aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सन्दर्भ ब्याज

ब्याजदर घट्दा पुँजी पलायन हुने सम्भावन कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
ब्याजदर घट्दा पुँजी पलायन हुने सम्भावन कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताका कारण सहकारी तिर मोडिएका सर्वसाधारणले अब पैसा लगानी गर्ने नयाँ बाटो खोज्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थाले भन्दा बढी ब्याज दिँदै आएका सहकारीको ब्याजमा अंकुश लागेपछि सहकारी संस्थामा निक्षेप डिपोजिट गर्दै आएका निक्षेपकर्ताले प्रतिफल बढी आउने अन्य क्षेत्रमा आफ्नो पुँजीलाई परिचालन गर्ने सम्भावना देखिएको हो । 

बैंकमाजस्तै सहकारी निक्षेपकर्ताले पनि कम ब्याज पाउने भएपछि सहकारीमा रहेको निक्षेपमा घरजग्गा तथा अन्य विलाशिताको सामान खरिद गर्ने क्षेत्रमा पैसा जाने अर्थविद् डा.शंकर शर्माले बताए । ‘यस्तो अवस्था विशेषत देशबाट पैसा बाहिरिने सम्भावन बढी हुन्छ,’ उनले भने ‘अनुत्पादक क्षेत्रमा पनि लगानी बढ्छ ।’

यसका साथै सहकारीमा भएको निक्षेप अहिले बढ्दै गएको शेयर बजारलाई अझ बढाउन सहयोग पुग्ने पनि बताइएको छ । सहकारी भएको निक्षेपको ब्याजदर खुम्चिएपछि उनीहरुले सहकारीबाट रकम झिकेर अन्य क्षेत्रमा लगाउन सक्ने सम्भावना पनि देखिएको हो । प्रतिफल बढी आउने क्षेत्रमा लगानी जान सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । 

‘बैंकहरुले ब्याज घटाउँदा सहकारीमा आएजस्तै सहकारीले ब्याज घटाउँदा अन्य बढी आम्दानी हुने क्षेत्रमा लगानी जान सक्ने सम्भावना पनि छ,’ उनले भने, ‘बैंक, फाइनान्स, सहकारीको ब्याज घटदा जग्गा, शेयर बजार तथा विलाशिताका वस्तु खरिद तथा पुँजी पलायन भएको अनुभव छ,’ डा. शर्माले भने ।

बैंक तथा सरकारीमा निक्षेपकोे ब्याजदर कम भएपछि त्यो रकम शेयर बजारमा आउने निश्चित जस्तै भएको विज्ञहरूको भनाइ छ । ‘विगतमा पनि बैंक तथा वित्तीय संस्थाहरुले कम ब्याज दिँदा त्यस्तो रकम शेयर बजारतर्फ डाइभर्ट भएको थियो, अहिले पनि यस्तै अवस्था आउने शेयर लगानीकर्ताहरूले बताएका छन् ।

सहकारी विभागले निक्षेप र कर्जाबीचको ब्याज अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकेको हो । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा तल हुनुपर्ने बताइन् । 

उनले भनिन् ‘निक्षेपको ब्याजमा ‘क्याप’ लागेको होइन, सहकारीहरूले मुद्दती र बचतमा फरक फरक जति पनि ब्याज दिन सक्छन् ।’ उनीहरूले आफूले लिएको निक्षेपमा एक प्रतिशतमात्र सेवा शुल्क लिएर पनि कर्जा लगानी गर्न सक्ने उनले बताइन् ।

तर, कर्जाको ब्याजमा भने १४.७५ प्रतिशतभन्दा माथि जान नपाउने व्यवस्था गरिएको हो ।’ सो तोकिएको ब्याजमा सहकारीहरूले एक प्रतिशत सेवा शुल्क लिन पाउने छन् ।’ कसै कसैले दुई प्रतिशतसम्म पनि सेवा शुल्क लिन्छन् । दुई प्रतिशतभन्दा बढी सेवा शुल्क लिएमा भने सदस्यहरू स्वयम्ले कारवाही गर्न सक्नेछन् । 

अब सरकारले नै कर्जाको सन्दर्भ ब्याजदर तोकेपछि निक्षेपकर्ताले ८.७५ प्रतिशतभन्दा बढी दिन नपाउने व्यवस्था देखिएको छ । अहिले सहकारीमा निक्षेप जम्मा गर्नेले १० प्रतिशतसम्म ब्याज पाउँदै छन् । यसले निक्षेपकर्ताले बढी ब्याज नपाउने देखिएको छ ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार उक्त निर्णय गरेको छ । कार्तिक १५ गतेदेखि लागू हुने गरी सर्वसाधारणले सहकारीबाट कर्जा लिँदा १४.७५ प्रतिशत भन्दा बढी ब्याजदर दिन नपाउने व्यवस्था गरेको छ । 

निक्षेपको ब्याजदरमा अंकुश लगाएसँगै कर्जाको ब्याज दर पनि खुम्चिएको छ । सहकारीले ऋण लगानी गरेको रकममा पनि १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । यसअघि कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिएको थियो । 

ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने गरी कर्जाको ब्याजदर १४.७५ सन्दर्भ ब्याजदर तोकिएको सहकारी विभागले जानकारी दिएको छ । हाल देशभर ३४ हजार ८ सय ३७ वटा सहकारी सञ्चालनमा छन् सोमध्ये १४ हजारजति बचत तथा ऋण सहकारी संस्था रहेका छन् । ती सहकारीबाट वार्षिक ७ खर्बको कारोबार हुने गरेको उपाध्यक्ष मल्लले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस