aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
अन्तर्वार्ता

‘म्युचल फन्डमा थोरै पुँजी भएका र समय दिन नसक्नेले लगानी गर्ने हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
‘म्युचल फन्डमा थोरै पुँजी भएका र समय दिन नसक्नेले लगानी गर्ने हो’

नवराज गिरी विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा लामो समय विभिन्न पदमा बसेर काम गरेका अनुभवी व्यक्ति हुन् । वित्तीय क्षेत्रसँगसँगै धितोपत्र बजारको समेत राम्रो ज्ञान राखेका गिरी पछिल्लो समयमा सीबीआईएल क्यापिटलको कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका छन् ।

धितोपत्र बजारमा कम्पनी छनोटदेखि लगानीकर्ताको पोर्टफोलियो म्यानेजको कामसमेत गरिरहेको सीबीआईएलले आफ्नो दोस्रो म्युचुअल फन्ड स्किम निष्काशन गरेको छ । नेपालको धितोपत्र बजार र शेयर बजारका लगानीकर्ताले बजारमा लगानी गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा गिरीसँग आर्थिकन्यूज डटकमले गरेको कुराकानी : 

वास्तवमा म्युचल फन्ड भनेको के हो ?
यसको परिभाषा नाममा नै छ । यो सानो पुँजी भएका धेरैभन्दा धेरै मानिसको सामूहिक कोष हो । लगानीकर्ताले शेयर बजारलगायतका वित्तीय कारोबारको लागि एक हजार रुपैयाँदेखि कोषको आकार हेरेर यसमा लगानी गर्न सक्छन् । 

यसको आवश्यकता किन त,  आफैं कारोबार गर्दा हुँदैन ?
हुन्छ । तर, समस्या कहाँ हुन्छ भने तपाई १–२ हजार लिएर दोस्रो बजारमा त शेयर खरिद गर्न जानु हुँदैन । त्यो भनेको त साधारण शेयरको लागि मात्र पुग्ने रकम हो । के त्यसो भए सानो पुँजी हुनेले शेयर कारोबार नै नगर्ने त ? हो, त्यही भएर धेरै जनाको पुँजी मिलाई एउटा ठूलो कोष बनाएर परिचालन गर्न यसको आवश्यकता पर्छ । 

म्युचल फन्डमा कस्ता मान्छे सहभागी हुन सक्छन् त ?
यस्तो फन्डमा गृहणी, विद्यार्थी, सानो व्यापार गर्ने, अवकाश प्राप्त व्यक्तिलगायत सानो पुँजी भएका मानिस सहभागी हुने गर्छन् । यस अलावा पर्याप्त समय नभएका, पुँजी बजारको राम्रो ज्ञान नभएका तर लगानी गर्ने पर्याप्त पुँजी भएकाहरु पनि यसमा सहभागी हुन्छन् । 
यसमा उहाँहरुको सहभागिता किन पनि जरुरी हुन्छ भने सानो पुँजीले महंँगा शेयर खरिद गर्न सकिन्न, जबकी नाफा त्यसैमा हुनसक्छ । तर, धरैको लगानी मिलाएर बनेको फन्डले त किन्न सकिन्छ नि नाफा हुने कम्पनीको शेयर ।

भनेपछि यसमा साना लगानीकर्ताको मात्र सहभागिता हुन्छ, होइन ?
त्यस्तो पनि होइन, मझौला तथा ठूला लगानीकर्ता जोसँग पैसा छ । तर, समय र शेयर बजारको ज्ञान छैन उहाँहरुले पनि यसमा सहभागी बन्न सक्नुहुन्छ । यसका अलावा बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो केही मुनाफालाई पुँजी बजारमा लगानी गर्न चाहेको खण्डमा त्यस्ता संस्थाले समेत हामीमार्फत लगानी गर्न सक्छन् । 

यसको अर्थ तपाईहरुले चाहिँ सही ठाउँमा लगानी गर्नुहुन्छ । यही भन्न खोज्नु भएको हो ?
हो, हामीसँग कुन कम्पनीमा कति लगानी कुन बेला गर्ने भन्ने कुराको अध्ययन गर्न छुट्टै टिम नै हुन्छ । हामीसँग भएको विज्ञ समूहले फन्डामेन्टल र टेक्निकल दुवै तरिकाले विश्लेषण गरेर लगानीको क्षेत्र र मात्रा तय गर्छन् । यो बेला कम्पनीको विगत र सञ्चालक क्षमताको पनि विश्लेषण गरिन्छ ।

तपाईंको भनाइमा यति सहज र उपयोगी देखिन्छ । तर, आम लगानीकर्ताको यसमा आकर्षण रहेको देखिँदै नि ? 
नेपालको समग्र पुँजीबजार नै भर्खर मात्र विस्तार हुँदैछ । यो विकासको चरणमा छ, पूर्ण विकसित हुन सकेको छैन । बैंकिङ क्षेत्र अब बल्ल विस्तारको क्रममा छ । बीमा कम्पनीहरुको पहुँच भर्खर १८ प्रतिशत पुग्दैछ । यस्तै शेयर बजारको स्थिति पनि उही हो । लगभग अढाई दशकको मात्र इतिहास हो हाम्रो । यी कारणहरूले गर्दा आममानिसलाई यसबारे ज्ञान नै छैन। अनि कसरी देखियोस् आकर्षण ? मानिसलाई म्युचल फन्डबारे जानकारी गराउनु आवश्यक छ । 

के तपार्इंहरु फन्डको सबै पैसा शेयर बजारमा मात्रै लगानी गर्नुहुन्छ ?
होइन, हामीले फन्डको १० प्रतिशत त फिक्स डिपोजिटमा राख्नै पर्छ । अनि बाँकी रहेको मध्ये पनि लगभग २० प्रतिशत डिभेन्चर, बन्ड आदिमा लगानी गर्छौं । त्यसो हुँंदा ७० प्रतिशत चाहिँ हामी शेयर मार्केटमा लगानी गर्छौं । हामीलाई यसबाहेक अन्य क्षेत्रमा लगानी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको पनि छैन ।   

तपाईं संलग्न कम्पनीले म्युचुल फन्डको दोस्रो नयाँ स्किम जारी गर्दैछ । पहिलो कस्तो रह्यो ? 
गएको असारमा हामीले पहिलो स्किम जारी गरेका थियौं । त्यो ८२ करोडको थियो । त्यसमध्ये हालसम्म हामीले ७० करोड जति लगानी गरिसकेका छौं । हाम्रो नेट एसेट भ्याल्यु (न्याभ) अर्थात् कुल सम्पत्ति मूल्यको वृद्धिदर ११.६ प्रतिशत छ । यो बजारमा हामी अग्रणी स्थानमा छौं भन्ने संकेत हो । यही सफलताले पनि हामीमा उत्साह थपेको हो । बजारमा धेरैजसो यस्ता स्किमहरु १० प्रतिशतभन्दा तलको वृद्धिमा रहँदा हामीले हासिल गरेको उपलब्धि मननयोग्य छ ।

 ‘हामीसँग कुन कम्पनीमा कति लगानी कुन बेला गर्ने भन्ने कुराको अध्ययन गर्न छुट्टै टिम नै हुन्छ । हामीसँग भएको विज्ञ समूहले फन्डामेन्टल र टेक्निकल दुवै तरिकाले विश्लेषण गरेर लगानीको क्षेत्र र मात्रा तय गर्छन् । यो बेला कम्पनीको विगत र सञ्चालक क्षमताको पनि विश्लेषण गरिन्छ ।’

यहाँ जोड दिनुपर्ने कुरा यो हो की हामीले त्यो स्किम शुरु गर्दा बजार निराशाजनक अवस्थामा थियो । यस्तो बेला त सफलता मिल्यो भने अब त बजार सुध्रेको अवस्था छ । हामीले १ अर्बको स्किम थाल्दा जम्मा ८२ करोड जम्मा गर्न पनि ठूलो मेहनत गर्नु परेको थियो । तर, हामीलाई हाम्रो व्यवस्थापनप्रति विश्वास छ । 

केही पाठ पनि सिक्नु त भयो होला नि?
हो, केही गल्ती भए हाम्रा स्क्रिप्ट छनोट गर्ने क्रममा । बजारको प्रवृतिको पछि लाग्यौं र केहीमा राम्रो गर्न सकेनौं । बजारमा कुनै स्क्रिप्टको मूल्य बढ्दा हामी पनि संँगै दगुर्यौं । त्यो गल्ती थियो भन्ने महशुस गरेका छौं ।

अनि दोस्रो स्किम सफल हुने आधारहरु के के हुन् ?
अहिले दोस्रो स्किम ल्याउँदै गर्दा हामी किन पनि धेरै उत्साहित छौं भने वातावरण अनुकुल बनेको बेला हामी काम शुरु गर्दैछौं । तर, हाम्रो सफलताको मूल आधार भनेको हाम्रो रिसर्च र एनलाइसिस् (अनुसन्धान र विश्लेषण) नै हो । 

हामी खरिद गर्ने हरेक स्क्रिप्टलाई सुष्म ढंगले अध्ययन गरेर मात्र लगानी गर्छौं । बजारमा त लगभग २ सय स्क्रिप्टहरु छन् । तर, हामी छानेर जम्मा ४०/५० वटामा मात्रैमा लगानी गर्छौं । हामी सेक्टर लिडरहरु हेर्छौं । व्यवस्थापन टिम हेर्छौं । अनिमात्र लगानी गर्छौं । हरेक कोणबाट गहन अध्ययन गरेर मात्र लगानी गर्ने हुनाले हामी सफल हुन्छौं भनेर विश्वस्त छौं ।

म लगानीकर्ताहरुलाई के पनि भन्न चाहन्छु भने हामीसँग राम्रो टिम छ । सफलताको प्रमाण छ । फेरि पनि सही लगानी गर्छौं भनेर तपाईंलाई हामीसँग सहकार्य गर्न अनुरोध पनि गर्दछु ।
 

प्रतिक्रिया दिनुहोस