
काठमाडौं । चौतारी र आरम्भ माइक्रोफाइनान्स एक आपसमा गाभिने भएनका लागि सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकबीच दुई माइक्रोफाइनान्स कम्पनीबीच मर्जरमा जाने सहमति भएको हो ।
एक बराबर एक को अनुपातको शेयर स्वाप रेसियोमा गाभिने सहमति भएको छ । गाभिएपश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा संयुक्त कारोबार हुनेछ ।
चौतारी लघुवित्तको केन्द्रिय कार्यालय बुटवल र आरम्भ माइक्रोफाइनान्स काभ्रेको बनेपा रहेको अब मर्जर पश्चात राष्ट्रिय स्तरको कार्यक्षत्र हुने छ । अब केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहनेछ ।
सञ्चालक समितिको अध्यक्षमा चौतारी लघुवित्तका अध्यक्ष जगतबहादुर पोखरेल र अन्य सञ्चालकहरुमा चौतारीबाट ४ जना र आरम्भबाट २ जना रहे सम्झौतामा उल्लेख छ । त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा चौतारीकै लक्ष्मण घिमिरे रहनेछन् ।
आरम्भ माइक्रोफाइनान्सको चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ भने चौतारी लघुवित्तको १८ करोड ६० लाख रुपैयाँ रहेको छ । अब यी कम्पनी आपसमा गाभिएपछि २४ करोड ६० लाख रुपैयाँ पुग्ने बताइएको छ । मर्जर पछि बन्ने कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकतर्फ ६३.६६ प्रतिशत र सर्वसाधारणतर्फ ३६.३४ प्रतिशत कायम हुनेछ ।
चौतारीले चालू आर्थिक वर्षको ९ महिनासम्म १ करोड ८५ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने आरम्भले यस अवधिमा ७६ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यसै वर्ष दुबै कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरेका थिए ।
आरम्भले ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय मर्जरका कारण हाललाई स्थगित भएको छ । यस कम्पनीले मर्जरपश्चात तत्काल ३० जिल्लामा ७७ शाखा कार्यालय मार्फत ६० हजार महिला सदस्यहरुलाई सेवा प्रदान गर्ने योजना बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस