aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
कर्जा

भदौमा ३ खर्ब १७ अर्ब कर्जा प्रवाह हुँदा पनि अझै चार सय अर्ब बैंकमा ऋण दिन मिल्ने रकम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
भदौमा ३ खर्ब १७ अर्ब कर्जा प्रवाह हुँदा पनि अझै चार सय अर्ब बैंकमा ऋण दिन मिल्ने रकम

काठमाडौं । बैंकिङ प्रणालीमा अझै चार सय अर्ब लगानी योग्य पुँजी रहेको बैकर्सहरूले बताएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको माग बढेपनि बैंकहरूले विभिन्न सेक्युरिटी फण्टमा गरेको लागनी र संकलन भएको निक्षेप सहित चार सय अर्ब लगानी गर्न सक्ने अवस्थामा देखिएका हुन् । 

नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले अहिले बैकिङ प्रणालीमा चार अर्ब लगानी योग्य पुँजी रहेको बताए । ‘अहिले हामी चार सय अर्ब लगानी गर्न सक्ने अवस्थामा छौं,’ उनले भने ‘दुई सय अर्ब निक्षेपबाट संकलन भएको रकम हो भने दुई सय अर्ब आइडल भएर बसेको पुँजी हो ।’ चालु आवको मौद्रिक नीतिले कुल निक्षेपको ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । एक/दुई प्रतिशत तलको सीसीडी रेसियो मेन्टेनका लागि राखेपनि अझै चार सय अर्ब लगानी गर्न सक्ने अवस्थामा हामी छौं,’ उनले थपे ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले बैंक तथा वित्तीय संस्थाले विभिन्न सेक्युरिटी फन्टमा गरेको लगानी र पुनरकर्जा समेत गणना गर्दा सो रकम लगानी गर्न सक्ने अवस्थामा बैंकहरू रहेको बताए । ‘अहिले बैंकहरूको कर्जा तथा प्राथमिक पुँजी र निक्षेपकोे अनुपात (सीसीडी रेसियो) ७३ प्रतिशतमात्रै छ,’ उनले भने ‘८५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।’ 

भदौ १७ गतेसम्मको तथ्यांक अनुसार वित्तीय प्रणालीमा ३९ खर्ब निक्षेप संकलन भएको छ भने ३३ खर्ब १७ अर्ब कर्जा प्रवाह भएको छ । पछिल्लो समय कर्जा प्रवाह बढे पनि अझै बैंकिङ प्रणालीमा एक सय ५६ अर्ब अधिक तरलता भएको उनले बताए । यो महिनाको १७ गतेसम्म करिब ३९ अर्ब कर्जा प्रवाह भएको छ भने ३१ अर्ब निक्षेप संकलन भएको राष्ट्र बैंकको तथ्यांक छ । उनका अनुसार पछिल्लो समय आर्थिक गतिविधि बढेसँगै कर्जाको माग विस्तारै बढ्दै गएको छ भने निक्षेप संकलन पनि ३१ अर्बले बढेको छ । 

दशैं तिहारजस्ता आर्थिक गतिविधि बढी हुने चाडपर्व नजिकिएपछि बैंक तथा वित्तीय क्षेत्रबाट कर्जा लिनेको संख्या हो । केन्द्रिय बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरी तरलता खिचेको छ । यो अवधिमा सरकराले २० अर्ब रुपैयाँ राष्ट्रिय ऋणको रुपमा बैकहरूबाट उठाएको छ । ऋण र खिचिएको निक्षेप गरी ५० अर्ब राष्ट्र बैंकले तान्दा समेत अझै बैंक तथा वित्तीय संस्थासँग १ सय ६४ अर्ब अधिक तरलता छ,’ उनले थपे । चार्डपर्वलाई लक्षित गरि आयात बढ्दा बैंकहरुको कर्जा लगानी पनि बढेको हो, आयात बढ्दै गएकोले अधिक तरलता पनि केहि घट्दै गएको प्रवक्ता डा.भट्टले बताए । 
   
पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा कर्जा प्रवाह बढ्दै गएको नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । गत सातामात्रै वाणिज्य बैंकहरूले १७ अर्ब कर्जा प्रवाह गरेका छन्,’ उनले भने ‘यो लगानी गत सातामात्रै भएको हो ।’ ‘पछिल्लो समय कर्जाको माग बढेको छ ।’ उनले भने ‘सम्भवत अधिक तरलता पुससम्म रहन्छ । यदि आर्थिक गतिविधि बढ्न सक्यो भने त्यसपछि फेरि लगानी योग्य पुँजीको अभाव हुन सक्छ ।’ 

बैंकहरूमा कर्जाको माग बढ्न थालेसँगै बैंकिङ प्रणालीमा तरलता पनि केहि घट्न थालेको छ । केहि साता अघिसम्म २ सय अर्बको हाराहारी रहेको अधिक तरलता १६४ अर्बमा झरेको छ । कोभिडका कारण सुस्त भएको कर्जाको माग पछिल्लो समय बढ्न थालेपछि पुसपछि फेरि लगानी योग्य पुँजी अभाव हुने आकलन बैंकरहरूले गरेका हुन् । दोस्रो त्रैमाससम्म अहिले रहेको अधिक तरलता नरहने बैंकर्सहरूले बताएका छन् ।  

बैंकर्स संघको यो संकेतले हरेक वर्ष जस्तै यस वर्ष पनि मंसिर, पुष महिनातिर बैंकिङ प्रणालीमा तरलता संकट देखिने सम्भावना बढेको छ । अहिलेसम्म करिब चार सय अर्ब लगानी योग्य पुँजी भएपनि यसले केही महिनालाई मात्र धान्ने उनीहरूको अनुमान हो । साउनसम्म कर्जा प्रवाह हुन नसक्दा बैंकर्सहरू टाउको समाएर कर्जा प्रवाह गर्ने सहज दिन कहिले आउला भनेर बसेका थिए । यो महिनामा भएको कर्जा प्रवाहले उनीहरूमा उत्साह थपे पनि फेरि लगानी योग्य पुँजी अभाव हुने हो कि भन्ने चिन्ताले बैंकहरूलाई पिरोल्न थालेको छ । यद्यपि केही बैंकले भने पछि पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै अहिले नै मुद्दती निक्षेपको ब्याजदर बढाएर ९ प्रतिशतसम्म पुर्याएका छन् । 

विगतका वर्षहरुको तुलनामा यस वर्ष कम कर्जा गएको र अझै बैकिङ प्रणालीमा प्रर्याप्त अधिक तरलता रहेकोले यस वर्ष लगानी योग्य पुँजी अभाव नहुने सोचमा बैंकहरू थिए । तर, कर्जाको माग भने विस्तारै बढ्दै गएको छ । राष्ट्र बैंकले घर तथा गाडी कर्जामा स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएपछि पछि कर्जाको माग बढेको छ । 


 

प्रतिक्रिया दिनुहोस