
काठमाडौं । कोभिडले थलिएका उद्यमी व्यवसायीले राष्ट्र बैंकबाट धमाधम पुनरकर्जा लिएर आफ्नो उद्यमलाई पुनरजीवित गरिरहेका छन् । चालु आवको यो अवधिसम्ममा राष्ट्र बैंकबाट पुनरकर्जामा मात्रै करिब ३ अर्ब कर्जा प्रवाह भइसकेको छ । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अहिले सम्म पुनरकर्जामार्फत करिब ३ अर्ब कर्जा प्रभाव भएको बताए । ‘कर्जाको माग आइरहेको छ,’ उनले भने ‘हामीले विशेष गरेर कोभिड प्रभावित उद्यमी व्यवसायीलाई प्राथमिकतामा राखेर पुनरकर्जा दिइरहेका छौं ।’ राष्ट्र बैंकमा सिधै आवेदन दिएर प्रदान गरिने पुनरकर्जामार्फत सो कर्जा प्रभाव भएको हो,’ उनले थपे ।
‘अहिले राष्ट्र बैंकसँग २ सय १२ अर्ब पुनरकर्जा दिन सक्ने अख्तियारी छ,’ उनले भने ‘राष्ट्र बैंकमा आएका निवेदनलाई हामीले प्रक्रिया पुर्याएर कर्जा प्रवाह गरिरहेका छौं ।’ उद्यमी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग परिसंघका बैकिङ कमिटीका संयोजक अनलराज भट्टराईले उद्यमी व्यवसायीहरूले कर्जा लिइरहेको बताए ।
राष्ट्र बैंकले कोभिडको उच्च जोखिममा परेका उद्यमी व्यवसायीलाई केन्द्रमा राखेर पुनरकर्जा उपलब्ध गराउन नयाँ पुनरकर्जा कार्यविधि, २०७७ कार्यान्वयनमा ल्याएको छ । पुनरकर्जाको लागि प्रयोग हुने स्रोतको ५ गुणासम्म बैंकहरूले कर्जा प्रदान गर्न सकिने व्यवस्था सहित पुनरकर्जा कार्यविधि ल्याइएको हो ।
कोरोना प्रभावित उद्यमी व्यवसायीलाई ५ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराउने राष्ट्र बैंकको नीति हो । पुनरकर्जा कार्यविधिअनुसार पुनरकर्जाको ब्याज लघु, घरेलु तथा साना उद्यम तथा साधारण पुनरकर्जा लिने उद्यमी व्यवसायीले ५ प्रतिशत तिरे पुग्छ भने विशेष पुनरकर्जा लिने उद्यमीले अझ ३ प्रतिशतमात्रै ब्याज तिरे पुग्नेछ । विशेष पुनरकर्जा पाउनेहरूले अन्य पुनकर्जाको भन्दा २ प्रतिशत कम ब्याज तिरे पुुग्नेछ ।
राष्ट्र बैंकले भने कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई १ देखि तीन प्रतिशतसम्म ब्याजमा यस्तो पुनरकर्जा उपलब्ध गराउँदै आएको छ । राष्ट्र बैंकले साधारण पुनरकर्जामा सबैभन्दा बढी ३ प्रतिशत र विशेष कर्जामा सबैभन्दा कम एक प्रतिशतमात्र ब्याज पाउने छ । लघु, घरेलु तथा साना उद्यममा प्रवाह भएको कर्जामा भने राष्ट्र बैंकले तीन प्रतिशत ब्याज लिने छ ।
बैंकबाट आह्वान गरी इजाजतप्रत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने कर्जा प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँ तोकिएको छ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।
बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन । साथै बैंकबाट आह्वान गरी लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।
कस-कसले पाउँछन् पुनरकर्जा ?
आर्थिक वर्ष २०७७/७८ को लागि ग्राहक ऋणीहरू छनोट गर्दा कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्राथमिकतामा राख्नुपर्नेछ । साथै बैंक तथा वित्त संस्थाले पुनरकर्जा सुविधा प्राप्त गर्ने ग्राहक ऋणीहरूको छनोट गर्दा न्यून आय भएका, व्यवसायमा स्थापित हुने प्रयासमा रहेका, सामाजिक, आर्थिक दृष्टिकोणबाट पछाडि परेका, महिला, दलित, आदिवासी, जनजाती, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, अल्पसंख्यक सीमान्तकृत, किसान र फरक ढंगले सक्षम व्यक्तिहरूबाट सञ्चालित उद्यम रव् यवसायलाई प्राथमिकता दिनुपर्नेछ ।
साधारण पुनरकर्जाका लागि जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू पुनरकर्जाको लागि योग्य मानिने कार्यविधिमा उल्लेख गरिएको छ ।
पुनरकर्जाका लागि को को अयोग्य ?
सरकारको पुनरकर्जा सुविधा २० प्रतिशतभन्दा बढी नाफा गर्ने संस्था र व्यक्तिगत ऋणीले उपयोग गर्न नपाउने भएका छन् । राष्ट्र पुनरकर्जा कार्यविधि सार्वजनिक गरी ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जा पुनर कर्जाको लागि अयोग्य हुने उल्लेख गरेको छ ।
पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्युटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले पनि पुनरकर्जा सुविधा उपयोयी गर्न पाउने छैनन् । साथै चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योगरव्यवसायलाई पनि पुनर कर्जाको लागि अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, उद्यम व्यवसायको लागि नभएर व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट, घर जग्गा, सवारी, घरायसी सामग्री, सुनचाँदी खरिदका लागि लिएका कर्जा पुनरकर्जाको लागि अयोग्य हुनेछन् । साथै मार्जिन कर्जा सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका ऋणीले पुनरकर्जा लिन पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस