aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

पार्टी प्यालेसवालाको दुखेसो : बैंकले किस्ता तिर भनेर हैरान पार्यो, सरकारले जरिवाना तिरायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
पार्टी प्यालेसवालाको दुखेसो : बैंकले किस्ता तिर भनेर हैरान पार्यो, सरकारले जरिवाना तिरायो

काठमाडौं । बैंकहरूले किस्ता तिर्न ताकेता गर्न र सरकारले मासिक बुझाउनु पर्ने करको विवरण बुझाउन नसक्दा जरिवाना गर्न थालेपछि पार्टी प्यालेस तथा  क्याटरिङ व्यवसायीहरू चिन्तामा परेका छन् ।  बैंकबाट किस्ता तिर्न आउन भन्दै फोन आउन थालेकाले छ भने आन्तरिक राजस्व विभागले शुन्य करको विवरण नबुझाएको भन्दै भटाभट जरिवाना लिन थालेपछि सबै व्यवसायी अप्ठ्यारोमा परेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ अध्यक्ष लिलावहादुर जिसीले बताए । व्यवसाय सञ्चालन नभएका कारण आम्दानी व्यवसायीहरूले एकातिर बैंकको किस्ता बुझाउन सकिरहेको छैन भने अर्को हरेक महिना बुझाउनु पर्ने कर विवरण नबुझाउँदा जरिवानामा परिरहेका छन्,’ उनले भने ।

व्यवसाय सञ्चालन नभएका बेला विभागलाई प्रत्येक महिना शुन्य विवरण भने पनि बुझाउनु पर्ने व्यवस्था छ ।  सो विवरण बुझाउन लकडाउनका कारण व्यवसायीहरूले सकेनन्, यसैमा  आन्तरिक राजस्व विभागले व्यवसायीहरूलाई जरिवाना गरेको हो । देशभर  यो व्यवसायमा करिब ७ हजार व्यवसायी सम्लग्न छन् भने १६ अर्ब जति यसमा लगानी भएको छ । सो लगानीमध्ये ५० प्रतिशत बैंकको लोनमा सञ्चालित छन् । 

‘बैंकहरूले किस्ता तिर्न आउन भने पछि बैंकबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी चिन्तामा परेका छन्,’ उनले भने ‘सरकारले अन्य व्यवसायीलाई सुविधा दिएपनि हामीलाई केही सुविधा दिएको छैन ।’ जसको कारणले हामीलाई घर तथा पार्टी प्यालेस एवम् क्याटरिङमा उपयोग भएको जमिन र कर्मचारीलाई पाल्न साह्रै गाह्रो भएको दुखेसो उनले गरे । अहिले देशमा सञ्चालित यस्ता व्यवसायमध्ये १२० वटा जति बन्द हुने अवस्थामा पुगिसकेको उनले बताए ।

हाल उपत्यकामा बन्द हुने अवस्थामा पुगेका करिब १५ वटा पार्टी प्यालेस तथा क्याटरिङ सेवा छन् ।  राज्यबाट केही सेवा सुविधा नपाउँदा अर्बौको लगानी डुब्ने अवस्थामा पुगेको उनले बताए । व्यवसाय शुरु नहुन्जेल बैंकको ब्याज मिनाह गरिदिए हामी व्यवसाय सञ्चालन भएपछि साँवा र ब्याज दुबै तिर्न सक्ने अवस्थामा पुग्थ्यौ ।’ 

‘लकडाउन अघिदेखि नै (चैत ७) हामीले हाम्रो व्यवसाय बन्द गरेको हौं,’ अध्यक्ष जिसीले भने ‘ साउन ७ गतेभित्र किस्ता चुक्ता गर्न बैंकहरूले असारमै पत्र काटेर ताकेता गरे ।‘हामीले उहाँहरूसँग छलफल गरेर केहीले समय थप गर्यौ भने पहुँच नहुने केहीको समय थप हुन सकेन, बैंकको किस्ता बुझाउन नसक्दा, घर भाडा र कर्मचारीलाई तलव दिन नसक्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा व्यवसायी पुगेका हुन् । 

यो अवस्थामा व्यवसाय बिक्री पनि हुन सकिरहेको छैन भने सञ्चालन गर्न सक्ने अवस्थामा पनि व्यवसायी नभएका कारण यसको अन्य विकल्प नभएको उनले बताए । 

‘घर भाडा, जमिनको भाडा, कर तथा कर्मचारीलाई पाल्दा नै व्यवसायीहरू टाट पल्टिसकेका छन्,’ उनले भने ‘ दायित्व वहन गर्न नसक्ने भएपछि व्यवसाय नै बन्द हुने अवस्था पुगेको हो ।’ यसमा केही सहुलियत पाएको भए ती व्यवसाय बन्द हुने थिएनन् । यदि राज्यले सहुलियत दिएन भने ‘यी व्यवसायी र व्यवसाय  त डुब्छ नै अन्य व्यवसायी पनि त्यति दिशातिर उन्मुख हुनेछन् । ’

आन्तरिक राजस्व विभागले व्यवसायीहरूलाई करको शुन्य विवरण नबुझाएको भन्दै भटाभट जरिवाना गरिरहेको छ । अप्ठ्यारो परिस्थितिका कारण आफ्नो व्यवसायको विवरण बुझाउन व्यवसायीले चाहेर पनि सकेनन् । त्यसैको फाइदा उठाउँदै राज्यले सहुलियत दिनुपर्ने यस्तो अवस्थामा उल्टो  जरिवाना गरिरहेको छ । त्यसै त व्यवसाय बन्द हुँदा चिन्ताले डुबेका हामी यसले अझ मर्महात बनाएकोे छ । 

यो व्यवसायमा सम्लग्न कतिपय व्यवसायीहरूले अनलाइनबाट कर विवरण बुझाउन पाइन्छ भन्ने कुरा बुझ्नु भएको छैन भने कतिले यो प्रणाली चलाउन जान्न भएको छैन । सो कारणले पनि उहाँहरू दण्डिछ हुनु भएको हो । हाम्रो चाहना राज्यले यस्तो अवस्थामा हामीलाई जरिवाना गर्न हुँदैन भन्ने हो,’ अध्यक्ष जिसीले गुनासो गरे । 

सोही कारणले उपत्यकामा सञ्चालित करिब ७ सय व्यवसायमध्ये पनि अहिले नै १२ देखि १५ वठा बन्द हुने अवस्थामा पुगेका छन् । यदि राज्यबाट कुनै किसिमको सुविधा उपलब्ध भएन भने उपत्यकामा मात्रै ५० वटा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय बन्द हुन्छ,’ उनले भने । करिब १६ अर्ब जति लगानी रहेको यो व्यवसायले करिब ५० हजारलाई रोजगारी उपलब्ध गराइरहेका छ। यो व्यवसायबाट राज्यले करिब ३ अर्ब राजस्व प्राप्त गर्दै आएको थियो, सो राजस्व समेत गुमेको महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले बताए । 

‘यतिमात्र होइन हामीले कलेज पढ्ने २० देखि ३५ वर्ष उमेरका विद्यार्थीलाई रोजगारी दिलाएर दक्ष जनशक्ति पनि उत्पादन गर्न राज्यलाई सघाएका थियौं,’ प्रवक्ता पाण्डेले भने ‘ताकि उनीहरूले विदेशमा गएर दक्ष कामदारका रुपमा काम  गर्न पाएका छन् । कलेजहरूमा बीएचएम पढ्ने विद्यार्थीलाई हामीले पहिलो प्राथमिकतामा राखेर काम गरेका थियौं ।’ 

देशमा उत्पादन भएको २५ प्रतिशत कृषि उपज पार्टी प्यालेस तथा क्याटरिङ सेवाले उपयोग गर्दै आएका थिए । यो व्यवसाय बन्द भएपछि एकातिर कृषि उपजले उचित मूल्य पाउन सकेको छैन । 

अहिले व्यवसाय बन्द भएको ६ महिना भन्दा बढी भइसक्यो । व्यस्त बन्दै गएको मानिसको दिनचर्चालाई साँस्कृतिक कार्य गर्न पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायहरूले सहज बनाएका थिए । विवाह, व्रतबन्ध, पास्नी, संघसंस्थाका कार्यक्रमका लागि पार्टी प्यालेस र क्याटरिङले उपयुक्त स्थान बनेका थियो । 

यस्ता संस्कार गर्न तथा विभिन्न कार्यक्रमका लागि आममानिसको रोजाइमा परेको पार्टी प्यालेस नेपालमा लकडाउन शुरु हुनभन्दा अगाडिदेखि बन्द भएका छन् । सरकारले अन्य उद्योग व्यवसाय खोल्ने तयारी गरिरहे पनि पार्टी प्यालेस, क्याटरिङ , सिनेमाहल भने बन्द नै छन् । 
 

प्रतिक्रिया दिनुहोस