
काठमाडौं । पछिल्लो समय नेपाली बैंकिङ प्रणालीमा प्रविधिको प्रयोग बढ्दै गएको छ । प्रविधिको विकास र विस्तारले सेवा प्रवाह र लिनेलाई सजिलो हुने भएकाले यसको प्रयोग व्यापक रुपले विस्तारित भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि आएको छ ।
केन्द्रीय बैंकले हालै गरेको नेपालमा वित्तीय पहुँच विस्तारै बढ्दै गएको छ । मोबाइल बैंकिङसँगै इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गएको चार वर्षमा ४ लाखबाट यस्ता प्रयोगकर्ता अहिले ९ लाख पुगेको अध्ययनले देखाएको छ । चेक र क्यासको सट्टा अनलाइन भुक्तानी तथा कारोबारप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको हो ।
बैंक तथा वित्तीय संस्थामा आम ग्राहकको ३ करोड २४ लाख ५४ हजारभन्दा बढी निक्षेप खाता रहेको छ । निक्षेपकर्ताले खोलेका खातामध्ये २ करोड ७७ लाख २४ हजार ७ सयभन्दा बढी खाता निक्षेप वाणिज्य बैंकमा रहेको छ भने ४० लाख ७५ हजारभन्दा बढी खाता विकास बैंक र ६ लाख ५४ हजार खाता फाइनान्स कम्पनीमा रहेको छ ।
गत आवको अन्त्यसम्म सवा तीन करोड निक्षेप खाता खोलेपनि कर्जा खाता भने १५ लाख ४४ हजार ५९ मात्रै रहेको छ । कर्जा होल्डरहरूले वाणिज्य बैंकबाट बढी कर्जा लिएका छन् भने त्यसको रेसियामा ३ लाख २ हजार कर्जा खाता विकास बैंकमा र ४५ हजार ३ हजार २९ खाता रहेको छ ।
यहि अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेर एक करोड १३ लाख ६ हजार ७ सय ९७ पुगेको छ । मोबाइल बैंकिङ कारोबारमा पनि वाणिज्य बैंकबाट कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोग कर्ता बढी छन् भने विकास बैंक र फाइनान्स कम्पनीका प्रयोगकर्ता क्रमशः कम छन् । प्राय सबैको हातमा मोबाइल भएको र मोबाइलबाट बैंकिङ कारोबार गर्दा आम ग्राहकलाई सहज भएकोले प्रयोगकर्ता बढेको हो ।
त्यसैगरी बैंकहरूले आम ग्राहकलाई सुविधा दिन चार हजार एक सय ६ एटीएम, ७३ लाख २९ हजार डेविट कार्ड, १ लाख ६० हजार क्रेडिट कार्ड, करिब ६४ हजार प्रिमेड कार्ड प्रयोगका ल्याएका छन् । यहि अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा बढेर ५ हजार ७ सय ८ पुगेको छ भने अझै ७ स्थानीय तहमा बैंक शाखा पुग्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस