काठमाडौं । पुँजी बृद्धिका लागि हकप्रद सेयर निस्कासनको अनुमति नपाएपछि लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्रिय तथा प्रादेशिकस्तरमा सञ्चालनका लागि निर्धारण गरेको पुँजी पुर्याउनका लागि लघुवित्त कम्पनीबीच मर्ज गर्ने लहर चलेको छ ।
हालसम्म एक दर्जनभन्दा लघुवित्त संस्थाले मर्जर प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेका छन् । ९ वटा संस्थाले मर्जरका लागि र ४ वटा संस्थाले एक्विजिसनको अनुमति लिएर प्रक्रिया अघि बढाएका छन् । यी संस्था गाभिएर ६ वटा राष्ट्रियस्तरका लघुवित्त बन्नेछन् ।
राष्ट्र बैंकका अनुसार किसान माइक्रोफाइनान्स, मिर्मिरे लघुवित्त र नागबेली लघुवित्तले एक आपसमा गाभिने सहमति गरेर प्रक्रिया अघि बढाएका छन् । यस्तै साधना र आर्थिक समृद्धि, कालिका र जनसेवी लघुवित्त वित्तीय संस्थाले मर्जरको सम्झौता गरिसकेका छन् । यसैगरी सारथी लघुवित्त संस्थाले सत्यवती लघुवित्तलाई र बोमीले र नागरिक लघुवित्तलाई खरिद गर्ने प्रक्रियासमेत अघि बढेको छ ।
बुधबारमात्र चौतारी र आरम्भ लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिनका लागि सम्झौता गरेका छन् । केन्द्रीय बैंकले पुस १३ गते निर्देशन जारी गर्दै लघुवित्त संस्थाहरुलाई राष्ट्रियस्तर या प्रादेशिक स्तरमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
जसअनुसार राष्ट्रियस्तरमा सञ्चालनका लागि १० करोड र प्रादेशिकस्तरका लागि २ करोड पुँजी पुर्याउनुपर्छ । यसअघि लघुत्तिहरु राष्ट्रियस्तर, क्षेत्रीयस्तर, १० जिल्ला र तीन जिल्ला कार्यक्षेत्र रहेर सञ्चालन गर्न सकिने व्यवस्था थियो । जसअनुसार राष्ट्रियस्तरका लागि १० करोड, क्षेत्रीयस्तरका लागि ६ करोड, १० जिल्लाका लागि २ करोड र तीन जिल्लास्तरका लागि १ करोड पुँजी हुनुपर्ने व्यवस्था थियो । आजको कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस