
काठमाडौं । दशैं नजिकिसकेको छ । अघिल्ला वर्षहरूमा यति बेला राष्ट्र बैंकलाई नयाँ नोट बाड्ने चटारो पथ्र्यो । तर, यस वर्ष कोभिडका कारण नयाँ नोट बाड्ने कि नबाड्ने अर्थात वितरण गरे कसरी गर्ने भन्ने पिरलो परेको छ । दशैं नजिकिएसँगै शुरु भएको यो विषयमा अहिलेसम्म निर्णय हुन सकेको छैन । नयाँ नोट बाड्दा कोभिड संक्रमण फैलेला भन्ने डर नबाड्दा आम उपभोक्ताको गुनासो, यस्तो च्यापमा राष्ट्र बैंक परेको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने ।
यो विषयमा विभिन्न चरणमा छलफल हुँदा कुनै निर्णय गर्न नसकेपछि राष्ट्र बैंकको सञ्चालक समिति बोर्डमा लैजाने प्रक्रिया अघि बढाउन लागिएको डेपुटी गभर्नर शिवाकोटीले बताए । ‘नयाँ नोट बाड्दा पनि नहुने नबाड्दा पनि नहुने देखिएपछि निर्णयका लागि बोर्डमा लैजाने छलफल भएको छ,’ उनले भने ‘यस विषयमा बोर्डले निर्णय गर्नेछ ।’
राष्ट्र बैंकले नयाँ नोट वितरणका विषयमा दुई एउटा मोडल बैंक तथा वित्तीय संस्थाको शाखाबाट आफ्ना खातावालालाई दिने र अर्को भनेको केही बोसन दिएर मोबाइलबाट दक्षिणा दिने व्यवस्था मिलाउने । राष्ट्र बैंकको बैकिङ कार्यालयबाट नयाँ नोट वितरण गर्दा कोभिडको जोखिम बढी हुने देखिन्छ । बैंक तथा वित्तीय संस्थालाई दिँदा पनि भिड केही कम भएपनि जोखिम रहने भएकोले यस विषयमा निर्णय गर्न नसकिएको हो ।
पहिले दशैँका लागिमात्र नयाँ नोट साटिने व्यवस्था भएपनि नोट सटहीलाई राष्ट्र बैंकले समावेशी बनाएर अन्य चाडपर्वमा पनि साट्न सक्ने व्यवस्था गरेको छ । गाईजात्रा, गौरा पर्व, तीज, उभौली, नयाँ वर्ष, छठ, जितिया पर्व, माघीजस्ता चाडमा पनि नयाँ नोट सटहीको सुविधा दिइँदै आएको छ । राष्ट्र बैंकले दशैंका लागिमात्रै १५ अर्बभन्दा नयाँ नोट साट्ने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस