
काठमाडौं । अहिले बैंकमा पैसा थुप्रिएको छ । लगानीका लागि बैंकहरूले नयाँ नयाँ अफरहरू सार्वजनिक गरिरहेका छन् । ब्याजदर घटाउनेदेखि सहज ढंगले ऋण प्रवाह गर्ने बैंकहरूको प्रतिवद्धता छ । अरु त अरु सहुलियत दरको ऋण समेत तोकिएअनुसार प्रवाह गर्न सकिरहेका छैनन् ।
यस्तो अवस्था कसरी सिर्जना भयो ? सो कुराको तथ्यांकगत जवाफ यसरी प्राप्त गर्न सकिन्छ । बैंकहरूले चैत्र महिनामा पहिलो पटक लकडाउन शुरु भएपछि ऋण प्रवाह गर्नै सकेनन् । त्यसबीच निक्षेप संकलन भइरह्यो । मानिसहरूले ब्याज र साँवाको किस्ता जसो तसो बुझाए । केहीले अझै बुझाउन सकेका छैनन् ।
राष्ट्र बैंकको तथ्याकंले देखाएअनुसार बैंक तथा वित्तिय संस्थाहरूले कृषि तथा वन क्षेत्रमा १५ खर्ब ७७ अर्ब १९ करोड ऋण २०७६ साल चैत्र महिनासम्ममा प्रवाह गरेकोमा २०७७ वैशाखमा त्यो घटेर १५ खर्ब ६८ अर्बमा झरेको थियो । जबकि २०७६ माघ महिनामा १५ खर्ब २० अर्ब मात्रै रहेको सो क्षेत्रको लगानी ५७ अर्बले दुई महिनामा बढेको थियो ।
त्यसैगरी, मत्स्यपालन, खानी क्षेत्रमा समेत त्यस्तै प्रवृति देखिएको छ । ऋण लिने महत्वपूर्ण क्षेत्रको रुपमा रहेको निर्माण तथा गैर खाद्य उत्पादन क्षेत्र समेतमा ठूलो गिरावट आएको तथ्यांकले देखाएको छ ।
लकडाउन शुरु भएपछि ऋण माग्नआउनेको कमिहुनासाथ बैंकहरुले व्याजदर घटाए ।तर, पनि उल्लेख्य रुपमा लगानी गर्न सकेनन् । चैत्र महिनामा औषत ११.२९ प्रतिशत ब्याजदरमा लगानी गरेको कृषि तथा वन क्षेत्र आर्थिक वर्षको अन्त्यमा आइपुग्दा १०.३७ प्रतिशत औषत ब्याजदरमा लगानी गर्न बाध्य भयो । तर, पनि सो क्षेत्रमा उल्लेख्य लगानी बढ्न भने सकेन ।
थोक तथा खुद्रा व्यापारीहरूले भने यो समयमा केहि ऋण लिए । बैंकहरूले ब्याजदर न्यून गरेको अवसरलाई उपयोग गर्दै यस्ता व्यापारीहरुले लिएको ऋण ५९ खर्ब ४० अर्ब चैत्र महिनासम्ममा रहेकोमा असार मसान्तसम्म सो बढेर ६० खर्ब ८ अर्बमा पुगेको देखिन्छ । त्यसबीच ११.८७ प्रतिशतको चैत्रको औषत ब्याजदर पनि घटेर १०.९८ प्रतिशतमा पुगेको देखिन्छ ।
उपभोग्य क्षेत्रमा चैत्रसम्ममा १३ खर्ब ७२ अर्ब रहेको सो घटेर जेठमा १३ खर्ब ११ अर्बमा झरेको थियो । तर, ब्याजदर १२.३४ प्रतिशत औषतबाट झरेर ११.४३ प्रतिशतमा आएका कारण असार महिनामा भने केहि बढ्यो ।
विद्युत, ग्यास र पानीमा चाहिँ कडाउनकोबीच समेत पूर्ववत गतिमा नै वृद्धि भएको देखिन्छ । लकडाउन अघि माघ महिनामा १३ खर्ब ५० अर्ब मा रहेको यो लगानी चैत्रमा १४ खर्ब ३४ अर्बमा पुग्यो भने असार मसान्तमा १५ खर्ब ३० अर्बमा पुगेको देखिएको छ । लकडाउकाबीचमा उपभोगमा खास कमि नआउने भएको क्षेत्र भएकाले यस क्षेत्रमा भएको लगानीले लय गुमाएको देखिदैन ।
लकडाउनको समयमा भएको प्रोडक्टवाइज लगानीलाई हेर्ने हो भने पनि अहिले बैंकमा अधिक तरलताको स्थिति कसरी देखापर्यो भन्ने स्पष्ट हुन्छ । चैत्र महिनामा ११.५५ प्रतिशतको औषत ब्याजदरमा ५८ खर्ब ७५ अर्ब ट्रम लोन लगानी रहेकोमा सो असार मसान्तमा ६० खर्ब ८३ अर्बमा पुग्यो ।
जबकी यसबीच औषत ब्याजदर भने १०.६० प्रतिशतमात्र रहेको थियो । मानिसहरूले घरायसी खर्चको लागि एक करोड भन्दामाथिको होम लोन समेत यो बीचमा बढ्न सकेन । चैत्र महिनामा २० खर्ब ८५ अर्ब रहेको यस्तो लगानी असारमसान्तमा समेत २० खर्ब ८५ अर्बमै रहेको देखिन्छ ।
यी सबै तथ्यहरूले देखाएको कुरा यो हो की बैंकहरूले नेक्षेप संकलन त गरे तर, लगानीगर्ने ठाउँ पाएनन् । उद्योगी व्यापारी तथा अन्यको ब्याज सस्तो हुँदा समेत ऋण लिएनन् । किनकी सबै प्रकारका व्यापार व्यवसाय यसबीच ठप्प थिए ।
अहिले बढेको चिन्ता के हो भने यसैगरि बैंकमा पैसा थुप्रिरह्यो र लगानी हुन सकेन भने अर्थतन्त्र कसरी चलायमान बन्ला ? यदि बैंकहरूले लगानी नै गर्न सकेनन् भने ब्याज कसरी तिर्लान ? । नेपालको बैंकिङ क्षेत्र कसरी टिक्ला ?
प्रतिक्रिया दिनुहोस