
काठमाडौं । बैंकहरूले कोभिड–१९ ले प्रभावित उद्योगी व्यवसायीलाई कर्जा लिन बोलाउन थालेका छन् । बैंकहरूले आ–आफ्नो साइटमा सूचना प्रकाशित गरेर प्रभावित व्यवसायीलाई पुनरकर्जा लिन बोलाएको हो । प्रभु बैंक, कुमारी बैंक, नेपाल बैंक, सनराइज बैंकले कर्जा लिनका लागि उद्यमी व्यवसायीलाई बैंकमा सम्पर्क भनेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले भने पुनरकर्जा लिन उद्यमी व्यवसायीले बताएका छन् ।
बैंकहरूले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्यता पुगेकाहरूले कर्जाका लागि बैंकमा सम्पर्क राख्न आग्रह गरेका हुन् । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् पुनरकर्जाको दायरा फराकिलो बनाउँदै महामारीबाट पीडित व्यवसायीलाई राहत दिन खोजेको हो । बैंकहरूले निश्चित समय तालिका दिएर आफूले सुविधा लिएको शाखा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कोभिड प्रभावितलाई राहत दिन पुनरकर्जा कोषको रकम बढाएर १०० अर्ब बनाएको छ । राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको हो । बैंकहरूले तोकेका कोरोनाबाट अति प्रभावित ऋणीले १ वर्षसम्म तथा मध्यम र न्यून प्रभावित क्षेत्र भनी तोकिएकाले अधिकतम ६ महिनासम्मको अवधि रहने गरी कर्जा पाउने छन् ।
नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित उद्योगी व्यवसायीलाई तीन वर्गमा वर्गीकरण गरेर नयाँ कार्यविधि ल्याएको छ । कार्यविधिले त्यस्ता व्यवसायीलाई ३ देखि ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरिएको छ । लघु, घरेलु तथा साना उद्यम व्यवसायीले पुनरकर्जामा बैंकहरूले ऋणीबाट ५ प्रतिशत ब्याज लिन पाउने छन् भने विशेष पुनरकर्जामा तीन प्रतिशत र साधारण पुनरकर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन् ।
उद्यमी स्वयम् संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा वर्गीकरण गरिएको छ ।
बैंकले समय समयमा कुनैक्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिने छ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम, व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई समेटेको छ ।
सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाखसम्मका कर्जाहरू, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका १५ लाखसम्मका कर्जाहरू पाउने छन् ।
प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्री वितरण, बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू उक्त कर्जाभित्र पर्दछन् ।
सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु, वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु , कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरूलाई विशेष पुनरकर्जामा राखिएको छ ।
जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, साधारण पुनरकर्जालाई साधारण पुनरकर्जाम राखिएको छ । डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू, पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्यहरू पनि यसमा समावेश गरिएको छ ।
पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू, कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरूले पुनरकर्जाको सुविधा पाउने छन् ।
त्यसैगरी लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र विशेष पुनरकर्जामा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जाको रुपमा वर्गीकरण गरिएको छ ।
पुनरकर्जा सुविधाको सीमाः
बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।
बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।
बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।
पुनरकर्जाका लागि अयोग्य कर्जाहरूः
कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू पुनरकर्जा अयोग्य मानिने छन् ।
व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु, पछिल्लो आर्थिक वर्षको औसत रिटन अन इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु, चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग÷व्यवसायलाई प्रवाह भएका कर्जाहरु र बैंकले समय समयमा तोकेका अन्य कर्जाहरु पुनरकर्जाको लागि अयोग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस