कारोबार गर्दा संस्थागत सुशासन उल्लंघन हुने राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए 

राष्ट्र बैंक ऐन, बाफिया, कम्पनी ऐन र राष्ट्र बैंकको निर्देशन नम्बर ६ मा उल्लिखित व्यवस्था पालना नगरेकाले बैंकमा समस्या आउन थालेको हो  ।‘सांग्रिला डेभलपमेन्ट बैंकमा सुशासन मान्न नचाहने प्रवृत्ति धेरै छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । 

बैंक सञ्चालकको उच्च राजनीतिक तहसम्म उनीहरुको पहुँच रहेको र उच्च तहका राजनीतिज्ञबाट उनीहरूलाई संरक्षण रहेकै कारण सांग्रिला डेभलपमेन्ट बैंकमा सुशासन बिग्रिदै गएको राष्ट्र बैंकका कर्मचारीहरु बताउँछन् । 
 

प्रतिक्रिया दिनुहोस