
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले तीन वर्षअघि हकप्रद विक्री गर्दाका समय वितरण हुन नसकेको शेयर लिलामीमा विक्री गर्न लागेको छ ।
बैंकले संस्थापकतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री खुला गर्न लागेको हो ।
असोज १८ गतेसम्म विक्रीमा रहने यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सकिनेछ ।
संस्थापक तथा सर्वसाधारणमधय कुन समूहको शेयरको आवेदन हो भन्ने स्पष्ट खुलाउनुपर्नेछ । बोलपत्रमा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ भने रू. १० लाखभन्दा बढी रकमको शेयर खरिदका लागि आवेदन गर्दा प्यान नम्बर पनि अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । मेगाको सर्वसाधारण शेयर दोस्रो बजारमा आइतवार न्यूनतम रू. २२९ देखि अधिकतम रू. २४१ सम्ममा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस