
काठमाडौं । उपत्यकाको चार कुनामा बन्न लागेको स्मार्ट सहरमा लगानी गर्न चार बैंकले ३० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरेका छन् । सिद्धार्थ, कुमारी, सानिमा र नेपाल बैंकले चार सहरमा तत्काल ३० अर्ब लगानी गर्नेआशय पत्र काठमाडौं उपत्यका विकास प्राधिकरणमा पठाएका हुन् ।
यी बैंकहरूले आवश्यकता अनुसार अरु पनि लगानी थप आशय पठाएकोप्राधिकरणका विकास आयुक्त डा.भाइकाजी तिवारीले जानकारी दिए । ‘चार बैंकबाट ती सहरहरूमा लगानी गर्न प्रतिवद्धता आइसकेको छ,’ उनले भने ‘उहाँहरूले आवश्यकता अनुसार अरु लगानी थप्ने पनि बताउनु भएको छ ।’
यी बैंकहरूले आफै लिडिङ बैंकको रुपमा रहेर परियोजना निर्माण कार्य अघि बढाउने योजना समेत बनाएका छन् । आवश्यकता परेका १५/१५ अर्ब रुपैयाँ लगानी गर्ने योजना ती बैंकहरूको रहेको आयुक्त तिवारीले बताए । नेपाल बैंकले वर्षको ५/५ अर्ब लगानी गर्ने बताएको समेत उनले जानकारी दिए ।
प्राधिकरणले एक दर्जनभन्दाबढी बैंकहरूका साथै कर्मचारी सञ्चयकोष,नागरिक लगानी कोष तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई लगानी गर्न आग्रह गरेको विकास आयुक्त तिवारीले बताए । यी बैंक तथा गैर वित्तीय संस्थाबाट भने अहिलेसम्म कुनै आशय नआएको उनले बताए ।
प्राधिकरणले चार सहरमध्ये काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण) र काठमाडौं हरित सहर (उत्तर) को डीपीआर स्वीकृतका लागि मन्त्री परिषदमा पठाउन सहरी विकास मन्त्रालयमा पठाएको छ ।सहर निर्माणका लागि ५ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको भएपनि अहिलेका लागि सवा खर्ब रुपैयाँ मै परियोजना अघि बढाउन सकिने विकास आयुक्त तिवारीले बताए । २ वर्षमा यो लगानी गरियो भने त्यसपछि त्यहिबाट लगानी आउन थाल्ने बताए ।
‘हामीले एक उपत्यकामा बन्न लागेका चार सहरमध्ये तीन सहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मन्त्री परिषदमा पठाएसँगै ती सहरमा लगानी गर्न बैंकहरूलाई आग्रह गरिएको हो,’ उनले भने ‘केही बैंकबाट लगानी गर्ने प्रतिवद्धता समेत भइसकेको छ ।’ प्राधिकरणले गत जेठ २५ गते तीन सहरको डीपीआर स्वीकृतीका लागि मन्त्रालय पठाएको हो ।
उपत्यकाको चार कुनामा बन्न लागेको चार सहरमध्ये तीन सहरमा लगानी गर्न सरकारी स्वामित्वको नेपाल बैंक र निजी लगानीको कुमारी बैंकले लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन् भने अन्य बैंकसँग पनि यस विषयमा छलफल भइरहेको आयुक्त डा. तिवारीले बताए । नेपाल बैंकले वार्षिक ३ अर्ब रुपैयाँको दरले ५ वर्षमा १५ अर्ब लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने कुमारी बैंकले ३ अर्बका दरले लगानी गर्दै जाने बताएको उनले बताए ।
प्राधिकरणले नेपाल इन्फ्रास्ट्रक्चर बैंक सहित राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका बैंकलाई लगानी गर्न आग्रह गरेको हो । सरकारले उपत्यकाभित्रको घना बस्तीको व्यवस्थापन गर्नका लागि उपत्यकाको चार कुनामा चार सहर निर्माण गर्न लागिएको हो ।
काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) मा बन्ने नयाँ सहरको डीपीआर भने अहिले मन्त्रीपरिषद्मा स्वीकृतका लागि अघि बढाइएको छैन । ललितपुर महानगरपालिकाका नगर प्रमुख(मेयर) चिरीबाबु महर्जन प्राधिकरणको प्राधिकरणअन्तर्गतको भौतिक विकास समितिको बैठकमा उपस्थित नभएका कारण अघि नबढाइएको हो ।
‘ललितपुरमा बन्न लागेको सहरको डीपीआर पनि अघि बढ्थ्यो,’ उनले भने ‘ललितपुर महानरपालिकाको मेयर साप तीन वटा मिटिङमा लगातार अनुपस्थिति रहनु भएका कारणले योजना अगाडि बढाउन नसकिएको हो ।’ तीन वटा सहरमध्य काठमाडौं इशानमा निर्माण हुन लागेको सहरमा एक लाख रोपनी जग्गामा हुनेछ । जसमा ५ वटा काठमाडौंका र तीन वटा भक्तपुरका नगरपालिकाहरू पर्ने छन् । भक्तपुरका चाँगुनारयण, ठिमी नगरपालिकाका केहि भाग र भक्तपुर नगरपालिकाका केहि भाग पर्ने छन् ।
काठमाडौं ईसान (पूर्व–उत्तर) परियोजनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटोसम्म, उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिणतर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटीलगायतका स्थान रहेका छन् ।
काठमाडौं आग्नेयको कुल क्षेत्रफल १५ हजार रोपनी रहेको छ । सूर्यविनायक नगरपालिकाको गुृन्डु बालकोट क्षेत्रमा १५ हजार रोपनीको योजना बन्दैछ । यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक वनलाई बाहिर पार्दै सहर जानेछ । पश्चिमतर्फ खहरेखोला, बालकोट–विरुवा सडक, पानी ट्याङ्की, अमरनगर लगायतका ठाउँ रहेको छन् । उत्तरतर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म यो सहरको परिधि रहेको छ ।
त्यस्तै काठमाडौं हरित सहर (उत्तर) को कुल क्षेत्रलफल पनि १४ हजार रोपनी रहेको छ । टोखा नगरपालिका र ताकेश्वर नगरपालिकाको १४ हजार रोपनीको अर्को योजना बन्दै छ । यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड चोकदेखि मनोरथ हुँदै महादेव खोलासम्मको क्षेत्र समेटिएको छ ।
काठमाडौं नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ । यसको पूर्वमा छ्यासीकोटदेखि फर्सिडोल, वागमती नदीको झोलुङ्गे पुलसम्म, पश्चिममा वागमती नदी, उत्तरमा साविकको सैंवु गाविसको सिमाना, दक्षिणमा बागमती नदीसम्मको क्षेत्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस