
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गतेदेखि निष्कासन गरेको सात वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र असोज २० गतेसम्मका लागि विक्रीमा ल्याएको हो । कुल कित्तामध्य १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई विक्री गरेको हो भने. १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंक आफैले परिपत्र विधिबाट विक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याईएको मध्यबाट ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानीकोषको लागि छ्ट्याएको छ । बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । ऋणपत्र खरिदका लागि लगानीकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सिद्धार्थ बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमताको संकेत गर्ने इक्रा एनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ । यो ऋणपत्र खरिद गर्नेले तोकिएको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पनि यो ऋणपत्र सूचीकृत हुने हुदाँ खरिद विक्री समेत गर्न सकिने व्यवस्था छ । यो ऋणपत्र खरिदका लागि विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यो ऋणपत्र विक्री गर्न बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असोज १ गते स्वीकृति पाएको हो । वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य विक्री गर्नुपर्ने व्यवस्था बमोजिम सिद्धार्थ बैंकले यो ऋणपत्र विक्री गरेको हो ।
प्रतिक्रिया दिनुहोस